काठमाडौ १५ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यविधिमा परिवर्तन गरी भूकम्प पिडितलाई अनुदान रकम थप गरेर दिन तयार रहेको बताउनु भएको छ ।
व्यवस्थापिका संसदमा आज सम्बोधन गर्नुहुदै उहाँले यसअघि घोषणा गरिएको पहिलो किस्ताको अनुदान रकम ५० हजारमा थपेर साढे एक लाख दिन तयार रहेको बताउनु भयो ।
सरकार छिटो भन्दा छिटो भूकम्प पिडितलाई अवास निर्माणका लागि अनुदान वितरण गर्ने तयारीमा रहेको भन्दै उहाँले पिडितलाई दिइने रकम दुरुपायोग हुन नदिन तर्फ पनि सरकार सचेत रहेको उहाँले बताउनु भयो ।
उहाँले अनुदान वितरणलाई सहज र सरल बनाइने प्रतिवद्धता समेत जनाउनु भएको छ । यस्तै आफ्गानिस्तानको काबुल आक्रमणमा मारिएका नेपालीको शव सरकारकै पहल र खर्चमा ल्याइएको भन्दै उहाँले रोजगार दाता कम्पनीले पैसा दिएर ल्याएको भन्ने भनाई गलत रहेको बताउनु भयो ।
१३ नेपालीको ज्यान जाने गरी भएको काबुल घटनाको निन्दा र विरोध गर्दै उहाले काबुल घटनामा घाइते भएकाहरुको उपचार खर्च पनि सरकार आफैंले व्यहोेर्ने प्राष्ट पार्नु भयो ।
पटक पटकको छलफलपछि भूकम्प पिडितलाई दुई किस्तामा दुई लाख रुपैयाँ दिने विषयमा सत्तारुढ र प्रतिपक्षी दल कांग्रेसबीच सहमति भएपछि गत बिहिबार देखि लगातार अवरुद्ध संसद बैठक आजदेखि सुचारु भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्प पीडितलाई आवास निर्माण गर्न एकमुष्ट रुपमा दुई लाख रुपैयाँ र दुई प्रतिशत ब्याजदरमा १५ र २५ लाख रुपैया दिनुपर्ने माग गर्दै संसद बैठक अवरुद्ध पार्दै आएको थियो ।
हिजो र आज शिर्ष तह र कार्यदलस्तरमा चरणवद्ध रुपमा भएको छलफलपछि दलहरुबीच भूकम्प पिडितलाई पहिलो किस्तामा साढे एक लाख र दोस्रो किस्तामा ५० हजार दिने सहमति जुटेको हो ।
यसअघि बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक सत्तारुढ र प्रतिपक्षी दलबीच सहमति जुटाउने विषयमा पहल भइरहेको भन्दै सभामुख ओनसरी घर्तीले दिउँसो २ बजेका लागि सार्नु भएको थियो ।