काठमान्डौ ७ साउन ।
व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै छ । बैठक दिउसो २ बजे नयाँ बानेश्वर स्थित संसद भवनमा बोलाइएको छ । संसद बैठकमा प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव र बजेटसँग आश्रित विधेयकमध्ये पहिले कुनलाई अगाडि बढाउने भन्ने विषयमा दलहरु विच सहमति हुन सकेको छैन ।
बैठक बस्नु अघि सम्म पनि प्रमुख तीनदलहरु विच सहमति नभए पहिले नै निर्धारण गरिएको कार्यसूचिका आधारमा बैठक सञ्चालन गर्ने सभामुख ओनसरी घर्तीले बताउनु भएको छ ।
कार्यसुचिका विषयमा भएको विवाद समाधानका लागि प्रमुख दलका शीर्ष नेताले हिजो दिनभरी नै छलफल गरे पनि कुनै निष्कर्ष निस्कन नसकेपछि संसद्को बैठक सूचना टाँस गरेर सभामुखले स्थगित गरिएको थियो ।
यसै विच संसदको कार्यसुचिको विषयमा देखिएको विवाद समाधानका लागि प्रमुख दलहरुबीच आज पनि छलफल हुदैछ । त्यसका लागि मध्यान्न १२ बजे सभामुख सहित कांग्रेस एमाले र नेकपा माओवादी केन्द्रका शिर्षस्त नेताहरुको बैठक बोलाइएको छ ।
अविश्वासको प्रस्ताव र बजेटसँग आश्रित विधेयकमध्ये पहिले कुनलाई अगाडि बढाउने भन्ने विषयमा दलहरुबीच विवाद देखिएपछि सहमतिको पहल स्वरुप आज पुनः छलफल हुन लागेको हो । दलहरुबीच संसद बैठक अघि प्याकेजमै सहमति जुटाउने प्रयास भइरहेको नेताहरुले बताएका छन् ।