२८ असार, काठमाडौं ।
वर्तमान सरकार परिवर्तनको चर्चासँगै आज सेयर बजारमा सामान्य गिरावट देखिएको छ ।
नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकार छाड्ने निर्णय लगत्तै ५४ अंकसम्म घटेको सेयर बजार सूचक (नेप्से) बन्द हुने समयमा भने सम्हालिएर उकालो लाग्यो । आज सेयर बजारमा ९ अंकको मात्रै गिरावट आयो ।
दिउँसो बढेर १७ ०८ सम्म पुगेको सेयरबजार ओरालो लागेर १६५४ सम्म झरेको थियो । तर, अन्तिम समयमा कारोबारमा सुधार हुँदै बन्द हुने समयमा १७०३ मा पुगेको थियो ।
अन्तमा सेयर बजारमा फेरि सामान्य गिरावट आउँदा १६९३ अंकमा झरेर बजार बन्द भयो । कारोबार सुरु हुँदा नेप्से सूचक १७०२ थियो ।
१६ लाख ३९ हजार कित्ता सेयर कारोबार भएकोमा आज बैंकिङ, फाइनान्स, होटल, जलविद्युत, विकास बैंक र बीमा समूहको परिसूचक समान्य ऋणात्मक रहे भने उत्पादनमूलक र टेलिकम सूचीकृत अन्य समूह हरियो रह्यो ।
दिनभरमा १ अर्ब १३ करोड रुपैयाँको सेयर किनबेच भयो । जनता बैंक, एभरेष्ट बैंक र नेपाल लाइफ कारोबारका आधारमा अघि रहेका छन् ।