नेपालमा माओवादी जन्मेको नै बिस वर्ष भईसक्यो । आफ्नो अस्तित्व, पहिचान र योजना थालेको पनि त्यति नै भयो । यस बिचमा माओवादीले योजनाबद्ध ढङ्गबाट संचालित गरेको महान तथा गौरवशाली जनयुद्धमा पनि लाखौँको सहभागिता भयो । हजारौँले उचतापूर्ण बलिदानी गरे । अहिले पनि जनयुद्धका हजारौँ घाईते योद्धाहरु न गरिखान सक्ने न मरिजान सक्ने भने जस्तैको दोधारे जीवन बाँचीरहेका छन् । देश बदल्ने, जनताको सत्ता स्थापना गर्ने भन्दै कि मुक्ति कि मृत्यु भनेर शिरमा कफन बाँधेका हजारौँ कार्यकर्ता अहिले बिचैमा रुमलिरहेको माओवादी आन्दोलनमा परेर घर न घाटको भएका छन् । क्रान्तिकालिन नेताहरु जो एउटा उच्च आदर्श र सम्मानका प्रतिक थिए, तिनै नेतृत्वहरु अहिले उल्टो दिशातिर कुदिरहेका छन् । र हिजोको त्यो गौरवपूर्ण आन्दोलनका गद्दार जस्ता भएका छन् ।
केही तिता र केही मिठा, केही सफलताका त केही असफलताका कुरा अनि धोका, बेइमानी र फेरी आशा, विश्वास र पुन क्रान्तिका कुरा । यस्तै यस्तै देखिन्छ, हाम्रो मनको माओवादी । हामीले देखेको माओवादी । भोगेको माओवादी । रोजेको माओवादी ।
हाम्रो पार्टीका महासचिव श्रद्धय नेता क.विप्लव ले भन्नुहुन्छ “माओवादी भनेको मान्छे होइन । यो एउटा विचार हो । आदर्श हो । सभ्यता हो ।” तसर्थ व्यतिmलाई किटाएर माओवादी आन्दोलनलाई हेर्नु हुँदैन । व्यतिm आउने, जाने भईरहन्छ । यात्रामा कोही पुरा गर्ने आँट गर्ला कसैले बिचमै आफ्नो गन्तव्य टुङ्ग्याउला । त्यो स्वइच्छा पनि भयो तर मुख्य कुरा लक्ष्य हासिल भयो कि भएन ? बदल्न सफल भयौँ कि भएन ? हो, उहाँले भने जस्तै यो देशमा माओवादीले देखेको सपना, गरेको प्रतिबद्धता के थियो त ? जनता सँग खाएका बाचाकसम के थिए ? ति जोधाह कार्यकर्तालाई देखाएको दृढता के थियो त ? कुन जादु या शतिm थियो कि क्रान्तिमा मान्छेले त्यतिबेला मरेर भएपनि आफ्नो भूमिका पूरा गर्न चाहन्थे । बरु शहिद हुन तयार, बरु बलिदान गर्न तयार तर आफ्नो वर्गलाई धोका नदिने प्रणमा, कसममा के थियो त्यस्तो आकर्षण ? सामान्य मान्छेले सजिलै आंकलन गर्न नसक्ने कुरा र कौतुहलता हुन यि ।
आज आएर कोही कोही माओवादीलाई हेरेर, दुनिया र बिरोधी मात्र होइन उनी आफै पनि लाज मान्दैछन् । दिक्दारी मान्दैछन् । घृणा गर्दैछन् आफैलाई । हिजो जसले बम बारुदको झोला बोक्दा पनि हाँसी हाँसी आफ्नो मात्र कहाँ हो र यो देशको, यो देशका जनताको सुन्दर भविष्यको दाबी गथ्र्यो । तर आज तिनै अभियन्ताहरु सँग मनभरि गुनासा छन् । पिडा छन् । आक्रोश र पश्चातापका ज्वाराभाटा छन् । अचम्म लाग्छ जतिबेला ति कार्यकर्ता नेताहरुको आफ्नो जीवनलिला कहाँ सिद्धिन्छ र कहाँ अलपत्र पर्छ भन्ने कुराको थोरै मात्र पनि अनुमान गर्न नसक्ने वातावरण थियो, त्यतिबेला उनीहरु सँग जुग जुग बाँच्ने अठोट थियो । आकाशको तारा भएर यो धर्तीमा उज्यालो छर्ने विश्वास थियोे । यो पढ्दा साहित्य जस्तो लाग्ला, कल्पना हो कि भन्ने भान पनि पर्ला तर यो यर्थात भन्दा पनि यर्थात हो । वास्तविकता भन्दा परको वास्तविकता हो । हो, आज उनै सपनाजीवि हरु शून्यताको वर्तमानमा कहालिएका छन् भन्दा गंभीर बन्नेहरुको संख्या पाउन मुस्किल छ । बरु हाँसीदिन्छन् । बरु उपदेश दिन ठहरिन्छन् । बरु खाईस र थापाईस भनि स्याँई मेट्छन् । यही हो, अहिलेको माओवादी । तर यसको आयु पनि अब सिद्धिसक्यो र फेरी तिनै सपनाहरुलाई देख्ने क्रम अगाडी बढिसक्यो । अब सम्झौँ हिजोको माओवादीलाई जुनबेला हामी सानै थियौँ । देख्थ्यौँ मात्र । हेथ्यौँ मात्र । सुन्थ्यौँ मात्र ।
माओवादी आन्दोलनमा यतिबेला तिव्र धुव्रीकरण, नजानिदों एकता र विघटन जात्रा भनौँ या यात्रा नै चलिरहेको छ । कोहीफेरी जनताको मुतिmकामी यात्रा जनता बाटै थाल्ने भनेर गाउँ गाउँ पसिरहेका छन् । सर्वहारा वर्गको लागि भन्दै किसान जनताका झुपडीमा फेरी क्रान्ति गित गुन्जाउँदै छन् । सहिदका घरघर चह्रादै छन् । कार्यकर्तालाई उत्साहित पार्दै छन् । घाईतेका आवाजहरु सुनिरहेका छन् । जनताका पिरमर्का, इच्छा चाहना बुझिरहेका छन् । हिजोका सपना, प्रतिबद्धतालाई दोह्रोयाई रहेका छन् । हिजाकोे आशा, अपेक्षा मात्र होइन, विश्वास र भरोसालाई पनि फिर्ता गराउने कोशिस गरिरहेका छन् । त कोही फेरी हिजो जति ग¥यौँ ग¥यौँ अब कुर्सीमै बसेर गर्नुपर्छ भन्दै सिंहदरबार र बिआईसिसि ताकिरहेका छन् । दुख कष्ट गर्नु, खतरा झेल्नु बेकार छ भन्दै गरेका छन् र मिलेको जस्तो गरेर एउटै नाममा, काममा, विचारमा बस्न खोज्दैछन् । कसैकसैलाई अब त माओवादी सकियो, यात्रा नै समाप्त भयो भन्ने लाग्दै होला लागेको पनि देखिन्छ, बुझिन्छ । तर सुक्ष्म ढङ्गले हे¥यो भने माओवादी भित्र ठूलो उथलपुथल छ । प्रत्येक माओवादी यतिबेला पिडा र उत्तेजनामा उम्लीरहेको छ । बिस्तारै बिस्तारै माओवादी आन्दोलन, क्रान्तिको ज्वाराभाटा बन्दैछ । ज्वालामुखी बन्न खोजिरहेछ । अझ यसो भनौ निकट भविष्यमै, मसानघाटमा पुगेको माओवादी आन्दोलनले शिखर चुम्ने यात्राको थालनी गर्ने देखिन्छ । यो पक्का हो कि, निराशालाई आशाले जित्छ । नराम्रोलाई राम्रोले जित्छ । दुखलाई सुखले जित्छ । असत्यलाई सत्यले जित्छ । हो एकदिन यो धर्ती बाट झुटको, बेइमानीको खेल अन्त्य हुनेछ र लेखिने छ सत्यम् शिवम् सुन्दरम । बिर्सिइनेछ पराजयका कथाहरु र गाईने छ विजयका गाथाहरु । यो कल्पना होइन । सपना हो । निश्चय पनि सपना भित्र शक्ति हुन्छ नै । यी र यस्ता थुप्रै आरोह अवरोह पार गर्दै, विचलन र विघटनको महामारी बाट गु्रजीदै अगाडी बढेको माओवादी आन्दोलन भित्र बाट, हामी जसले अधुरो क्रान्तिलाई पूर्णता दिने भनेका छौँ । एकिकृत क्रान्तिको कार्यदिशा मार्फत जसरी देशलाई स्वाधिनता, आत्मर्निभरता र एकतामा गोलबद्ध पार्ने सोचेका छौँ, निश्चय नै हामी भित्र एउटा अठोट छ । एउटा सपना छ । एउटा दुढता पनि छ । हामीले कसरी बुझेका छौँ त अहिलेको समय, समाज, माओवादी आन्दोलन अनि विश्व परिवेश । के साँच्चै चाखलाग्दो छैन त ?
विश्व नयाँ शताब्दीको सुरुवातमा छ । सुचना क्रान्तिले यतिबेला सबको मन मगज हल्लाईरहेको छ । संसार झन भन्दा झन सानो बन्दैछ । चेतनाको दायरा निकै बढेर गएको छ । मान्छेहरु अचाक्ली चलायमान भएका छन् । कसैले कसैलाई ढाँट्न नसक्ने भएको छ । सजिलै छक्याउन नसक्ने भएको छ । आज केही गरी झुक्याए पनि त्यो केही दिन भित्रै पर्दाफास हुने भएको छ । संसारको एउटा कुनामा जन्मेको आजको मान्छे बिस वर्षको नपुग्दै संसारको अर्कोे कुनाको भाषा, सभ्यता, रहनसहन मात्रै होइन, त्यहाँको राजनीति, त्यहाँको शासन व्यवस्था, त्यहाँका शासकको शासनशैली देखिरहेको छ । बुझिरहेको छ । आज कोसौँ टाढा बाट पनि अनुहार हेरी हेरी गफ मार्ने चलन शुरु भएको छ । आज गाउँ गाउँमा नयाँ नयाँ चिजवस्तु मात्र होइन सपना पनि भित्रिएको छ । जो जे जस्तो आर्थिक धरातलमा भएपनि उसको जीवनशैलीमा केही न केही नयाँ कुराको माग भईरहेको छ । आँखा भरि मान्छेले रङ्गीबिरङ्गी सपना सजाईरहेको छ । तसर्थ आजको विश्व, आजको समाज, आजको मान्छे ऐना जस्तो भएको छ । सफा पनि छ । पारदर्शी पनि छ । बलियो पनि छ । साथै एकैपटकमा चकनाचुर हुने जस्तो पनि छ । सुन्दर पनि छ ।
तसर्थ हामी हिजोको समाजमा छैनौँ, हिजोको मान्छे जस्ता पनि छैनौँ । हिजोका जस्तो व्यवस्था न आज टिक्छ, न हिजोको जस्तो शासकहरु भएर आज शासन चलाउन संभव छ । आज के छ त ? जे छ हाम्रो हातमा छ । जनताको हातमा छ । साधारण भनिएका मान्छेको हातमा छ । हिजो जसलाई प्रजा भनिन्थ्यो, रैती भनिन्थ्यो आज उनीहरुकै हातमा छ । हामी साना मान्छे भन्नेहरुकै हातमा छ शासक भन्नेहरुको शासन सत्ता पनि । तसर्थ आज क्रमशः शक्तिको स्रोत बदलिएको छ । शासनको मुहान फेरिएको छ । हिजोका र्निबलियाहरु सँग नै आजको तागत केन्द्रित हुन आईपुगेको छ । आर्थिक स्रोतहरु पनि बदलिदै गएका छन् । सम्बन्ध पनि फेरिरहेका छन् । हिजोका बोलि नहुनेहरु सँग नै आजको युग बदल्ने नारा छ । हिजो जो घर बाहिर जान डराउँथे तिनैहरु आज विश्व बदल्ने महायात्रामा सजिलै सरिक हुने माध्याममा छन् । जो हिजो आफ्ना कुरा भन्न डराउँथे हाज तिनै मान्छेहरु संसार सँग आफ्नो चुनौैती पेश गरिरहेका छन् । काँचका पर्दामा नै किन नहोस अन्याय, अत्याचार र असमानताको विपक्षमा भोटिङ् भईरहेको छ । आज मान्छेले मान्छेको जस्तो जिवन खोजिरहेको छ । जो हिजो लुकेर, कतै भागेर, जनताको रगत पसिना चुसेर आफ्नो वैभवको जिन्दगी बिताउँथे तिनैलाई आजका तमाम सर्वहाराहरुले उहाँ कहाँ बस्छ ? के गर्छ ? भन्ने मात्र होइन कतिबेला खायो ? कति बेला सुत्यो ? ट्वाईलेटमा कति समय लगायो भनि हिसाब निकाल्न सक्ने भएका छन् । हिजो जसले सबैलाई आफ्नो धाक धम्की र रवाफ बाट वशमा पार्न खोज्थ्यो त्यसलाई आज सोची सोची सम्झी सम्झी बोल्नु पर्ने बेला आईपुगेको छ ।
हो, समय बदलिएको छ । संसार फेरिएको छ तर हामी सबैले त्यो फेरिएको , बदलिएको समय अनुरुप चल्न सकेका छैनौँ । आशा र खुशीको कुरा हाम्रो पार्टी जसले एकिकृत जनक्रान्ति मार्फत बुझ्ने मात्र होइन बदल्ने, नेतृत्व गर्ने जुन आँट र तागत राखेको छ त्यसको तारिफ मात्र गरेर पुग्नेवाला छैन । बरु लाग्नु पर्ने बेला भएको छ , त्यो अभियानमा । त्यो आन्दोलनमा । एउटा सत्य र महानताको यात्रामा । इमानदारीका साथ । दृढताका साथ ।
आजको बदलिंदो नेपाललाई हामी हरुले नजिक बाट हेरिरहेका छौँ । धेरैको आरोप छ, यो विप्लव माओवादीले परिवर्तनलाई बुझ्न सकेको छैन् ? या फेरी जनवादी सत्ताको लागि निरर्थकको लडाई लड्दैछ । अहिले उनीहरुको क्रान्तिमा को युवा लड्दिन्छ भन्ने पनि सुनिन्छ । प्रायः असंभव हुने कुरामा लागेर काम छैन भन्ने राजनीतिक महानुभावहरु पनि हुनुहुन्छ । यसलाई हामीले अहिले तर्कले मात्र जित्न जरुरी ठानेका छैनौँ । तुरुन्ता तुरुन्तै प्रतिक्रिया दिईहालेका पनि छैनौँ । ठिकै हो, हामी माओवादीको इतिहास सरल र सहज मात्र छैन । ठूलठूला असफलता, हन्डर ठक्कर पनि बेहोरिसकेकाले पनि अहिले हाम्रो भन्ने कुरा के छ भने, माओवादीले अहिले जे कुरा गर्दैछ, जति कुरा गर्दैछ हिजोको सहमति, सम्झौता र इतिहासलाई इमानदारीता पूर्वक पालना गर्दैछ । फेरी कुनै माओवादी आन्दोलनमा लागेका मान्छेहरुको व्यक्तिगत कुरा पनि होइन । इच्छाको कुरा पनि होइन । यि सबै कुरा त जनताका कुरा नै हुन । जसले हिजो माओवादीले लड्ने आह्रावन गर्दा, लडे । बलिदान गर्ने आदेश दिंदा सहर्ष दिए । हामीले भोट माग्यौँ, अत्यधिक मत पनि दिए । कसका लागि, के का लागि ? कुरा प्रस्ट छ, जनताको परिवर्तनका लागि । आज, जसले जति सुकै ठूला तर्क गरे पनि, जे राजनैतिक सिद्धान्तको बखान गरेपनि हुने भनिएको परिवर्तन भएको छैन । जे होला भन्ने आशा, अपेक्षा गरिएको थियो त्यो भएन । नेपालका लाखौँ युवा के विदेश रहरैले जान्छन् ? आज पनि हजारौँ महिला विदेशको कोठीमा के रहरैले बेचिन्छन् ? उपचार गर्ने पैसा नपाएर के हाम्रा जनता हरु मरिरहेका छैनन् ? यहाँ कोही करोडपति छ भने कोही दिनरात काम गर्दा पनि हातमुख जोड्ने अवस्थामा छैन । छोराछोरीलाई पढाउन सकिने अवस्था छैन । आजका कोही पनि चाहे त्यो युवा होस, चाहे बच्चा, महिला, दलित, जनजाति, सुकुम्बासी कसैले पनि आफ्नो सुरक्षित, सुन्दर भविष्य देखेका छैनन ? किन त ?
कारण प्रस्ट छ, हिजो जसका हातमा शासन सत्ता थियो, मान्छे फेरियो तर उस्तै र उही प्रवृतिका मान्छेहरु शासन सत्तामा आए । शासन प्रणालिको चरित्र जस्तो थियो उस्तै रह्यो । देश चलाउने हरुले जनता लाई हेरेनन् खाली कुर्सी हेरे, जताबाट भएपनि आफ्नो दुनो सोझ्याउन तिर लागे । भए भरको देशको साधन स्रोतमा सिमित मान्छे र वर्गको हालिमुहाली भयो । तसर्थ, अब यसको निकास, हल भनेको के हो त ? के कोठामा टाँसिएको भगवानको पोस्टरलाई पूजा गरेर हुन्छ त ? कि यिनै दल, यिनै नेतालाई बारम्बार भोट हालेर, जिताएर हुन्छ ? वास्तवमा अहिले कुनै पनि सचेत नेपाली नागरिकले यिनै दल र नेताहरु बाट भविष्य देखेको छैन । यस्तो अवस्थाबाट देशको पार लाग्ने देखेको छैन । आफ्नो पनि भविष्य देखेको छैन । यसको सोझो अर्थ हो, क्रान्ति को आवश्यकता परिसक्यो । एकपटक नेपाल र नेपालीले वास्तविक परिवर्तनको भिषण क्रान्तिको मार खप्नु पर्ने देखिन्छ ।
अब हाम्रो एउटै मात्र जोड के छ भने, हेर्दै जानुहोस र राम्रो लागे समर्थन पनि गर्नुहोस । हामी यो देशलाई स्वाधिन र यो देशका नागरिकलाई स्वाभिमानी गराएरै छाड्ने प्रण गरेका छौँ । हाम्रो जीवन व्यवहारमै देखिन समृद्धिको लागि पनि अन्तिम पिडा, प्रसव वेदना भोग्न तयार हौँ । जित सुनिश्चित छ । क्रान्ति संभव छ ।लेखक : गणेशमान सिंह