काठमाडौं , २६ असार ।
सरकारी स्वामित्वको नेपाल आयल निगमले आज अर्थमन्त्रालयलाई अन्तिम किस्ता बापत १ अर्ब ४१ करोड रुपैयाँ ऋण तिरेको छ ।
अर्थमन्त्रालयलाई आज ८० करोड ऋण र ६१ करोड व्याज बुझाएसँगै निगम १४ बर्षपछि पहिलोपटक ऋण मुक्त भएको छ ।
निगमले ऋण र ब्याज गरेर आज अन्तिम किस्ता वापत अर्थमन्त्रालयलाई १ अर्ब ४१ करोड रुपैयाँ बुझाएको प्रबक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।
२०७१ सालदेखि निरन्तर नाफामा रहेको निगमले अहिले सम्मको सरकारका विभिन्न निकायबाट लिएको कर्जा तिर्न सफल भएको हो ।
सरकारसंग पटक पटक ऋण लिदै आएको निगम, अन्तर्रा्ष्ट्रिय बजारमा इन्धनको मुल्य घट्दै गएपछि क्रमश नाफामा गएको थियो ।
कुल ३६ अर्ब ८७ करोड ऋणमा रहेको निगमले २०७१ साल माघदेखि ऋण तिर्न शुरु गरेको थियो । चरम राजनीतिक हस्तक्षेपका कारण २०५८ साल देखि निगम इन्धन आपूर्तिका क्रममा घाटामा गएको थियो ।
व्यवथापकीय कमजोरीका कारण हुने चुहावट र राजनीतिक दवावका कारण बिगतमा महङ्गोमा आयात गरि सस्तोमा बिक्रि गर्नुपर्ने बाध्यताका कारण निगमले बिगतमा ठुलो नोक्सानी व्यहोरेको थियो ।
नाफामा गएसंगै आयल निगमले आगामी आर्थिक वर्षदेखि विभिन्न सुधारात्मक अभियान समेत शुरु गर्ने जनाएको छ । पेट्रोलियम पाईपलाईन निर्माणका लागि नेपाली पक्षले गर्नुपर्ने कामको थालनी आगामी आर्थिक वर्षबाट सुरु गर्नुका साथै आन्तरिक सुधार अभियान पनि शुरु गर्ने प्रवक्ता घिमिरेले जानकरी दिनुभयो ।