विपुल सिजापति नेपाली साहित्यमा एक सक्रिय नाम हो । गजलका साथै यिनको आख्यानमा पनि विशेष पकड छ । २०७० सालमा “कास्कोल” कथा सङ्ग्रह प्रकाशित गराइसकेका सिजापतिको हालै बजारमा उपन्यास देखा परेको छ “मान्छे भएर मरेको मान्छे”।
आख्यान विधा अन्तर्गतको उपविधा भएर आएको उपन्यास सधैँ साहित्यमा आकर्षक विधाको रूपमा रहिआएको भएता पनि उपन्यास लेख्न अध्ययन, अनुसन्धान, धैर्यता, बिचार र कल्पनाशीलताको दह्रो अनुपस्थितिको अति आवश्यकता हुनुका साथै बजारको माग अनुसरा लेख्नु पनि चुनैतीको कुरा हो । यही चुनौतीलाई स्वीकार गर्दै विपुल सिजापतिले उपन्यास विधामा कलम चलाएका छन् ।
शब्दार्थ प्रकाशनद्वारा प्रकाशित “मान्छे भएर मरेको मान्छे” नियात्रा ढङ्गमा लेखिएको एक सामाजिक यथार्थवादी उपन्यास हो । नेपाली मूलको अमेरिकी नागरिक साङदो लामालाई सेनाबाट स्वैच्छिक अवकास लिएर पथप्रदर्शकको कार्य गर्ने दिव्य घलेको काठमाडौँबाट मनाङसम्मको संयुक्त यात्राको क्रममा आफ्नो जीवनको कथा भन्ने क्रममा गरिएको वार्तालापको कथा हो ।
यस क्रममा यिनीहरूको यात्रावीच नै फ्ल्यासब्याकमा माओवादी जनयुद्धको बेला कारागारभित्रका कठोर क्षणहरूका दृश्यहरू छन् ।
१८ खण्ड भएको उपन्यासमा एक खण्ड माओवादीको समयको कारागारको कथा छ भने अर्कोमा साङदो र दिव्यको मनाङ यात्राको कथा, यही प्रस्तुतिमा पढ्दै जाँदा पाठकहरूले झ्वाँइंखट्टे के हो थाहा पाउँछन्, हनी हन्टर्सलाई मह निकाल्न कति गाह्रो हुन्छ जानकारी पाउँछन्, मनाङ जिल्लामा के कस्ता विचित्रताहरू छन्, शेर्पाहरू किन दौडन सक्दैनन्, नेग्रोहरू किन हिमाल चढ्न सक्दैनन् आदि धेरै कुराको जानकारी हुन्छ।
विभिन्न रोचक जानकारीका साथै बौद्धिक तर्कले भरिएको उपन्यासको मूल विषय भनेको एक अति नै पिछडिएको कन्दराको आफूलाई मान्छे नठान्ने युवकले कसरी संगातिको असरले आफू मान्छे भएको अनुभूत गर्छ भन्ने कौतुहलपूर्ण कथा रहेको छ ।
उपन्यासको कथामा नयाँपन र सशक्तता छ, तर्क, पूर्वीय दर्शन र विचारहरूको उत्कृष्ट प्रस्तुति र तालमेलले पुस्तकलाई पठनिय बनाएको छ । यस आधारमा “मान्छे भएर मरेको मान्छे” उपन्यासलाई यथार्थवादी सामाजिक उपन्यास या विचारहरूको आधिक्यताले विचारप्रधान, जानकारीमूलक उपन्यास मान्न सकिन्छ ।