काठमाडौ ,२४ असार ।
पछिल्लो तीन महिनामा वर्षासँगै आएको बाढी पहिरोमा परी मुलुकभर ४७ जनाको मृत्यु भएको सरकारले जनाएको छ ।
व्यवस्थापिका संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री शक्ति बस्नेतले जेठ १ देखि असार २३ गतेसम्म भएका बाढी पहिरोका ११२ घटना भएको जानकारी दिनुभयो ।
उहाका अनुसार बाढी पहिरोका कारण अझै १६ जना हराइरहेका छन् भने ५७ जना घाइते भएका छन् । यस्तै १ सय ३८ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने १ सय ६० घरमा आंशिक क्षति भएको छ ।
भोटेकोशीमा आएको बाढीले ठूलो क्षति भएपनि सुरक्षाकर्मीले समयमै सचेतता अपनाएका कारण मानवीय क्षति नभएको मन्त्री बस्नेतले उल्लेख गर्नुभएको छ ।
उहाँका अनुसार तीन महिनाको अवधिमा चट्याङ लागेर देशभर ६२ जनाको ज्यान गएको छ । यस्तै चट्याङले तीन घर पूर्ण रुपमा र ७ घर आंशिक रुपमा क्षति भएका छन् ।
गृहमन्त्री बस्नेतले प्राकृतिक प्रकोपको घटनामा सरकारले उद्धार र राहतको काम तदारुकताका साथ गरिरहेको पनि बताउनुभयो ।