काठमान्र्डौ , २८ असार ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्र आजैदेखि सरकारबाट बाहिरिएको छ ।
राजधानीमा आज पत्रकार सम्मेलन गरी माओवादी केन्द्रले सरकारबाट बाहिरिने औपचारिक घोषणा गरेको हो । माओवादी केन्द्रले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह पनि गरेको छ ।
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेपाली कांग्रेसले पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन लिखित प्रतिबद्धता जनाइसकेको दाबी गनुृभयो । उहाँले पहिलो चरणमा केही समयका लागि दाहाल प्रधानमन्त्री बन्ने बताउनुभयो ।
आन्दोलनरत् मधेसी दललाईसमेत सरकारमा सामेल गरेर सहमति खोज्ने गरी माओवादी केन्द्र र नेपाली कांग्रेसबीच छलफल भइरहेको बुझिएको छ ।
माओवादी केन्द्रले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीलाई सरकारबाट समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराएको छ । केन्द्रले सरकारबाट बाहिरिने निर्णयको पत्र राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई बुझाएको हो ।
माओवादी केन्द्रले प्रधानमन्त्रीलाई बुझाएको पत्रमा ९ बुँदे सहमति र तीन बुँदे भद्रसहमति कार्यान्वयन नभएकोले राजनीतिकरुपमा सरकारमा बसिरहन नमिल्ने भन्दै समर्थन फिर्ता लिएको उल्लेख छ ।
यसैविच माओवादी केन्द्रको निर्णयपछि के गर्ने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री ओलीले आन्तरिक छलफल शुरु गर्नुभएको छ ।
एमालेले आजै बेलुका ६ बजे स्थायी समितिको आकस्मिक बैठक बोलाएको छ । बैठकमा यहि गठबन्धनलाई कायम राख्नेबारे छलफल हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराइले जानकारी दिनुभयो ।
गठबन्धनलाई निरन्तरता दिने शर्तमा भावि प्रधानमन्त्रीमा माओवादी केन्द्रलाई समर्थन गर्न सकिनेबारे समेत एमाले लचिलो बन्ने भट्टराइको भनाई छ ।
प्रधानमत्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भन्नुभयो, ‘उहाँलाई संसदले प्रधानमन्त्री निर्वाचित गरेको हो । संसदले नै हटाउन सक्छ । प्रधानमन्त्रीले राजीनामा नदिने दाहालले बताउनुभयो ।