काठमाडौं, २३ असार ।
निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त अयोधिप्रसाद यादवको संसदीय सुनुवाइ भोली हुने भएको छ । संसदीय सुनुवाइ विशेष समितिको आज बसेको बैठकले प्रस्तावित आयुक्तको बिरुद्धमा परेका उजुरीको सुनुवाइ भोली गर्ने निर्णय गरेको समितिका सदस्य भानुभक्त ढकालले जानकारी दिनुभयो ।
कार्यवाहक प्रमुख आयुक्तसमेत रहनुभएका यादवविरुद्ध २ वटा उजुरी परेको छ । उजुरीमा पुनःनियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा दायर रिट निवेदनको टुंग्यो नलागेसम्म सुनुवाइ गर्न नहुने भनिएको छ ।
त्यस्तै, कार्यवाहक प्रधानन्यायाधीश सुशीला कार्कीको सुनुवाई भने असार २६ गते आईतवार गर्ने निर्णय गरेको छ । कार्की विरुद्ध उजुरीकर्तालाई आफ्नो दाबी पुष्टि गर्न बोलाउने र आइतबार नै अर्को बैठक बसेर सुनुवाई प्रक्रियाअघि बढाउने निर्णय भएको ढकालले बताउनु भयो
कार्की विरुद्ध नाता कायम गराउन माग गर्दै दायर मुद्दामा डिएनए परीक्षणलाई मान्यता नदिएको, राष्ट्रिय मानवअधिकार आयोगका नाममा अन्तरिम आदेश जारी नगर्दा एक कर्मचारीे सेवाबाट निष्कासन हुनुपरेको, न्यायपालिकामा राजनीतिकरण गरेको, कानुन विपरीत आफ्ना नातेदारको मुद्दा किनारा लगाएको, फैसलामा फरक–फरक मापदण्ड अपनाएको, मुद्दाको अध्ययन नै नगरी फैसला गरेको जस्ता १० वटा उजुरी परेको छ ।
प्रधानन्यायधिस कार्की र निर्वाचन आयोगका प्रमुख आयुत्त यादवको सुनुवाई सकिएपछि अन्यको प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
सुनुवाई समितिले सर्वोच्व अदालतमा न्यायपरिषद्ले सिफारिस गरेका ११ न्यायधिसर र मन्त्रिपरिषद्ले सिफारिस गरेका २१ राजदुतको पनि सुनुवाई गर्ने छ ।