काठमान्डौ, ११ साउन। चिकित्सा शिक्षा क्षेत्रमा अख्तियार जोडिएको विषय तथा काठमाडौं विश्वविद्यालयमा अख्तियारले गरेको हस्तक्षेपका विषयमा छानविन गर्न सुशासन तथा अनुगमन समितिले पाँच सदस्यीय उपसमिति गठन गरेको छ ।
आज बसेको उपसमितिको बैठकले अख्तियार र काठमाडौं विश्वविद्यालयको बयान बाझिएको भन्दै त्यस बारेमा छानबिन गर्न उपसमिति गठन गरेको हो । उपसमितिमा उदय नेपाली श्रेष्ठ, नरसिंह चौधरी, पदमलाल चौधरी, जनकराज जोशी र मिलनकुमारी राजवंशी रहेका छन् ।
विश्वविद्यालयका पदाधिकारी र अख्तियारका अधिकारीहरूले दिएको बयानलाई केलाएर प्रतिवेदन बुझाउन उपसमितिलाई १० दिनको समय दिइएको छ ।
विश्वविद्यालयको परीक्षामा हस्तक्षेप गरेको र चिकित्सा क्षेत्रका विकृतिमा अख्तियार जोडिएको विषयमा छलफल गर्दा छानविन गर्न आवश्यक देखिएकाले समिति गठन गरिएको सांसद अमनलाल मोदीले जानकारी दिनु भयो ।
मोदीले आयोगविरुद्ध आन्दोलन उठ्ने स्थिति बनेको भन्दै सचेत हुन आग्रह समेत गर्नुभएको छ । बैठकमा सांसदहरुले अख्तियारलाई विवादमा नमुछिदिन आग्रह पनि गरेका छन् ।