काठमाण्डौ , २१ असार ।
प्यूठान र गोरखामा गएको पहिरोमा पुरिएर एघार जनाको मृत्यु भएको छ ।
अविरल वर्षाका कारण प्यूठानको रजवारा गाविसमा गएको पहिरोमा परिएर एकै परिवारका ५ सहित ८ जनाको जनाको मृत्यु भएको हो ।
रजवारा ३ का ४५ वर्षिय दुर्गाबहादुर मल्लको घर पहिरोले पुर्दा मल्ल सहित उनकी ४० वर्षिया श्रीमती सिता, १० वर्षीया छोरी सुशीला, ७ वर्षिया लेखा र डेढ वर्षिया सृजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनका बाँकी तीन जना छोरा छोरी भने छिमेकीको घरमा बस्न गएकाले सकुशल रहेको बताइएको छ । त्यस्तै पूँजा गाविस वडा नं. ३ बाग्लीवाङ्गमा हुमबहादुर सुनार र उनको श्रीमती सहित ७ वषिर्य छोरीको मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ ।
यस्तै , गोरखाको केरौंजा–३ फलिङपुमा पहिरोले पुरिएको बाटो बनाउने क्रममा झरेको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । अन्य तीन घाईते भएका छन् ।
मृत्यु हुनेमा केरौंजा–४ का १५ वर्षका सन्देश घले सोहि स्थानका ३० वर्षिया चीनमाया गुरुङ र ४५ वर्षकी कान्छीमाया गुरुङ रहेका छन् ।
बिहान ११ बजेतिर झरेको पहिरोले पुरिएर मृत्यु भएका तीनै जनाको शव निकालिएको प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताउनुभयो ।
घाईते तीन जनाको उद्धार गरि स्थानिय माछाखोलास्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाईते हरुमा केरौंजा–४ का ४० वर्षका पुङगे गुरुङ, ४० वर्षकै उकाल गुरुङ र १२ वर्षका सुकराम घले रहेका छन् । घाइते मध्ये सुकरामको अवस्था चिन्ताजनक रहेको बताईएको छ ।
गएको वर्षको भूकम्पपछि गोरखाको यो गाविस पहिरोको उच्च जोखिममा छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले समेत बस्ती स्थानान्तरणको सिफारिस गरेपनि उनीहरुलाई सुरक्षित ठाउँमा सार्न नसकिएको बताईएको छ । केही दिन अघिपनि केरौंजाको मुख्य बस्तीमा पहिरो खसेको थियो ।
गाउँको ठाउँ ठाउँमा पहिरोको जोखिम बढेपछि स्थानीय बासिन्दा गाउँमाथिको जंगलमा टहरो बनाएर बसेका उहाँको भनाई छ ।