काठमाडौ ,११ असार।
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले द्वन्द्वकालीन मुद्दाहरुलाई सत्यनिरुपण आयोगको दायरामा नल्याए आफूहरु सामू जंगल जानुको विकल्प नहुने चेतावनी दिनुभएको छ ।
राजधानीमा आज आयोजित कार्यक्रममा बोल्द गुरुङले द्वन्द्वकालिन घटनाका मुद्दा सम्बोधन नगरे आफूहरुसँग जेल जाने वा फेरि युद्धमा जाने बाहेकको विकल्प नभएको बताउनु भयो ।
पटक पटक ध्यानाकर्षण गराउँदा पनि द्वन्द्वकालीन मुद्दाहरुलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगको दायरामा नल्याइएको भन्दै उहाले यसलाई बेवास्ता गरिए आफूहरुले फेरि युद्वको बाटो रोज्ने बताउनु भयो ।
राजनीतिक निर्णयबाट हल गरिनुपर्ने विषयलाई कानूनी प्रक्रियामा लगे माओवादीले युद्धको बाटो रोज्ने चेतावनी दिनभएको हो ।
सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगले उजुरी आव्हान गरेर द्वन्द्वकालीन घटनाहरुको छानविन सुरु गरेपनि आफ्ना कतिपय नेता तथा कार्यकर्तामाथि द्वन्द्वकालीन घटनालाई लिएर अदालतमा मुद्दा चलिरहेको भन्दै माओवादी केन्द्रले असन्तुष्टि जनाउँदै आएको छ ।
अदालतमा विचाराधीन द्वन्द्वकालीन सबै मुद्दा आयोगको दायरामा ल्याउने विषयमा प्रमुख सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रबीच गत वैशाखको तेस्रो साता भएको सहमति कार्यन्वयनमा आएको छैन ।