काठमाडौ ,२४ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सियो धागोमा समेत विदेशीको भर पर्नुपर्ने अवस्थाबाट देशलाई मुक्त पार्ने बताउनु भएको छ । देशलाई आत्मनिर्भर बनाउने वर्तमान सरकारको उद्देश्य रहेको उहाले प्रष्ट पार्नुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको २३ औं राष्ट्रिय महाधिवेशनलाई आज राजधानीमा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले कृषिमुखि अर्थतन्त्रबाट मुलुक आयातमुखी भएको बताउनु भयो ।
अहिलेको आवश्यकता भनेको आत्मनिर्भर अर्थतन्त्र रहेको भन्दै ओलीले वर्तमान सरकारको प्राथमिकता पूर्वाधार विकास, रोजगारी सिर्जना गर्ने र उद्योग स्थापना गर्ने, युवा पलायन रोक्नु रहेको धारणा राख्नुभयो ।
स्वदेशी उद्योग र उत्पादनलाई सरकार जस्तोसुकै सहयोग गर्नेे प्रतिबद्धता जनाउदै प्रधानमन्त्री ओलीले त्यसका लागी सबै पक्षसग साथ र सहयोगका लागी अपिल समेत गर्नुभयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष सुरेश प्रधानले औद्योगिक वातावरण सिर्जना गर्नका लागि औद्योगिक ऐन चाँडो ल्याउनुपर्ने बताउनु भयो ।