काठमाणडौ, १९ असार ।
संविधानको पूर्ण कार्यान्वयनका लागि साझा सहमति निर्माण गर्न सांसदहरुले शीर्ष नेताको ध्यानाकर्षण गराएका छन् ।
व्यवस्थापिका संसदको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी नेपाली कंग्रेस तथा सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदले संविधान निर्माणका बेला जस्तै दलहरुले साझा सहमति कायम गरी अघि बढ्नुपर्ने बताएका हुन ।
सहमति जुटाउन ढिलाई गरे संविधानको पूर्ण कार्यान्वयन असम्भव रहेको उनीहरुको भनाई छ । बैठकमा बोल्दै कंग्रेस सांसद तेजुलाल चौधरीले असन्तुष्ट मधेश केन्द्रित दलको माग सम्बोधन नभए सरकारले घोषणा गरेको संविधान कार्यान्वयन कार्ययोजना सफल नहुने बताउनुभयो ।
सीमान्तकृत समुदायले आफ्नो एजेण्डा सम्बोधनका लागि संघर्ष जारी राख्दा सरकार उदासीन हुन नहुने उहाँको भनाई थियो ।
यस्तै नेकपा माओवादी केन्द्रकी सांसद निशाकुमारी शाहले संविधान कार्यान्वयनका लागि सरकारले घोषणा गरेको निर्वाचन सफल पार्न समेत असन्तुष्टहरुको माग सम्बोधन गर्नैपर्ने धारणा राख्नुभयो ।
त्यस्तै बैठकमा दीलशोभा पुन, प्रेम सुवाल, दीर्घलाल चौधरी लगायत सांसदले प्राकृतिक प्रकोपको क्षतिबारे जानकारी गराउँदै राहत तथा उद्दारमा तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै यसअघि बिहान ११ बजे बसेको संसद बैठक पूर्वसांसद मंगलसिद्धी मानन्धरको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक आधा घन्टाका लागि स्थगित भएको थियो । मानन्धरको हिजै अन्त्यष्टि गरिएको थियो ।
संसदको बैठकमा केही दिनदेखि विनियोजन विधेयकमाथि छलफल जारी छ । संसद्मा आज विभिन्न ९ वटा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका लागि आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेटमाथि एकीकृतरुपमा छलफल सुरु भएको हो ।
विनियोजन विधेयकमाथिको छलफल असार २१ गते सम्म जारी रहने छ । सबै मन्त्रालयगत छलफल सकिएपछि २२ गते अर्थमन्त्रीले सदनमा जवाफ दिने कार्यसुची रहेको छ ।