उपत्यकामा बिक्रि हुने ट्याङ्करको पानी एक तिहाइ गुणस्तरहीन

उपत्यकामा बिक्रि हुने ट्याङ्करको पानी एक तिहाइ गुणस्तरहीन

  • शनिबार, जेष्ठ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौँ, २२  जेठ । 

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको नेतृत्वमा गठित अनुगमन समितिले उपत्यकामा ट्याङ्कर व्यवसायीहरूले बिक्रीवितरण गरेको पानीमध्ये एक तिहाइ गुणस्तरहीन पाइएको जनाएको छ । उपत्यकाका विभिन्न ठाउँबाट सङ्कलन गरेको पानीको नमुना परीक्षण गराउँदा यस्तो फेला परेको बोर्डले जनाएको छ ।

अनुगमबाट ट्याङ्कर व्यवसायीले बिक्री गर्ने र उनीहरूले प्रयोग गर्ने स्रोतबाट पानीको नमुना सङ्कलन गरी गुणस्तर परीक्षण गराएको थियो ।  अनुगमनबाट एक तिहाइले बिक्रीवितरण गर्ने पानीमा तोकिएको मापदण्डभन्दा बढी एमोनिया र फलामको मात्रा देखिएको जनाइएको छ ।  यस्तो पानी मानवीय प्रयोजनका लागि उपयुक्त मानिँदैन ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको खानेपानी गुणस्तर परीक्षण शाखाका अनुसार ३९ वटा खानेपानीका पानीको नमुना परीक्षण गरिएकामा १४ वटामा फलाम र एमोनिया मापदण्डभन्दा बढी पाइएको छ ।  परीक्षणमा एमोनियाको मात्रा ५ देखि २० मिलिग्रामसम्म देखिएको छ ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का अनुसार सामान्यतया खानेपानीमा एमोनिया १.५ मिलिग्राम र फलाम १० प्रतिशतभन्दा बढी हुनु हुँदैन ।

ट्याङ्करको पानीमा फलामको मात्रा बढी देखिनु पानीको स्रोतभन्दा ट्याङ्कर पुराना  र खिया लागेकाले हुनसक्ने खानेपानी गुणस्तर शाखाका प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
बोर्डका कार्यकारी निर्देशक सन्दिवविक्रम राणाले ट्याङ्कर व्यवसायीले बिक्री गर्ने पानी गुणस्तरहीन भएको गुनासो आउन थालेपछि यो महिनाको सुरुदेखि हरेक सोमबार र शुक्रबार छड्के रूपमा उपत्यकाका विभिन्न क्षेत्रमा पानी बोकेका ट्याङ्कर र उनीहरूले प्रयोग गर्ने पानीका मुहानको पानी परीक्षणका लागि नमुना सङ्कलन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बोर्डले अहिलेसम्म जानकारीमा आएका १४१ वटा पानीका स्रोत र दुई सयभन्दा बढी निजीस्तरबाट सञ्चालित ट्याङ्करको पानीको गुणस्तर, मूल्यलगायतका विषयमा अनुगमन गरेको छ ।  कार्यकारी निर्देशक राणाले व्यवसायीले बिक्री गर्ने पानीको गुणस्तरमा समस्या देखिए पनि मूल्यमा भने समस्या नदेखिएको बताउनुभयो ।

समितिमा बोर्डसहित घरेलु उद्योग कार्यालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, वाणिज्य विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेल) र नापतौल तथा गुणस्तर विभागका एक÷एक जना प्रतिनिधि हुनुहुन्छ ।

बोर्डका अनुसार समितिले खानेपानी ट्याङ्कर व्यवसायलाई नियमित अनुगमन गरेर तयार गरेको अन्तिम प्रतिवेदन जिल्ला प्रशासन कार्यालय काठमाडौँ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउनेछ ।  उपत्यकामा हाल लगभग दुई सय व्यवसायीले झन्डै सात सयवटा खानेपानी ट्याङ्कर सञ्चालन गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी