काठमान्डौ,साउन९।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका विषयमा संसदले गर्ने निर्णय अनुसार नै अघि बढ्ने स्पष्ट पार्नु भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आज विहान शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो ।
नयाँ सरकार गठनका विषयमा संसदीय मान्यता विपरीत आफू कहिल्यै नजाने राष्टपति भण्डारीको भनाइ रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको बर्हिगमनसँगै नयाँ सरकार गठनबारे उत्पन्न हुने संवैधानिक प्रक्रियाबारे सर्वोच्च अदालतसँग राष्ट्रपतिले परामर्शको तयारी गरेपछि कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डले आज भेटेर संसदको निर्णयभन्दा बाहिर नजान आग्रहग गरेका हुन्।
कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएको छुट्टाछुट्टै भेटमा राष्ट्रपति भण्डारीले नयाँ सरकार गठन प्रक्रियाका विषयमा परामर्श लिनु भएको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भेटमा राष्ट्रपति भण्डारीले संसदको निर्णयअनुसार नै अघि बढ्ने बताउनु भएको थियो ।
भेटवार्ताका क्रममा देउवाले राष्ट्रपति भण्डारीलाई नयाँ सरकार गठनबारे विवादमा पर्ने काम नगर्न आग्रह गरेको उहाँका स्वकिय सचिव भानु देउवाले जानकारी दिनु भयो ।
सभापति देउवाले राष्ट्रपतिलाई नयाँ सरकार गठनका लागि सहजताको भूमिका खेल्न आग्रह पनि गरेको उहाँले बताउनु भयो ।
जवाफमा राष्ट्रपति भण्डारीले आफू संविधानअनुसार नै अघि बढ्ने र संसदको निर्णय आफूलाई स्वीकार्य हुने विश्वास दिलाउनु भएको थियो ।