काठमाडौ १४ असार ।
प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण पटक पटक स्थगित हुदा एजेन्डमा प्रवेश गर्न नसकेको व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ ।
बैठक अपरान्न तीन बजेका लागि बोलाइएको छ । यसअघि हिजो पनि प्रतिपक्षी कांग्रेसको अवरोधका कारण बैठक एजेन्डमा प्रवेश गर्न नसकेपछि सुचना टाँस गरेर आज अपरान्न सम्मका लागि स्थगित गरिएको हो ।
भूकम्पपीडितका लागि एकमुष्ट २ लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने माग गर्दै प्रतिपक्षी दलले गत बिहीवारबाट लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ । आजको बैठकमा पनि विभिन्न सात ओटा मन्त्रालयका लागि विनियोजित रकमबारे छलफल गर्ने कार्यसुची छ ।
यसैबीच संसदमा देखिएको अवरोध हटाउने विषयमा छलपल गर्न प्रमुख चार दलले गठन गरेको कार्यदलको बैठक अहिले केहीबेरमा बस्दैछ ।
सिंहदरबारमा बस्ने बैठकले आजै अपरान्नसम्ममा संसदमा गतिरोध अन्त्यका लागि पहल गर्ने नेताहरुले बताएका छन् । प्रतिपक्षी कांग्रेसले लगातार सदन अवरोध गर्न थालेपछि प्रमुख चार दलले सात सदस्यीय कार्यदल गठन गर्दै निकासको पहल थालेका हुन् ।
आजको संसद बैठक अघि नै कार्यदलले सहमतिको खाका तयार पारी अनुमोदनका लागि शिर्ष तहमा प्रस्तुत गर्ने तयारी गरेको छ ।
वास्तविक भूकम्पपिडितले राहत नपाएको, पुनरनिर्माण कार्यमा राजनितिकरण भएको, राजनितिक आस्थाका आधारमा लगत संकलन भएको लगायतका कांग्रेसको आरोपमा सरकार पक्ष छानबिन गर्न तयार भएका छन् ।
यद्यपी कांग्रेसले मुख्य रुपमा उठाउदै आएको भूकम्पपिडितलाई दिने भनिएको दुई लाख अनुदान एकमुष्ठ रुपमा दिनुपर्ने मागका विषयमा भने सहमति जुट्न बाँकी छ ।