काठमान्डौ,४ साउन।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय मान्यताअनुसार बैठक सञ्चालन गर्न सभामुख ओनसरी घर्तीलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज विहान भएको भेटमा उहाँले संसदीय मान्यता अनुसार बजेटसँग सम्बन्धित सम्पूर्ण विधेयक पारित गर्न सभामुखलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
बजेटसँग सम्बन्धित विधेयक पारितको प्रमुख एजेण्डा भएपनि गत शुक्रवारका लागि बोलाएको संसद बैठक सूचना टासेर पर्सि बिहीवारसम्मका लागि लागि भएको थियो ।
सभामुख घर्तीले बजेटसँग सम्बन्धित विधेयक पारितको प्रमुख एजेण्डा हुदा पनि सरकारसँग छलफल नै नगरीे संसद बैठक स्थगित गरेको एमालेले आरोप लगाएपछि प्रधानमन्त्री ओलीले संसदीय अभ्यास भन्दा बाहिर नजान सभामुख घर्तीको ध्यानाकर्षण गराउनुभएको हो ।
भेटमा सभामुख घर्तीले दलहरुबीच सहमति हुन नसके पूर्वनिर्धारित कार्यतालिका अनुसार अगाडि बढ्नुको बिकल्प नभएको जवाफ दिनुभएको थियो । दलीय सहमतिका लागि आवश्यक पहल गर्न सभामुखले प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।
सहमति जुटे पूर्वनिर्धारित कार्यतालिका परिवर्तन गर्न आफु तयार रहेको घर्तीको भनाई थियो । कुनै दललाई पन्छाएर अगाडि बढ्ने मनसाय आफ्नो नहरेको बताउदै उहाँले त्यसका लागि सहमति मुख्य बिषय भएको बताउनुभएको थियो ।
घर्तीले अन्य दलका शीर्ष नेताहरुसँग समेत छलफल गरेर बैठक बस्नु अघि आवश्यक निर्णय लिने बताउनुभएको शर्माले जानकारी दिनुभयो । संसद सचिवालयले पर्सि बिहीवारबाट तीन दिन सरकारबिरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूचि तय गरिसकेको छ ।