काठमान्डौ, २२ असार ।
नेकपा माओवादी केन्द्रले भिषा प्रकरणका सम्बन्धमा छनबिन गर्न तीन सदस्यीय छानबिन कमिटि गठन गरेको छ ।
पार्टी केन्द्रिय कार्यलय कोटेश्वरमा बसेको पोलिट्ब्युरो बैठकले माओवादीका ८ सांसदलाई मानव तस्करी र सरकारी कागजपत्र किर्ते गरेको आरोपमा अनुसन्धानमा राखिएपछि सो बिषयमा छनविन गर्न समिति गठन गरेको हो ।
छानविन कमिटिलाई ७ दिनभित्र छानबिन सम्बन्धी प्रतिवेदन बुझाउन निर्देशन समेत दिएको छ । अमिक शेरचनको संयोजकत्वमा गठित समितिमा शेरचन, कृष्णबहादुर महरा र प्रवक्ता पम्फा भुसाल सदस्य छन् ।
बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डले माओवादी सांसदहरु विवादमा तानिएको र मिडियामा आएको समाचारबारे जानकारी गराउनु भयो ।
मानव तस्करी र सरकारी कागजपत्र किर्ते गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले माओवादीका आठ सांसदहरुलाई अनुसन्धानको दायरामा ल्याएको छ । सांसदहरु राममाया बोगटी, गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना खत्री, सन्तकुमार थारु, रुपा महर्जन, दिलमाया धामी र धना पहरीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।
स्पेनका लागि भिसा आवेदन गर्दा परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस पत्र किर्ते गरी नक्कली पिए बनाएको आरोप उनीहरुमाथि लागेको छ ।
यस्तै आजको बैठकमा आज पनि संगठनात्मक र निर्वाचन विधिबारे छलफल जारि रह्यो । कार्यदलद्धारा प्रस्तुत संगठनात्मक र निर्वाचन विधिबारेको रिपोर्टमाथि आज २२ जना सदस्यहरुले धारणा राखेका छन् ।
माओवादी केन्द्रको पोलिट्ब्यरो बैठक भोली बिहान ११ बजे पुन बस्ने छ ।