काठमाण्डौं २ साउन ।
सर्लाहीका सुकुम्बासीमाथि दमन गरिएको भन्दै विभिन्न चरणको आन्दोलन घोषणा गरेको विप्लव नेतृत्वको नकेपा माओवादीले आज उपत्यका सहित देशभर दुई घण्टा चक्काजाम गरेको छ ।
सरकारले सर्लाहीको सागरनाथ सुकुम्वासी बस्तीमाथि दमन गरि घर चौपाय र सवारी साधनमाथि आक्रमण गरी क्षति पुर्याएको बिरोधमा विप्लब माओवादी उपत्यका सहित देशभर आज बिहान नौ देखि एघार बजेसम्म चक्का जाम गरेको हो ।
चक्का जाम कार्यक्रम सफल पार्न सडक उत्रिएका दर्जनौ माओवादीका नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
उपत्यकाबाट ४३, चितवनबाट ७ जना र रुपन्देहीको वुटवलबाट २० जना , सुर्खेतमा ९ ,तनहुमा चार जना कार्यकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा राधानीको कलंकीबाट क्रान्तीकारी ट्रेडयुनियन महासंघका अध्यक्ष योगेन्द्र कुमाल सहित ८ जना रहेका छन् ।
यस्तै रत्नपार्कबाट जन गणतान्त्रिक सम्पर्क मन्चका अध्यक्ष राजु कार्की, कोषाध्यक्ष रत्न मगर, केन्द्रिय सदस्य हिरा शाही सहित ११ जना पक्राउ परेका छन् ।
बालाजुबाट अनिल खड्का, राजमान तामाङ, सुर्य पौडेल, गोपाल परियार, केदार थापा, आकाश भेटवाल, रबिन गुरुङ लगायतका ९ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।
चक्काजाम गर्ने खोज्ने क्रममा केही कार्यकर्ताले शहरी विकास कार्यालयको बसमा तोडफोड समेत गरेका छन् ।
यसैबीच , गिरफ्तार नेता कार्यकर्तालाई बिनासर्त तुरुन्त रिहा गर्न प्रवक्ता प्रकाण्डले माग गर्नुभएको छ । पार्टीको पूर्वघोषित कार्यक्रमका सिलसिलामा सरकारले दमनको नीति अपनाएर संघर्षलाई झनै पेचिलो बनाउने काम गरेको प्रवक्ता प्रकाण्डले बताउनु भयो ।
सरकारले असार २१ गते सागरनाथ, सुकेपोखरीलगायत स्थानमा अढाई दशकदेखि बसोबास गर्दै आइरहेका सुकुम्वासीमा सयौंको संख्या सुरक्षा फौज परिचालन गरी पक्न लागेको धान, मर्क, उखु बाली ट्याक्टर लगाएर नष्ट गर्नुृका साथै सुकुम्वासीहरुमाथि अन्धधुन्दा गोली प्रहार गरी दर्जनौंलाई घाइते पारिएको थियो ।
घोषित आन्दोलनका कार्यक्रम अन्तरगत माओवादीले आगामी साउन १० गते नेपाल बन्दको अह्वान गरेको छ । यस्तै भोली अन्तरक्रिया, ५ गते जनप्रदर्शन, मानव अधिकारकर्मीहरुको परिचालन लगायतका कार्यक्रम रहेका छन् ।