काठमाण्डौ, २० असार । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलकको आर्थिक समृद्धिको आधार कृषि भएकाले यस क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव दिएका छन् ।
युवा कृषि उद्यम सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले कृषि क्रान्तिबिना मुलकको समृद्धि सम्भव नहुने भएकाले कृषिमा लगानी बढाउनुपर्ने बताएका हुन् ।
उनले युवामैत्री कृषि नीति ल्याउन सुझाव दिँदै कृषिमा युवा आकर्षण बढाउने योजनाको खाँचो रहेको औंल्याए । परम्परागत् कृषि प्रणालीको अन्त्य भइसकेकाले सरकारले प्रविधियुक्त कृषि प्रणालीमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
उपराष्ट्रपति पुनले धेरै युवा कामको खोजीमा विदेशिन बाध्य भएको भन्दै कृषिलाई आधुनिकीकरण, वैज्ञानिकीकरण गरी कृषिलाई आत्मनिर्भर बनाउन सुझाव दिए ।
कार्यक्रममा कृषि विकासमन्त्री हरिबोल गजुरेलले कृषिमा युवाको आकर्षण बढाउन सरकारले युवामैत्री कृषि नीति ल्याउने तयारी भइरहेको जानकारी दिए । देशभरका युवा कृषक सहभागी सम्मेलन दुई दिनसम्म चल्नेछ ।