काठमाडौ ,३१ असार ।
नेकपा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव पास नभएसम्म बजेटसँग सम्बन्धित पुरक विधेयकहरु पास हुन नदिने निर्णय गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा बसेको हेडक्वाटरको बैठकले यस्तो निर्णय हो ।
प्रधानमन्त्री केपी ओलीको सरकार अल्पमतमा परिसकेको र अविश्वासको प्रस्ताव पनि संसदमा पेश भइसकेको सन्दर्भमा अविश्वासको प्रस्ताव पास नभएसम्म कुनैपनि विधेयक पारित गर्न नदिने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनु भयो ।
बैठकमा सदनबारे पनि छलफल भएको उहाँले बताउनु भयो ।
यसैबीच अध्यक्ष दाहालले आज सरकारका उपप्रधानमन्त्री समेत रहेका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गर्नुभएको छ ।
दाहाल निवासमा झण्डै ४५ मिनेट भएको भेटमा आफु नेतृत्वमा अब बन्ने सरकारमा सहभागी हुँदै अविश्वासको प्रस्तावमाथि समर्थन गर्न दाहालले आग्रह गर्नुभएको स्रोतको भनाई छ ।
सत्तारुढ दलहरुको बैठकमा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम समयसम्म साथ दिने बताएका गच्छदारले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग पछिल्लो तीन दिन दुई पटक छलफल गरिसक्नु भएको छ ।