१४ असार, काठमाडौं ।
व्यवस्थापिका संसदको अवरोध हटाउनेबारे सहमति जुटाउन विहान बसेको प्रमुख चारदलको कार्यदल बैठक निष्कर्ष विहीन बनेको छ ।
आज बिहान सिंहदरबारमा बसेको कार्यदलको बैठकमा दलहरुले आ–आफ्नै अडान दोर्होयाएपछि सहमति जुट्न नसकेको हो । अब यसबारे पनि दिउँसो शीर्ष तहमै छलफल हुने भएको छ ।
सरकारले भूकम्प पीडितलाई दिने भनिएको दुई लाख रुपैयाँ एकमुष्ठ रुपमा दिनुपर्ने कांग्रेसको माग छ भने सरकारको नेतृत्वकर्ता दल एमालेले किस्तामा मात्रै रकम दिन सकिने बताउदै आएको छ ।
कार्यदलको बैठकले अपरान्न साढे तीन बजेका बोलाएको संसद बैठक साढे ५ बजेका लागि सार्ने निर्णय गरेको छ । त्यसअघि सदन खुलाउने विषयमा प्रमुख दलका शिर्ष नेतृत्व तहमा छलफल गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।
भूकम्प पिडितलाई दिने भनिएको दुईलाख एकमुष्ठ दिनुपर्ने माग गर्दै कांग्रेसले सदन अवरुद्ध पारेपछि सहमति खोज्न हिजो कार्यदल बनेको थियो ।
भूकम्पपीडितका लागि एकमुष्ट २ लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने माग गर्दै प्रतिपक्षी दलले गत बिहीवारबाट लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।