काठमाण्डौ, ६ साउन ।
व्यवस्थापिका संसद बैठक भोली शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । कार्यसूचिको विषयमा दलहरुबिचको अडान कायमै रहेपछि सहमतिको लागि भन्दै बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो ।
यसअघि संसद बैठकको कार्यसूची तय गर्ने विषयमा सभामुख ओनसरी घर्ती मगरले प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्नुभएको थियो ।
सभामुख घर्तिको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा सहमति जुट्न नसकेपछि फेरि बसेको बैठकमा पनि सहमति जुटेन ।
पहिले बजेटका आश्रित विधेयकमाथि छलफल गर्ने कि अविश्वासको प्रस्तावमाथि भन्ने विषयमा दलहरु आआफ्नै अडानमा छन् ।
पहिले विधेयक पारीत गर्नु पर्ने भन्द सत्तारुढ एमालेले यदि त्यसो नभए संसद चल्न नदिने निर्णय गरेको छ भने काग्रेस माओवादी गठबन्धनले भने पहिले अविस्वासको प्रस्तावमाथि छलफल हुनु पर्ने अडान कायम राख्दै आएका छन् ।
गत असार २९ गते नै कार्यसुचीमा प्रवेश गरिसकेको आश्रीत विधेयकलाई झिकेर आज बस्ने संसद बैठकमा अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसुची राखिएको थियो ।
नेपाली कांग्रेसको आज बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित भएपछि मात्र बजेट प्रस्तावमा छलफल गर्ने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको थियो ।