समालोचना : कवि मणि थापाको ‘सानो कान्छो’कविताको तत्त्वगत विश्लेषण

समालोचना : कवि मणि थापाको ‘सानो कान्छो’कविताको तत्त्वगत विश्लेषण

  • आइतवार, जेष्ठ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 21.1K
    SHARES

 

 १ विषय प्रवेश

कवि मणि थापाको ‘सानो कान्छो’ कविता कर्णाली राष्ट्रिय मासिक पत्रिकामा प्रकाशित कविता हो । यो कविता उक्त पत्रिका (वर्ष ६, अङ्क १) को पृष्ठ ४२ मा रहेको छ । यो कविताको अन्त्यमा नोटको रूपमा कविता २०७२ साल भदौ १२ गते शनिबार रचना भएको भनी उल्लेख गरिएको छ । माओवादी जनयुद्धकै क्रममा जुम्लामा गोली लागी उपचारका क्रममा काठमाडौँमा देहान्त भएका हरि बहादुर कुँवरको सम्झनामा यो कविताको रचना पृष्ठभूमि तयार भएको देखिन्छ ।

यस अध्ययनमा कविताका विधागत तत्त्वहरूका बारेमा सामान्य चर्चा गर्दै थापाको ‘सानो कान्छो’ कवितामा के कस्ता कविताको तत्त्वगत विशेषताहरू छन् भनी विश्लेषण एवम् मूल्याङ्कन प्रस्तुत गरिएको छ ।

२ कविताका तत्त्वहरू

कविता साहित्यको लय प्रधान विधा हो । कवितालाई समग्र रूपमा चिन्न चिनाउनका लागि जे जस्ता सामग्रीहरूको आवश्यकता पर्दछ, ती सामग्रीहरू नै कविताका तत्त्वहरू हुन् । पूर्वीय साहित्यमा रस, शब्दार्थ, सौन्दर्य, रीति, ध्वनि वक्रोक्ति औचित्य, अलङ्कार आदिलाई काव्यतत्त्व मानिएको पाइन्छ । यस मध्ये रीति, अलङ्कार आदिलाई बाह्य तत्त्व र रस, ध्वनि वक्रोक्ति आदि पक्षलाई आन्तरिक तत्त्व मानेको पाइन्छ । पाश्चात्य साहित्यमा विषय वस्तु, भाषा, शैली, छन्द, लय, बिम्ब र प्रतीक आदिलाई कविताका तत्त्वका रूपमा लिएको देखिन्छ ।

पूर्वीय र पाश्चात्य साहित्यमा कविताका तत्त्वहरूमा मत भिन्नता देखिए तापनि मूलभूत रूपमा समान तत्त्वहरू देखा पर्दछन् । यसै गरी नेपाली साहित्यमा पनि कविताका तत्त्वका बारेमा साहित्यकारहरू बिच फरक फरक मत रहेको पाइन्छ । भानुभक्त पोखरेलले अनुभूति कल्पना, सौन्दर्य, सङ्गीतात्मक लयलाई कविताका तत्त्व मानेका छन् भने वासुदेव त्रिपाठीले शीर्षक, संरचना, लय विधान, भाषाशैली, कथन पद्धति, केन्द्रीय कथ्य वा भाव विधान, बिम्ब विधान तथा अलङ्कारका प्रविधि, व्यञ्जना, विधागत स्वरूप वा आयाम जस्ता घटकलाई कविताका तत्त्व मानेका छन् । कविताका विधागत भेदमध्ये मुक्तक र फुटकर कवितादेखि खण्डकाव्य र महाकाव्यसम्मका स्वरूपलाई ध्यानमा राखी कविताका घटकहरू निर्धारित हुने गर्दछन् । त्यसरी निर्धारित घटकका आधारमा कविताका तत्त्वहरू शीर्षक, संरचना, लय विधान, भाषाशैली कथन पद्धति, केन्द्रीय कथ्य तथा भाव विधान, बिम्ब विधान तथा अलङ्कार, व्यञ्जना रहेका छन् (त्रिपाठी, २०६० ः १७) । यी पक्षहरू परस्परमा आबद्ध रहने गर्दछन् । कवितामा रहने आन्तरिक तथा बाह्य तत्त्वलाई विभिन्न विद्वान्हरूले विभिन्न शीर्षकमा राखेर बाढेको पाइन्छ । कविताका विधागत भेदमध्ये मुक्तक र फुटकर कवितादेखि खण्डकाव्य र महाकाव्यसम्मको स्वरूपलाई ध्यानमा राखी कविताका घटकहरू निर्धारित छन् ।

यहाँ शीर्षक, संरचना, विषय वस्तु, लय विधान, भाव वा उद्देश्य विधान, कथन पद्धति, बिम्ब विधान र भाषाशैलीको कसीमा कवि मणि थापाको ‘सानो कान्छो’ कविताको तत्त्वगत विश्लेषण र मूल्याङ्कन प्रस्तुत गरिएको छ ।

३ शीर्षक

‘सानो कान्छो’ कवितामा दुई ओटा शब्दको प्रयोग गरी शीर्षक निर्माण गरिएको छ । ‘सानो’ शब्द विशेषण शब्द हो भने ‘कान्छो’ शब्द नाम शब्द हो । ग्रामीण नेपाली समाजमा ‘सानो कान्छो’ भन्ने नाम निकै प्रचलनमा रहेको छ । यस कवितामा बोलीचालीको रूपमा प्रयोग गरिने नामलाई टपक्क टिपेर शीर्षकीकरण गरिएको छ । यसबाट कविताको शीर्षक नै चित्ताकर्षक बनेको छ । एकातर्फ कविताका नायक हरि बहादुर कुँवरलाई सहयोद्धा साथीहरूद्वारा सानो कान्छो भनेर बोलाइने गरिन्थ्यो भनी कविताको शीर्षकले प्रस्ट्याउँछ भने अर्कोतर्फ कविले प्रतीकात्मक शीर्षक दिँदै तमाम सानो कान्छो जस्ता योद्धाहरूले प्राप्त गरेको वीरगतिलाई कविताको शीर्षक मार्फत् सम्बोधन गरिएको छ भन्ने अभिप्राय राख्दछ ।

समालोचक :अशोक कुँवर ‘नेत्र’

समालोचक :अशोक कुँवर ‘नेत्र’

यो कविता निशस्त्र आन्दोलनका क्रममा कर्णालीका गाउँबस्तीमा स्वयात्त कर्णालीको बोर्ड टाँस्न लाग्दा राज्य पक्षबाट मारिएको सानो कान्छो पात्रको दुःखद अन्त्यको मार्मिक चित्र उतार्न सफल कविता हो । कविताको शीर्षकले भावको गाम्भीर्यलाई समेट्न सफल भएको छ ।  ।

४ संरचना

‘सानो कान्छो’ कविता लामाछोटा साठी हरफमा संरचित छ । कवितामा छ ओटा प्रश्न वाचक चिह्न, दुई ओटा विस्मयादिबोधक चिह्न र पाँच ओटा पूर्ण विराम चिह्न प्रयोग भएका छन् ।  कविताको सबैभन्दा लामो हरफ “तर नेपाल मुक्तिका निम्ति भन्दै उसले पनि भरुवा बोकेको थियो” भन्ने हो । यो जम्मा दस शब्दको छ भने सबैभन्दा छोटा हरफहरू दुई शब्दका छन् । गद्य संरचनाको यो कविता दुई ओटा शब्द भएका आठ ओटा, तिन ओटा शब्द भएका नौ ओटा, चार ओटा शब्द भएका बार ओटा, पाँच ओटा शब्द भएका नौ ओटा, छ ओटा शब्द भएका दस ओटा, सात ओटा शब्द भएका तिन ओटा, आठ ओटा शब्द भएका छ ओटा, नौ ओटा शब्द भएका दुई ओटा र दस ओटा शब्द भएका एउटा हरफ छन् ।

५ विषय वस्तु

प्रस्तुत कविता दस बर्से माओवादी सशस्त्र युद्धका बेलामा राज्य पक्षबाट कसरी निशस्त्र अवस्थामा रहेका माओवादी कार्यकर्ताहरू मारिन्थे भन्ने विषय वस्तुमा आधारित कविता हो । कविताको प्रमुख पात्र सानो कान्छो आमा गुमाएको टुहुँरो केटो हो । उसकी आमा उपचारको अभावमा सुत्केरी अवस्थामै मरेकी थिइन् । उसले पेट भर्नका निम्ति यार्सा टिप्ने काम गर्छ । बिहान बेलुकाको रोटीसम्म पनि जोर्न नसकेर ऊ चौरी गोठालो बन्नु परेको छ । उसले आकाशमा उड्ने हवाई जहाजतिर हेरेर त्यसमा चढाएर अस्पतालसम्म उपचारका निम्ति लैजान पाएको भए उसकी आमा मर्ने थिइन भन्ने सोच्दछ । उसले समृद्ध, सुबिधा युक्त ठानिएक सहरहरूको अनुहारसम्म देखेको छैन । मुक्तियुद्धका निम्ति एक पटक उसले हतियार भने उठाउन पाएको थियो । भोको पेट भर्न पाउने, गरिबले पनि खान लाउन पाउने सपना देखेको उसले भरुवा बोकेर रोल्पा, कालिकोट पुगेको थियो । बिडम्बना उसले न त एक छाक मिठो खान पाएको छ न त एक सरो राम्रो लगाउन पाएको छ ।

सानो कान्छोकी आमाको मृत्यु प्रसव पीडाकै कारण भएको हो । यी र यस्ता समस्याहरू अबका जुम्लेलीहरूले भोग्न नपरोस् भन्ने कविताका नायक सानो कान्छोको निष्कर्ष छ । यसैले ऊ मुक्तियुद्धलाई सहयोग गर्न हतियार बिना नै गाउँ आएका मुक्तियोद्धाहरूलाई स्वायत्त कर्णाली प्रदेशको बोर्ड टाँस्न भर्‍याङ  चढेर सहयोग पुर्याउन चाहन्छ । बिडम्बना भर्‍याङ चढ्नै लाग्दा राज्य पक्षका सेनाले चलाएको बन्दुकको गोली लागी ऊ ढल्न पुग्दछ ।

सानो कान्छोले उसकी आमाले जस्तै हवाई जहाज चढ्न नपाएको त होइन । ऊ हवाई जहाजमै नेपालगन्ज हुँदै काठमाडौँ आइ पुगेको छ । वीरगति प्राप्त गरेको सानो कान्छोको मृत देहमा ‘म’ पात्रले पशुपति आर्यघाटमा सलामीले अन्तिम बिदाइ गरेको छ । जन युद्धलाई मुक्तिको आधार ठानेर युद्धमा होमिएको सानो कान्छो युद्धकै क्रममा वीरगति प्राप्त गर्ने सहिदको लिस्टमा समेटिन पुग्दछ । यो नै यस कविताको विषय वस्तु हो ।

६ लय विधान

प्रस्तुत कवितामा गद्य लयको प्रयोग भएको छ । अन्तर अनुप्रास र अन्तर गेयात्मकताले कवितालाई सुन्दर बनाएको छ । उदाहरणका निम्ति प्रस्तुत कवितांशलाई लिन सकिन्छ :

                 ढल्नुसँगै ऊ चिलगाडी चढ्यो

                                   नेपालगन्ज झर्यो

                 राजधानी काठमाडौँ आयो

                 अनि सानो कान्छो

                 पशुपति आर्यघाटबाट सदाका निम्ति बिदाइ भयो ।

७ भाव विधान वा उद्देश्य

प्रस्तुत कवितामा सानो कान्छो जस्ता गरिब जनताहरू गरिबी, रोग, भोकले नै मर्नु पर्ने अवस्थालाई चित्रण गरिएको छ । डा. जगदीश चन्द्र भण्डारी भन्दछन्, “अपहेलित, शोषित– उत्पीडित, भोका, नाङ्गा सर्वहारा वर्गलाई केन्द्रीय रूपमा राख्ने र शोषक– शासक वर्गको स्वरूपलाई देखाउँदै आभिजात्य–सामन्त वर्ग–शत्रुप्रति घृणाभाव उमार्ने र त्यस शत्रुवर्गका विरुद्ध क्रान्तिचेत ब्युँझाउने कथ्य प्रवृत्तिलाई प्रगतिवादले अँगालेको हुन्छ” (२०५५ ः पृ. ११९) । यस हिसाबमा यो कविता प्रगतिवादी विचार भएको कविता भएको स्पष्ट हुन्छ ।

सुत्केरी हुने क्रममा सानो कान्छोकी आमाको दुःखद मृत्यु भयो । यसरी नै प्रतिदिन उपचारको अभावमा गरिब जनताहरूले अकालमै ज्यान गुमाइ रहनु परेको छ । सीमित सहर विकासको होडबाजीमा सक्रिय हुँदा जुम्ला जस्ता जिल्लाहरूका बासिन्दाले आधारभूत आवश्यकता समेत प्राप्त गर्न नसकेको देखिन्छ । यस्तो अवस्थामा मुक्तिका लागि वर्गीय युद्ध लड्नु पर्ने चेतना कवितामा गरिएको छ । यस्तै वर्गीय मुक्तिको सपना देखेका सानो कान्छो जस्ता बहादुर सपुतहरूले युद्धका क्रममा देखाएको सौर्यका बारेमा पनि कवितामा चित्र उतारिएको छ । निशस्त्र माओवादी कार्यकर्तालाई तत्कालीन राज्य पक्षबाट कसरी सशस्त्र आक्रमण गरिन्थ्यो भन्ने सजीव दृष्टान्त कवितामा रहेको छ ।

भोक, अभाव र गरिबी झेलेका सानो कान्छो जस्ता पात्रहरू भोक, अभाव र गरिबी टार्नकै निम्ति रातदिन श्रममा घोटिनु पर्ने, जति श्रम गरे पनि श्रमको उचित मूल्य नपाउने अनि अन्त्यमा केही विकल्प नदेखेर युद्धबाटै समानता ल्याउन सकिन्छ भन्ने सोच राखेर माओवादीलाई स्वतःस्फूर्त ढङ्गमा सहयोग गर्ने गरेको यथार्थ कवितामा व्यक्त छ । यसै गरी यस कविताले माओवादी नेताहरूलाई सानो कान्छो जस्ताको त्याग र बलिदानलाई भुलेर क्षणिक व्यक्तिगत स्वार्थमा नलाग्न आह्वान गरेको छ । नेताहरूले निमुखा जनताको समर्पणलाई बिर्सेर स्वार्थमा लागे योभन्दा ठुलो गद्दारी अर्को नहुने भनी कवितामा सचेत समेत गराइएको छ । कविताको उद्देश्यकै रूपमा ग्रामीण नेपाली समाजको वास्तविक चित्र उतार्दै शासकलाई विकास निर्माणमा सक्रिय बनाउनु, त्यहाँ बसोबास गर्ने गरिब, निमुखा जनताको आर्थिक अवस्था सुधार्न सचेत बनाउनु पनि रहेको छ । यसका साथै माओवादी जन युद्धमा भोका नाङ्गा जनताहरू कसरी युद्धमा सामेल हुन्थे भनी देखाइएको छ ।

दुःखान्तक कथावस्तुका कारण कविताको भाव पक्ष प्रबल बनेको छ । विचार पक्षका दृष्टिमा यसमा माक्र्सवादी मूल विचार प्रस्तुत भएको छ । विकास, समानता, रोजगारी, श्रमको उचित मूल्य स्थापनामा कविताले जोड दिएको छ । विचारका दृष्टिमा कविता प्रगतिवादी रहेको छ ।

८ कथन पद्धति

प्रस्तुत कवितामा वर्णनात्मक कथन पद्धतिको प्रयोग गरिएको छ । कवि स्वयम्को कवितामा भएको उपस्थितिले कविताको कथन पद्धतिलाई थप जीवन्त बनाएको छ । कवि निबद्ध वक्ता प्रढौक्ति कथन ढाँचाले कविताको ओज बढाएको छ । कवि अर्थात् ‘म’ पात्रले ऊ अर्थात् सानो कान्छोको इति वृत्तान्त कवितामा उल्लेख गरेबाट सानो कान्छोको व्यक्तिगत प्रभाव नै कविताको शक्ति हो भन्ने स्पष्ट हुन्छ । कवि भन्छन्ः

                                                                मैले उसलाई माला लगााइ दिएँ

                                                                लाल सलाम गरेँ

                                                                मेरो सानो कान्छोलाई बिदाइ गरेँ

                                                                सयौँ बिछोडको घाउमा अर्को घाउ थपियो

                                                                सानो कान्छो ।

९ बिम्ब विधान

प्रस्तुत कवितामा अन्तर, अन्त्यानुप्रासको प्रयोग भएको छ । साथै कवितामा दृश्य बिम्ब र प्रतीकको पनि प्रयोग गरिएको छ । पुग्यो–डुल्यो, थाहा–थाहा, उसलाई–उसलाई–उसलाई, देखेको छैन–झरेको छैन, आयो ऊ–पुग्यो ऊ–आयो ऊ–छोरो ऊ आदि जस्ता अन्त्यमा आएका समान वर्णले अन्त्यानुप्रासको र्सिजना गरेका छन् ।

कवितामा सानो कान्छो आफैँ माओवादी युद्धकालीन क्रान्तिकारी, उत्पीडित युवाको प्रतिनिधि पात्र हो, जसले तत्कालीन समाज, योद्धा र युद्धको बिम्ब झल्काउँछ । जुम्लाको आर्थिक विपन्नता, सानो कान्छोकी आमाको अकाल मृत्यु, सानो कान्छोको हतियार उठाएर सशस्त्र विद्रोह गर्ने चाह, माओवादी योद्धालाई उसको समर्थन र सहयोग, उसको हत्या जस्ता परिवेश, पात्र र घटनाहरू प्रतिनिधि परिवेश, पात्र र घटनाहरू हुन् । कविताले प्रतीकात्मक ढङ्गले माओवादी नेताहरू र शासक वर्गलाई विपन्न भेग र त्यहाँका जनताप्रति उत्तरदायी हुन अनुरोध गरेको छ ।

१० भाषाशैली

प्रस्तुत कवितामा सरल, सहज र सरस भाषाको प्रयोग गरिएको छ । कविताको भाषा गद्य लयात्मक रहेको छ । आत्मपरक शैली र वर्णनात्मक शैली अपनाइएकाले कविताको प्रस्तुति शैली विशिष्ट बन्न पुगेको छ । कवितामा ओखती, चिलगाडी, भरुवा, आङ, टुहुँरो, आदि जस्ता झर्रा शब्दहरू प्रयोग भएका छन् । कवितामा एक मात्र अङ्ग्रेजी आगन्तुक शब्दको रूपमा बोर्ड प्रयोग भएको छ । कविको निजत्व भावको भावले भाषालाई अझ उत्कृष्टता प्रदान गरेको देखिन्छ । उदाहरणको रूपमा हेरौँ :

                                                भरुवा नआए के भो त ?

                                                झन्डा त आयो

                                                पुनः सानो कान्छोले झन्डा समात्यो

                                                जुलुसमा लाम लाग्यो

                                                स्वायत्त कर्णाली प्रदेशको बोर्ड टाँस्न भर्‍याङ चढ्यो

                                                तर चढ्नु अघि नै ऊ ढल्यो ।

११ निष्कर्ष

कवि मणि थापाको ‘सानो कान्छो’कविता कर्णाली राष्ट्रिय मासिकको २०७३ साल वैशाख अङ्कमा प्रकाशित कविता हो । यो कविता हरि बहादुर कुँवरको सम्झनामा मिति २०७२ भदौ १२ गते शनिबार रचिएको कविता हो । यो कवितामा निशस्त्र आन्दोलनका क्रममा कर्णालीका गाउँबस्तीमा स्वयात्त कर्णालीको बोर्ड टाँस्न लाग्दा राज्य पक्षबाट मारिएको सानो कान्छो पात्रको दुःखद अन्त्यको मार्मिक चित्र उतारिएको छ । माओवादी जन युद्धको विषय वस्तु भएको यस कवितामा जम्मा साठी हरफ छन् । कविता गद्य लयमा रहेको छ । दुःखान्तक कथावस्तुका कारण कविताको भाव पक्ष प्रबल बनाएको छ । विचार पक्षका दृष्टिमा यसमा माक्र्सवादी, प्रगतिवादी मूल विचार प्रस्तुत भएको छ । विकास, समानता, रोजगारी, श्रमको उचित मूल्य स्थापनामा कविताले जोड दिएको छ । कवि निबद्ध वक्ता प्रढौक्ति कथन ढाँचाले कविताको ओज बढाएको छ । कविताले प्रतीकात्मक ढङ्गले माओवादी नेताहरू र शासक वर्गलाई विपन्न भेग र त्यहाँका जनताप्रति उत्तरदायी हुन अनुरोध गरेको छ । कवितामा सरल, सहज र सरस भाषाको प्रयोग गरिएको छ । कविताको भाषा गद्य लयात्मक रहेको छ । आत्मपरक शैली र वर्णनात्मक शैली अपनाइएकाले कविताको प्रस्तुति शैली विशिष्ट बन्न पुगेको छ ।

सन्दर्भ सामग्री सूची

गौतम, देवी (२०४९) प्रगतिवादी परम्परा र मान्यता, काठमाडौँ : मुना गौतम ।

गौतम, लक्ष्मण प्रसाद (२०६६) समकालीन नेपाली कविताका प्रवृत्ति, काठमाडौँ : पैरवी प्रकाशन ।

चैतन्य (२०६४) मार्क्सवादी कला दृष्टि र समीक्षा (दो.सं.), काठमाडौँ : ऐरावती प्रकाशन ।

त्रिपाठी, वासुदेव र अरू (२०६०) नेपाली कविता भाग–४ (चौँ.सं.), ललितपुर : साझा प्रकाशन ।

थापा, मणि (२०७३) सानो कान्छो, कर्णाली (वर्ष ६, अङ्क १, २०७३ वैशाख) : पृ.४२ ।

पाण्डेय, ताराकान्त (२०५६) प्रगतिवाद र नेपाली कविता, काठमाडौँ : स्वयम् ।

भण्डारी, डा. जगदीश चन्द्र (२०५५) प्रगतिवाद नेपाली कविता रेखाङ्कन र विश्लेषण, काठमाडौँ : मुन्नी भण्डारी ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी