कविता- सोनिस बोलेपछि

कविता- सोनिस बोलेपछि

  • शुक्रबार, असार १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

Ashok-Kunwarसरकार !
सारै निर्दयी हुँदो रहेछ भुइँचालो
छानी छानी गरिबकै कमजोर घर
ढाल्दो रहेछ गल्र्याम गुर्लुम
पारेर क्षणभरमै भग्नावशेष
त्यसैमा पुरिँदा रहेछन्
मै जस्ता कमजोर र निरीहहरू
चिन्नु होला
म सोनिस
भुइँचालोको निर्मम आक्रमणबाट
बाँचेको एउटा निरीह
म भग्नावशेषमा बाइस घन्टा पुरिएको
त्यही छ महिने अबोध बालक ।

सरकार !
भन्नलाई त भन्छौ,
“सोनिसहरू देशका भविष्य हुन्
सिङ्गो युग तिनैले हाँक्नु छ
सबैभन्दा ठुलो कुरा देशले के दियो होइन
देशलाई के दियो, सोच्नु छ । ”
तिमी थोपर, थोपर्न माहिर छौ दायित्व
हामी पुरा गर्न अभ्यस्त भएका छौँ
तिमीले भने झैँ दिन मात्रै जानेका छौँ,
लिन कहिल्यै जानेनौँ, जान्दैनौँ
सत्तामा थिएनौ
भोट माग्यौ भोट दियौँ
चन्दापेटी लिएर चन्दा माग्यौ
खाई नखाई चन्दा दियौँ
सत्तामा आयौ
करैमा पारी कर माग्यौ, कर दियौँ
पाल्यौँ, पोस्यौँ
कर्तव्य मात्र पालना गयौँ
निस्वार्थ रह्यौँ
बदलामा अधिकार कहिल्यै मागेनौँ ।

सरकार !
अहिले मर्माहत छन् भूकम्प पीडितहरू
ठिक त्यसरी जसरी
म त्यस दिन
आमाको न्यानो काख नपाउँदा
मर्माहत थिएँ
प्रत्येक पल सास फेर्न गारो छ
ठिक त्यसरी जसरी
मलाई त्यस दिन
धुलो र भग्नावशेषले पुर्दा
सकसले सास फेर्न गारो थियो
तिम्रो कान बाक्लो छ
सुन्दैनौ आवाज
ठिक त्यसरी जसरी
मैले त्यस दिन रुँदै चिच्याउँदा
तिमीले सुनेका थिएनौ ।

सरकार !
मेरा बाइस घन्टा
तिम्रा निम्ति खेलाँची हुन सक्छ
त्यही बाइस घन्टामा
मैले सिङ्गो नेपाल बाँचेको छु
यदि भत्किएको हुँदो हो सदन
पुरिएका हुँदा हुन् सांसद
तत्काल खोजी गरिन्थ्यो
खटाइन्थ्यो
सेना, प्रहरी, दल, बल
हात फैलाइन्थ्यो सहयोगका निम्ति
बोलाइन्थ्यो उच्च दातृ निकाय
फर्कन दिइन्नथ्यो अनुदान
हामीलाई देऊ
आज म माग्दै छु
भोट, चन्दा र करको हिसाब ।

सरकार !
तिमी समारोह राख्छौ, सभा डाक्छौ
होटलमा लामो सेमिनार चलाउँछौ
प्रशिक्षण दिन्छौ
हाम्रो न त समाउने हाँगो
न त टेक्ने खुड्किलो छ
तथापि
तिम्रो सहयोगमा भर पर्न छाडेका छौँ
भर्खरै सकाएर आफन्तको बर्खान्त
सकी नसकी ढुङ्गा र माटो जोड्दै छौँ
यहाँ
पीडित उस्तै
समस्या उस्तै
अभाव उस्तै
सङ्कट उस्तै
कति बेला फेरि भुइँचालो आउने हो र पुर्ने हो
छ पलपल सन्त्रास उस्तै ।

सरकार !
सारै निर्दयी हुँदो रहेछ भुइँचालो
छानी छानी गरिबकै कमजोर घर
ढाल्दो रहेछ गल्र्याम गुर्लुम
पारेर क्षणभरमै भग्नावशेष
त्यसैमा पुरिँदा रहेछन्
मै जस्ता कमजोर र निरीहहरू
चिन्नु होला
म सोनिस
भुइँचालोको निर्मम आक्रमणबाट
बाँचेको एउटा निरीह
म भग्नावशेषमा बाइस घन्टा पुरिएको
त्यही छ महिने अबोध बालक ।

– अशोक कुँवर ‘नेत्र’ 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी