काठमाडौ १५ असार ।
भूकम्प पिडितलाई दुई किस्तामा दुई लाख रुपैयाँ दिने विषयमा सत्तारुढ र प्रतिपक्षी दल कांग्रेसबीच सहमति भएको छ ।
हिजो र आज शिर्ष तह र कार्यदलस्तरमा चरणवद्ध रुपमा भएको छलफलपछि दलहरुबीच भूकम्प पिडितलाई पहिलो किस्तामा साढे एक लाख र दोस्रो किस्तामा ५० हजार दिने सहमति जुटेको हो ।
भूकम्प गएको १४ महिना बितिसक्दा पनि पिडितले राहत नपाएको भन्दै कांग्रेसले गत बिहिबारदेखि संसद बैठक अवरोध गर्दै आएको थियो ।
दलहरुबीच सहमति भए लगत्तै आजै दिउँसो २ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने भएको छ । सहमति सँगै संसदमा जारी अवरोध समेत अन्त्य भएको छ ।
प्रधानमन्त्रीको सम्बोधनमा एकमुष्ठ दुई लाख दिने विषय नसमेटिएको कांग्रेसले प्रधानमन्त्रीलाई समेत सम्बोधन गर्न नदिइ संसद बैठक अवरुद्ध गर्दै आएको थियो ।
यसअघि बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक सत्तारुढ र प्रतिपक्षी दलबीच सहमति जुट्न नसकेको भन्दै दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो ।