काठमाडौ ३ साउन ।
आज साउन महिनाको पहिलो सोमबार । आजबाट पवित्र साउन महिनाको व्रत सुरु भएको छ । हिन्दु नारीहरुले पारिवरिक सुख, श्रीमानको दिर्गायु तथा सुख शान्तिको कामना गर्दै साउन महिनाभरि प्रत्येक सोमबार व्रत बस्ने चलन छ ।
आज बिहानदेखि काठमाडौको पशुपतिनाथ लगायत ललितपुरको सन्तानेश्वर भक्तपुरको डोलेश्वरका साथै देशभरका शिवालयहरुमा आफ्नो सौभाग्य र असल पतिको कामना गर्दै दर्शन तथा जल चढाउनेहरुको भिड लागेको छ ।
साउन महिनाभरि बिवाहित नारीले आफ्नो पतिको लामो आयुको कामना गर्दै व्रत बस्ने गर्दछन् भने अबिवाहित नारीले पनि असल पति पाउन भन्ने कामनाका साथ व्रत बस्ने परम्परा छ ।
धार्मिक मान्यता अनुसार साउन महिना भगवान् शिवलाई मनपर्ने महिना र सोमबार मनपर्ने दिन भएको मानिन्छ । साउनभरि हरियो, पहेंलो, रातो रंगका पहिरन, चुरा, पोते, मेहन्दी आदि लगाई र्सोह शृंगारमा सजिएर उपासना गर्ने गर्दछन् ।
तराई जिल्लाहरुमा पनि साउन महिनाको पूर्णिमा आसपासको १५ दिन मधु श्रावणीका रूपमा महिलाहरूले मन्दिरमा गएर, चोखो फूल चढाएर व्रत बस्ने चलन छ ।