काठमाण्डौ , २१ असार ।
स्थानीय निकायको सीमा निर्धारणका लागि गठित आयोगका अध्यक्ष बालानन्द पौडेलले सिमा निर्धाणको कार्य चाँडो सक्न दवाब दिए सबै पदाधिकारीले राजीनामा दिने चेतावनी दिनुभएको छ ।
व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै पौडेलले आयोगको म्याद फागुन मसान्तसम्म रहेकाले आयोगले त्यहि अनुसार कार्ययोजना बनाएर काम गरिरहेको भन्दै दबाव नदिन आग्रह गर्नुभयो ।
सरकारले निर्वाचनको घोषणा गर्नुभन्दा पहिले नै आयोगले आफ्नो कार्ययोजना बनाएर काम सुरु गरेको भन्दै उहाले सरकारले भने अनुसार साउन मसान्तसम्म प्रतिवेदन तयार गर्ने अवस्था नरहेको स्पष्ठ पार्नुभयो ।
गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोग टेबलमा बसेर गर्ने पक्षमा आफुहरु नरहेको भन्दै उहाले सबै सरोकारवालासँग परामर्श गरेर काम गर्न समय लाग्ने बताउनु भयो ।
पौडेलले आयोगले बिभिन्न ८ वटा समूह गठन गरेर एक चरणमा काम गरिसकेको तर त्यसक्रममा कतिपय विषयमा विरोधाभास देखिएकाले आयोगको समय थप गर्न माग गर्नुभयो ।
बैठकमा समितिका सदस्यहरुले स्थानीय जनताको सेवासुविधालाई पहिलो प्राथमिकता दिएर स्थानीय तहको संख्या निर्धारण गर्न आयोगका पदाधिकारीलाई सुझाव दिएका थिए ।