काठमाडौं, साउन १० ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने तयारी गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा नयाँ सरकार गठनका लागि संविधानको धारा ३ सय ५ अनुसार बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने तयारी गर्नु भएको हो ।
राष्ट्रपतिले बाधा अड्काउ फुकाउ आदेश जारी गरेपछि बस्ने संसदको पहिलो बैठकले आदेश अनुमोदन गर्ने व्यवस्था संविधानको धारा ३ सय ५ मा उल्लेख गरिएको छ । आदेशको अनुमोदनका लागि भने भोली बस्ने संसद बैठकबाट प्रक्रिया अघि बढाइने जनाइएको छ ।
उहाँले संविधानको धारा २ सय ९८ को उपधारा २ बमोजिम सहमतीय सरकार गठनका लागि आह्वान गर्ने तयारी पनि गर्नुभएको निकट स्रोतले जनाएको छ ।
बाधा अड्काउ फुकाउ आदेश जारी गरेपछि नयाँ सरकार गठन गर्न बाटो खुल्ने भएकाले राष्ट्रपतिबाट त्यस्तो आह्वान भए सँगै सभामुखले संसद नियमावली अनुसार प्रधानमन्त्री निर्वाचनको कार्यतालिका प्रकाशन गरी मिति र समय तोक्ने व्यवस्था छ ।
यसरी सहमतीय सरकारका लागि आजै आह्वान भएमा अबको १० दिनभित्र मुलुकले नयाँ सरकार पाउनेछ ।