काठमाडौ १८ जेठ ।
बजेट चुहावटका बिषयमा छानबिन गर्न नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ ।
व्यवस्थापिका संसदले प्रमुख प्रतिपक्षी दल काग्रेसका नेता रमेश लेखकको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो ।
समिति गठनको प्रस्तावकमा एमाले प्रमुख सचेतकमा भानुभक्त ढकाल तथा समर्थकमा कंग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे हुनुहुन्छ ।
सभामुखको निर्देशनमा सो समितिले कार्यविधि भने आफै तय गर्नेछ । संसदमा बजेट सार्वजनिक हुनु पूर्व नै चुहावट भएको बिषयमा समितिले छानविन गर्नेछ ।
यस्तै, विगतमा पनि भएका चुहावटसम्बन्धमा अनुसन्धान गरी त्यसलाई समेटेर आगामी दिनमा यसो हुन नदिन अपनाउनुपर्ने सावधानी समेत समेटेर प्रतिवेदन तयार गर्नेछ । समितिलाई छानविन गरी प्रतिवेदन तयार पार्न ३ महिना १५ दिनको समय दिइएको छ ।
गत शनिवार संसदमा बजेट प्रस्तुत हुनु अगाडि नै संसदको विवरण सार्वजनिक भएको भन्दै छानविनको माग राखेर प्रमुख प्रतिपक्षी कंग्रेसले हिजो चार पटक संसद बैठक अवरुद्ध पारेको थियो ।
यसअघि आज बिहान प्रधानमन्त्री केपि ओलीको आह्वानमा बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको संयुक्त बैठकले संसदमा जारी गतिरोध अन्त्यका लागि छानविन समिति गठन गर्न सहमति गरेको थियो ।