विषय प्रवेश
कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित विश्वविख्यात कम्युनिस्ट घोषणापत्रको प्रकाशन भएको ठिक १०१ वर्षपछि र महान्् पेरिस कम्युनको निर्माण भएको ठिक ७८ वर्षपछि अनि महान्् सोभियत अक्टुबर समाजवादी क्रान्ति सम्पन्न भएको ठिक ३२ वर्षपछि महान्् चिनियाँ नयाँ जनवादी क्रान्ति विजयको अन्तिम मोडमा पुगिरहेको अवस्थामा २००६ साल बैशाख १० गते (सन् १९४९ अप्रिल २२ तारिख) का दिन भारतको कोलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । पुष्पलालको पहलकदमी र नेतृत्वमा नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द बैद्य र नारायणविलास जोशी समेतको संलग्नतामा नेपाल कम्युनिस्ट एसियाली देशका कम्युनिस्ट पार्टीहरूमा सबभन्दा कान्छो पार्टीको रूपमा गठन भएको थियो । यसैबेला केन्द्रीय सङ्गठन समिति बन्यो र महासचिव कमरेड पुष्पलाललाई बनाइयो ।
नेपाल कम्युनिस्ट पार्टीले २००६ साल १२ बैशाखमा जनताका नाममा एउटा अपिल प्रकाशित ग¥यो । राणा शासनका विरुद्ध पूर्ण नागरिक स्वतन्त्रताका लागि लड्न र त्यसका निम्ति स्थानीय रूपमा विभिन्न मोर्चा समितिहरू बनाउन उक्त अपिलद्वारा जनतासँग अनुरोध गरिएको थियो । सामन्तवाद तथा साम्राज्यवादका विरुद्ध सङ्घर्षका बिचबाट पूर्ण नागरिक स्वतन्त्रता हासिल गरी समाजवाद र साम्यवादमा जाने लक्ष्य उद्घोष गरिएको थियो । त्यतिबेला अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको नेपालमा पार्टीको मुल नीति र कार्यक्रम अर्थात् राजनीतिक कार्यदिशा सर्वहारावर्गको नेतृत्वमा सामन्तवाद, साम्राज्यवाद र विस्तारवादका विरुद्ध आम जनसमुदायको एकताद्वारा जनवादी क्रान्ति सम्पन्न गर्ने मान्यतामा आधारित थियो । पार्टीले नयाँ जनवादी क्रान्तिको स्पष्ट खाका कोरेको पनि थियो । स्थापनाकालमै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो लक्ष्य र उद्देश्यलाई स्पष्टताका साथ अघि सारेको थियो ।
इतिहास सम्बन्धी टिप्पणी
इतिहास तथ्यहरूद्वारा निर्माण हुने भएकोले यो निर्मम हुन्छ र त्यसलाई तोडमरोड गर्न मिल्दैन । त्यसको समीक्षा, संश्लेषण र सिंहावलोकन मात्र गर्न सकिन्छ । त्यसकै आधारमा त्यसबाट सकारात्मक र नकारात्मक शिक्षा ग्रहण गरेर अगाडि बढ्न प्रेरित गर्दछ । नेपाली कम्युनिस्ट आन्दोलनको ६६ वर्षको ज्यादै जटिल र अत्यन्तै संवेदनशील विषय बन्यो ।
कम्युनिस्ट आन्दोलनको इतिहास जनआन्दोलन, वर्गसङ्घर्ष र दुईलाइन सङ्घर्ष वा विचारधारात्मक अन्तर्सङ्घर्षका जटिल सजीव बाङ्गाटिङ्गा मोडहरू र आरोह अवरोहका परिघटनाहरूले भरिएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको अध्ययन गर्नेबारे अनेकौँ विवादहरू पाइन्छन् । यो आन्दोलनका कैयाँै घटकहरू वा नेताहरूले इतिहासलाई आफ्नो पक्षमा देखाउनका लागि विभिन्न रूपमा तोडमोड तथा अपव्याख्या गर्दै आएका छन् । इतिहासलाई मनोगतवादी रूपमा लेख्ने र व्याख्या गर्ने गरेका छन् । नेपाली कम्युनिस्ट आन्दोलनको समग्र समीक्षा, संश्लेषण र सिंहावलोकन गर्नेक्रममा यी तमाम कुराहरूप्रति सतर्क रहन जरुरी छ । माक्र्सवादको मुल सिद्धान्त र क्रान्तिकारी सामाजिक व्यवहार अर्थात् विचारधारात्मक, राजनीति तथा फौजी कार्यदिशालाई मापदण्ड बनाई नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको अध्ययन गर्नु यसको समीक्षा, संश्लेषण र सिंद्धावलोकन गर्नु उपयुक्त हुन्छ ।
विचारधारात्मक प्रश्न
कमरेड माओत्सेतुङकै शब्दमा हरेक कुराको निर्धारण सही विचारले मात्र गर्दछ । कम्युनिस्ट पार्टी सर्वहारावर्गको अग्रदस्ता हो । नेपाल कम्युनिस्ट पार्टी नेपाली सर्वहारावर्गको प्रतिपादन पश्चात् माक्र्सवाद–लेनिनवाद र माओवादको मार्गदर्शक सिद्धान्त र पथप्रदर्शक सिद्धान्तबाट निर्देशित हुँदै आएको छ । माक्र्सवाद विश्व सर्वहारावर्गको मुक्तिको वैज्ञानिक र क्रान्तिकारी मार्गदर्शक सिद्धान्त हो । माक्र्सवादका प्रणेता कार्ल माक्र्स (सन् १८१८–१८८३) र फ्रेडरिक एङ्गेल्स (सन् १८२०–१८९५) हुनुहुन्छ । माक्र्सवादका तीन सङ्घटक अङ्ग छन् । ती हुन्– दर्शन, राजनीतिक अर्थतन्त्र र वैज्ञानिक समाजवाद । माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सिद्धान्त भएकोले यसले उत्पीडित जनसमुदायका साथै सिङ्गो मानवजातिलाई मुक्ति प्रदान गर्दछ । माक्र्सवादको अभीष्ट साम्यवादी समाजको स्थापना हो । माक्र्स र एङ्गेल्सले सर्वहारावर्गको राजनीतिक प्रतिनिधिका रूपमा कम्युनिस्ट पार्टीको निर्माण अनिवार्य रूपमा आवश्यक भएको र यसको समग्र कार्यदिशाका रूपमा सन् १८४८ फेबु्रअरीमा कम्युनिस्ट पार्टीको घोषणापत्रको रचना गर्नुभयो । माक्र्सवादको सैद्धान्तिक ग्रन्थ यही नै हो ।
माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मुल्यको सिद्धान्त, वर्गसङ्घर्ष तथा इतिहासमा बल प्रयोगको भुमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् । प्रकृति, समाज, राज्यव्यवस्था आदिका बारेमा कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले महान्् खोज र प्रयोगद्वारा निकाल्नुभएको वैज्ञानिक तथा क्रान्तिकारी दर्शन, सिद्धान्त र विचारलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले पुँजीपतिवर्गको राज्यव्यवस्थालाई ध्वस्त पारी त्यसको ठाउँमा सर्वहारावर्गको राज्यव्यवस्थालाई स्थापना गर्ने सही क्रान्तिकारी बाटो देखाउँछ । माक्र्सवादको परिमार्जन र विकासका क्रममा लेनिनवाद र माओवादमा गुणात्मक रूपले विकास भएको छ ।
साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा लेनिन (सन् १८७०–१९२४) ले माक्र्सवादलाई विकसित तुल्याउनु भयो र लेनिनवादको जन्म भयो । माक्र्सवादको गुणात्मक विकासको दोस्रोे चरण लेनिनवाद हो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु उत्पादक शक्ति सर्वहारा आन्दोलन तथा ज्ञान विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यसप्रकारको नयाँ परिस्थिति अनुरूप माक्र्सवादलाई नयाँ उचाइमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बिचबाट लेनिनवाद जन्मियो । यसैप्रक्रियामा माओत्सेतुङ (१८९३–१९७६) ले माक्र्सवाद–लेनिनवादलाई विकसित तुल्याउनुभयो र माओवाद जन्मियो । माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । सामन्तवादी–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त, अविकसित देशहरूका क्रान्तिका समस्याहरूको समाधानका लागि समाजवादी समाजका अन्तरविरोधहरूको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरुद्धको लडाइँँ लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद–लेनिनवाद–माओवादको तेस्रो, नयाँ र गुणात्मक उचाइमा पु¥याउने काम भयो । यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिङ्गो अभेद्य एकाइका रूपमा माक्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ । अतः माक्र्सवाद–लेनिनवाद–माओवाद नेपाली सर्वहारावर्गको मार्गदर्शक सिद्धान्त बनेको छ । एकीकृत नेकपा (माओवादी) विश्व सर्वहारावर्गको एक टुकडी भएकोले माक्र्सवाद–लेनिनवाद–माओवाद मार्गदर्शक सिद्धान्त र पथप्रदर्शक सिद्धान्त हो । यो सिद्धान्तबाट यो पार्टी सञ्चालित हुँदै आएको छ । मालेमावादको मार्ग निर्देशनविना एमाओवादी पार्टी क्रान्तिकारी कम्युनिस्ट बनिरहन सक्तैन ।
नेकपाको विकास प्रक्रिया
आज नेपाली कम्युनिस्ट आन्दोलनले ६६ वर्ष पार गरिसकेको छ । यति लामो ऐतिहासिक अवधिमा यो आन्दोलनभित्र वर्गसङ्घर्ष र दुईलाइन सङ्घर्ष÷विचारधारात्मक अन्तर्सङ्घर्षका अनेकाँै जटिल, बाङ्गाटिङ्गा र कहालीलाग्दा घुम्तीहरू रहेका छन् । यो आन्दोलन लामो समय पहिलेदेखि अनेकौँ समुह–उपसमुहहरूमा विभाजित रहँदै आएको छ । सारमा यो आन्दोलनभित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्पर विरोधी धाराकै द्वन्द्व प्रमुख बनेर आयो ।
आज नेपाली कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थी संशोधनवादी–सुधारवादी धारा जो नेकपा एमालेले नेतृत्व गर्दै आएको छ । आफुलाई विजातीय कित्तामा सामेल गर्दै दक्षिणपन्थी एवम् आधुनिक संशोधनवादी धारामा गुणात्मक फड्को हान्न पुगेको छ भने यसको विपरीत नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा जो एकीकृत नेकपा माओवादीले नेतृत्व गर्दै आएको छ । आज माक्र्सवाद–लेनिनवाद–माओवादका रूपमा गुणात्मक ढङ्गले विकसित हुँदै दस बर्से सशस्त्र जनयुद्ध र शान्ति प्रक्रिया हुँदै संविधानसभाको निर्वाचन र त्यसको गठन मार्फत् सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको घोषणा समेत गरेर यहाँसम्म आइपुगेको छ । अहिले सामन्तवाद र साम्राज्यवाद विरोधी सारतत्व भएको जनताको सङ्घीय गणतन्त्रात्मक संविधान निर्माण गरेर नयाँ जनवादी क्रान्तिलाई अन्तिम विजयमा पु¥याउन अगाडि बढ्ने, यदि यो कार्यमा देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूबाट षड्यन्त्र भएमा जनविद्रोह मार्फत् नेपाली क्रान्ति सम्पन्न गर्ने महान्् र जटिल प्रक्रियामा फड्को मार्ने स्तरमा पुगेको छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको यो द्वन्द्ववादलाई क्रान्तिकारीहरूले अत्यधिक गहिराइका साथ हृदयङ्गम गर्न जरुरी छ ।
नेकपाका प्रमुख मोडहरू
नेपाल कम्युनिस्ट पार्टीको ६६ वर्षको लामो इतिहास अनेकौँ बाङ्गाटिङ्गा मोडहरूको बिचबाट विकसित हुँदै अगाडि बढिरहेको छ । विचारधारात्मक तथा राजनीतिक कार्यदिशा र आन्दोलनको अवस्थालाई मुल आधार बनाउँदै नेपाल कम्युनिस्ट पार्टीले पार गर्दै आएको विविध मोडहरूको बेग्लाबेग्लै रूपमा अध्ययन, विश्लेषण र समीक्षा गर्न आवश्यक छ ।
क. पार्टी स्थापनाको मोड (२००६–२००८)
विश्वका विभिन्न देशहरूमा भएका पुँजीवादी जनवादी क्रान्ति, सोभियत रूसमा सम्पन्न महान्् अक्टुबर समाजवादी क्रान्ति, महान्् चिनियाँ नयाँ जनवादी क्रान्ति, भारतको तेलङ्गना सशस्त्र सङ्घर्ष तथा भारतकै अङ्ग्रेज साम्राज्यवाद विरोधी राष्ट्रिय मुक्ति आन्दोलनको प्रभाव र आफ्नै देश नेपालमा राणा शासन विरोधी आन्दोलनको पृष्ठभूमिमा नेपालमा माक्र्सवादको प्रवेश भएको थियो । ५ अप्रिल १९४९ मा कमरेड पुष्पलालद्वारा नेपाली भाषामा अनुदित विश्व प्रसिद्ध कम्युनिस्ट पार्टीको घोषणापत्र प्रकाशित भयो । यो प्रक्रियाले नेकपाको स्थापनाका लागि कोशेढुङ्गाको काम ग¥यो । त्यो प्रसङ्ग र पृष्ठभूमिमा महान्् लेनिनको जन्मजयन्तीको अवसर पारेर भारतको पश्चिम बङ्गालको कलकत्तामा २००६ साल बैशाख १० गते (सन् १९४९ अप्रिल २२ तारिख) का दिन क. पुष्पलाल श्रेष्ठ, क. निरन्जन गोविन्द बैद्य, क. नारायण बिलास जोशी र क. नरबहादुर कर्मचार्यद्वारा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । यसैबेला केन्द्रीय सङ्गठन समिति बन्यो र महासचिव क. पुष्पलाललाई बनाइयो ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना हुनु एउटा युगान्तकारी घटना थियो किनकि त्यतिबेला नेपालमा स्थानीय र राष्ट्रियस्तरका विभिन्न रङका राजनीतिक दलहरू गठन त भइसकेका थिए तर पनि कुनै पनि राजनीतिक दलसँग एक वा अर्को रूपमा आंशिक लक्ष्यहरू भए तापनि नेपाली समाजलाई राजनीतिक आर्थिक र सांस्कृतिक रूपले कसरी क्रान्तिकारी ढङ्गले रूपान्तरित गर्ने भन्ने स्पष्ट लक्ष्य थिएन । नेपाली जनता लामो समयदेखि सामन्तवाद, साम्राज्यवाद र दलाल नोकरशाही पुँजीवादको शोषण र उत्पीडनमा परेका थिए । त्यसका विरुद्ध सङ्घर्ष गर्दै आएका थिए र उनीहरू त्यसबाट मुक्ति पाउन चाहन्थे । जनता र राष्ट्रका यी चाहनाहरूलाई अभिव्यक्ति दिने कुनै राजनीतिक दल मुलुकमा थिएन । २००५ सालमा गठन भएको नेपाली काङ्ग्रेसले पनि शासकवर्ग र अन्तरर्राष्ट्रिय पुँजीवादसँग सम्झौता गर्ने, घुँडा टेक्ने र जनताका हितहरूलाई लत्याइदिने लक्ष्य देखाउन थालेको थियो, जसले गर्दा मुलुकमा एउटा सशक्त र प्रभावकारी क्रान्तिकारी पार्टी निर्माण गर्नु आवश्यक थियो । यही आवश्यकता पुरा गर्ने उद्देश्यका साथ नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । स्थापनादेखि नै नेपाल कम्युनिस्ट पार्टीले न्यूनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति र अधिकतम कार्यक्रम समाजवाद र साम्यवाद राखेको थियो । यो नै सही थियो ।
ख. एकीकृत पार्टी मोड (दक्षिणपन्थी संशोधनवादी धाराको विकास सहित) : २००८–२०१९
६२ वर्षको लामो इतिहासमा नेपाली कम्युनिस्ट आन्दोलनले विभिन्न मोडहरू पार गर्दै यहाँसम्म आइपुगेको छ । २००६ सालमा नेकपाको स्थापना भयो । २००८ सालको वरिपरिको अवधिलाई माथि पनि उल्लेख गरिएको छ, त्यो अवधि पार्टी स्थापना र नयाँ व्यवस्थापनकै अवधिको रूपमा लिन सकिन्छ । यहाँ २००८ सालदेखिको अवधि उल्लेख गर्न खोजिए पनि पार्टी स्थापनाकालदेखि तेस्रो महाधिवेशन २०१९ साल बैशाखसम्मको अवधिलाई नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा दोस्रो मोडको रूपमा लिन सकिन्छ । यो मोडमा पार्टीका तीनवटा महाधिवेशनहरू सम्पन्न भएका छन् र तेस्रो महाधिवेशनसम्म आउँदा दोस्रो मोड समाप्त हुन्छ ।
२००८ साल असोज ११–१६ मा भारतको कलकत्तामा पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनमा अन्तरसम्बन्धित जनताको जनवाद, जातीय आत्मनिर्णयको अधिकार, जमिन जोत्नेको नारा, राष्ट्रिय अर्थतन्त्र, जनवादी संस्कृति, राष्ट्रिय जनतान्त्रिक संयुक्त मोर्चा लगायत कमरेड पुष्पलालद्वारा प्रस्तुत राजनीतिक कार्यदिशा पारित गरियो । यो समग्र कार्यनीतिक कार्यदिशा तत्कालीन अवस्थामा नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्नका निम्ति वस्तुवादी अर्थात्् माक्र्सवादी–लेनिनवादी दृष्टिकोणमा आधारित थियो र पार्टीले सही लाइन पकडेको थियो ।
त्यो सम्मेलनले त्रिपक्षीय राष्ट्रघाती दिल्ली सम्झौताको विरोध ग¥यो र अधुरो ‘क्रान्ति’ पुरा गर्ने कार्यनीति तय भयो । २००८ सालमा नै केआईसिह विद्रोह भयो । यो विद्रोहमा नेकपाको संलग्नता रहेको आरोप लगाउँदै तत्कालीन नेपाली काङ्ग्रेसको मातृकाप्रसाद कोइरालाको सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगायो र पाँच वर्षसम्म नेपाल कम्युनिस्ट पार्टी भूमिगत रह्यो ।
२०१० साल माघ १३–१७ मा पाटनको ग्वाहालमा भूमिगत रूपमा नेपाल कम्युनिस्ट पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । त्यो महाधिवेशनले मनमोहन अधिकारीलाई महासचिवमा निर्वाचित ग¥यो । त्यो महाधिवेशनले कुनै नयाँपन ल्याउन सकेन र पार्टीको दोस्रोे महाधिवेशन काठमाण्डौमा खुल्ला वातावरणमा २०१४ साल जेठमा सम्पन्न भयो । त्यो महाधिवेशनले जनवादी कार्यक्रमको रणनीति र गणतन्त्र तथा संविधानसभा चुनावको कार्यनीति पारित ग¥यो । दोस्रोे महाधिवेशनको विडम्बना के रह्यो भने गणतन्त्र विरोधी डा. केशरजङ्ग राममाझीलाई पार्टीको महासचिव निर्वाचित ग¥यो ।
२००७ सालमा घोषित संविधानसभाको निर्वाचन राजा र काङ्ग्रेसका कारणले गरिएन । राजालाई यथावतै काममै राखी नाम मात्रको संसद स्वीकार गरियो । २०१५ सालमा संसदको निर्वाचन सम्पन्न भयो । त्यसमा नेपाली काङ्ग्रेसले अत्यधिक बहुमत ल्यायो । नेपाल कम्युनिस्ट पार्टीले चार स्थान मात्र प्राप्त ग¥यो ।
२००७ सालदेखिपछि पार्टीले अनेकौँ सङ्घर्षहरू चलायो । यो सन्दर्भमा त्रिपक्षीय दिल्ली सम्झौताको विरोध, बारा, पर्सा, रौतहट लगायत पूर्वी तराईका विभिन्न जिल्लाहरूमा जमिनदार वर्गका विरुद्ध सशक्त किसान आन्दोलन, भारतसँग गरिएका कोशी–गण्डकी सम्झौताको विरोध र संविधानसभाको निर्वाचनका लागि उठाएको आवाज लगायतका सङ्घर्षहरू उल्लेखनीय रहेका छन् ।
२००७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रद्वारा फौजीकाण्ड घटाएर बहुदलीय व्यवस्थालाई अपदस्त गरेर निरङ्कुशतन्त्र चलाउन थालेपछि भारतको दरभङ्गामा २०१७ फागुनमा १ महिनासम्म पार्टीको प्लेनम बस्यो । सो प्लेनममा सर्वसत्तासम्पन्न संसदको स्थापना, विघटित संसदको पुनःस्थापना र संविधानसभा जस्ता तीन कार्यनीतिक प्रस्ताव प्रस्तुत गरिए र दोस्रोे प्रस्तावमा रहेको विघटित संसदको पुनःस्थापना नामक प्रस्ताव पारित भयो ।
पार्टीको तेस्रो महाधिवेशन २०१९ साल बैशाख ४ –१५ भारतको बनारसमा सम्पन्न भयो । यसमा पार्टीले पहिलेदेखि निर्णय गर्दै आएको जनताको जनवादी कार्यक्रको साटो राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पारित ग¥यो । कार्यनीतिक रूपमा सर्वशक्ति सम्पन्न सार्वभौम संसद सहितको स्थापना अङ्गीकार गरी किटान भयो । त्यो महाधिवेशनले तुलसीलाल अमात्यलाई महासचिवमा निर्वाचित ग¥यो । राजावादी भासमा फस्न पुगेका डा. केशरजङ्ग रायमाझीलाई अनुशासनको कार्बाही गरी पार्टीबाट निकालियो तर उनले राजावादी गुट खडा गरे ।
२००६ सालदेखि २०१९ सम्म आउँदा कम्युनिस्ट पार्टीमा दुईलाइन सङ्घर्ष तीव्र बन्यो । यो सङ्घर्षमा मुख्यत पहिले महाधिवेशनदेखि तेस्रो महाधिवेशनसम्म निकै चर्केर गयो । २००८ सालमा सम्पन्न पहिले ऐतिहासिक सम्मेलनबाट पारित कैयौँ मान्यताहरूमाथि संशोधन गरिएका थिए । २०१२ सालमा २००८ देखि सरकारद्वारा लगाइँदै आएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा गम्भीर बहस चल्यो । पार्टीलाई वैधानिक बनाउने नाममा राजाको वैधानिक नायकत्व र समाजवादमा शान्तिपूर्ण सङ्क्रमणको नीति अङ्गीकार गरियो । नेकपाभित्र खु्रश्चेभी नवसंशोधनवाद प्रवेश थियो । २०१३ बैशाख ३ गते तत्कालीन महासचिव मनमोहन अधिकारीद्वारा राजाको वैधानिक परिधिभित्र रही शान्तिपूर्ण तरिकाले समाजवादको स्थापना गर्ने सकिनेमा आफ्नो विश्वास प्रतिबद्धता प्रकट गर्दै त्यसैलाई आफ्नो नीति घोषित गर्ने वचनबद्धताका साथ सरकारलाई पत्र पठाइयो र प्रेस विज्ञप्ति पनि प्रकाशित गरियो । सरकारको विज्ञप्तिमा भनिएको छ ः ‘नेपाल कम्युस्टि पार्टीले आफुमाथि लागेको प्रतिबन्ध हटोस् भन्ने अपिल सरकारसँग गरेको र हिजो सरकारको छेउ प्रतिनिधिहरू पठाई आफ्नो नीति स्पस्ट गरेकोले आजदेखि कम्युनिस्ट पार्टीबाट सरकारको प्रतिबन्ध हटाइएको छ ।’ आफ्नो नीति स्पष्ट गर्दै पार्टीले भनेको छ कि ‘समाजवाद शान्तिपूर्ण तरिकाले स्थापना गर्न सकिन्छ भन्ने कुरामा कम्युनिस्ट पार्टी विश्वास गर्दछ । कम्युनिस्ट पार्टीले यो स्पष्ट गर्दछ कि राजको वैधानिक नायकत्वमा प्रचलित कानुनको अधिनमा रही आएको समाजवादी सिद्धान्तको प्रचार गर्नेछ ।’ यो वक्तव्य सहित २०१३ बैशाख ४ गते सरकारले २००८ माघ १० गतेदेखि लगाउँदै आएको प्रतिबन्ध ५ वर्षपछि फुकुवा भयो । २०१३ बैशाख ३ गते पार्टीमाथिको प्रतिबन्ध हटाउनका लागि राजाको नायकत्व स्वीकार र शान्तिपूर्ण सङ्क्रमणको बाटोबाट समाजवाद निर्माण गर्ने पत्र सरकारलाई पठाएको दिनदेखि नेपाल कम्युनिस्ट पार्टीलाई विधिवत् रूपमा दक्षिणपन्थी संशोधनवादमा प्रवेश गराइएको थियो ।
नेपाली कम्युनिस्ट पार्टीमाथि लागेको प्रतिबन्ध हटाइएको यो घटना इतिहासमा अत्यन्तै विवादास्पद विषयमा रहेको पाइन्छ । पार्टीभित्र दक्षिणपन्थी सुधारवादी विचारको प्रवेश यहीँबाट सुरु भएको थियो । पार्टीमाथिको प्रतिबन्ध हटेपछि आयोजित केन्द्रीय समितिको प्रथम बैठकमा पोलिटब्युरोले राजाको सम्बन्धमा आफ्नो नीति स्पष्ट पार्दै लिखित रूपमा दिइएको वक्तव्यको तीव्र आलोचना गरी बहुमतद्वारा त्यसलाई अस्वीकार गरेको थियो ।
दोस्रोे महाधिवेशनमा गणतन्त्रवादी र संवैधानिक राजतन्त्रवादी धाराका बिचमा भीषण दुईलाइन सङ्घर्ष देखा प¥यो । तेस्रो महाधिवेशनसम्म आउँदा पार्टीले जनवादी कार्यक्रमलाई परित्याग गरी राष्ट्रिय प्रजातन्त्रको संशोधनवादी कार्यक्रम र तदनुसारको संसदवादी कार्यनीति पारित गरेर पार्टीलाई विसर्जनको डिलमा पु¥याएको थियो ।
ग.पार्टी विभाजनको मोड : २०१९–२०४६
२०१९ सालमा सम्पन्न नेकपाको तेस्रो महाधिवेशनको आसपासदेखि २०४६ सालको जनआन्दोलनसम्मको अवधिलाई नेपाली कम्युनिस्ट आन्दोलनभित्र पार्टी टुटफुट र विभाजनको रूपमा लिइन्छ । तेस्रो महाधिवेशनपछि पार्टी केन्द्रीय समितिभित्र तीव्र विवाद चर्कंदै गयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा रूसी र चिनियाँ कम्युनिस्ट पार्टीभित्र चर्कंदै गएका विवादको असर नेपाली कम्युनिस्ट आन्दोलनभित्र पनि प¥यो । त्यसैप्रक्रियामा तुलसीलालको ‘कुन बाटो’ र पुष्पलालको ‘मुल बाटो’ जस्ता दस्ताबेजहरू खुल्ला रूपमा बाहिर आए । पार्टी केन्द्र नेतृत्वविहीन र विचारविहीन अवस्थामा पुग्यो । पार्टी अस्तव्यस्त र विभाजनको सिकार बन्न पुग्यो र पार्टी फुटेर छरपरस्ट हुन पुग्यो ।
त्यसैपरिस्थितिमा पार्टीमा तीन धाराहरू देखा परे । ती थिए– पुष्पलाल समुह, माले समुह र चौम समुह । नेपाल कम्युनिस्ट विभाजन हुनुको मुख्य कारण तत्कालीन कार्यनीति सम्बन्धी मतभिन्नताहरू थिए । २०१९ सालको तेस्रो महाधिवेशनपछि पार्टी नीतिविहीनताकै कारण छिन्नभिन्न बन्न पुगेको थियो । केन्द्रको विघटनपछि प्रान्तीय र जिल्ला समितिहरूले स्वतन्त्र र समानान्तर पार्टीको रूपमा काम गर्न थाले । त्यही परिवेशमा २०२५ सालमा भारतको गोरखपुरमा तेस्रो राष्ट्रिय सम्मेलन गरेर पुष्पलाल समुह अस्तित्वमा आयो र उक्त सम्मेलनले नयाँ जनवादी कार्यक्रम अङ्गीकार ग¥यो । त्यसले काङ्ग्रेस र कम्युनिस्टहरू बिच एकता कायम गरी निरङ्कुश पञ्चायती शासनका विरुद्ध सङ्घर्ष गर्ने कार्यनीति पारित ग¥यो । साथै, त्यो सम्मेलनले क. पुष्पलाललाई महासचिवमा निर्वाचित ग¥यो ।
२०२८ सालको ऐतिहासिक झापा विद्रोहको प्रक्रियाबाट नेकपा (माले) समुह जन्मियो । त्यसले दक्षिणपन्थी संशोधनवादका विरुद्ध सङ्घर्षको झन्डा उठायो र सशस्त्र सङ्घर्षको प्रक्रियामा अघि बढ्यो । त्यसको नीति ‘एक एरिया एक यूनिट’, ‘एक स्क्वायड र एक एक्सन’ मा आधारित ‘वर्गसत्रु खतम गर’ लाइनमा आधारित थियो । चारु मजुमदारको नेतृत्वमा भारतको नक्सलवाडीहरूको सोचबाट सञ्चालित सशस्त्र किसान विद्रोहबाट प्रभावित चिन्तनमा निम्न पुँजीवादी यान्त्रिकता र वामपन्थी दुस्साहसवादका गम्भीर कमजोरीका बाबजुद झापा सशस्त्र कार्बाही एक यस्तो ऐतिहासिक विद्रोह थियो, जसले जनआन्दोलनको संशोधनवादी धार र राजाको सामन्ती सत्तामा समेत खैलाबैला मच्चियो । सशस्त्र सङ्घर्षको प्रश्न कमसेकम कम्युनिस्ट आन्दोलनमा आम बहसको विषय बनेर गयो । पछि २०३५ सालमा पुगेर नेकपा (माले) बन्यो र सीपी मैनालीलाई संस्थापक महासचिव बनाइयो ।
२०२८ सालमा मोहनविक्रम सिंहद्वारा न्यूक्लिसको निर्माण भयो । न्यूक्लिस हुँदै २०३१ सालमा भारतको अयोध्यामा सम्पन्न चौथो महाधिवेशनको बिचबाट नेकपा (चौम) अगाडि बढ्यो । त्यो महाधिवेशनले ‘देशभक्त र जनतान्त्रिक’ शक्तिहरूको सरकारको कार्यनीति पारित ग¥यो र मोहनविक्रम सिंहलाई महामन्त्री बनाइयो । यी तीनवटै समुहहरू चीनमा माओत्सेतुङको नेतृत्वमा सञ्चालित महान्् सर्वहारा सांस्कृतिक क्रान्तिलाई वैज्ञानिक ऊर्जा मुहान मान्ने गरेको थियो । सैद्धान्तिक तथा राजनीतिक रूपमा हेर्दा यी तीनवटै समुह माक्र्सवाद–लेनिनवाद र माओविचारधारा, नयाँ जनवादी कार्यक्रम तथा सशस्त्र सङ्घर्ष मान्ने समुह नै थिए तर यी समुह बिच एकता हुन नसक्नुमा आन्दोलनभित्र विद्यमान अवसरवादी चिन्तनले काम गरेको थियो ।
यो अतिरिक्त पुष्पलाल समुहबाट अलग भएर मुक्तिमोर्चा, नेमकिपा, सर्वहारावादी श्रमिक सङ्गठन जस्ता उपसमुहहरू बनेका थिए । अर्काेतिर राजावादी रायमाझी समुह पनि कैयौँ चिरामा विभाजित हुँदै गएको थियो । रूस पक्षधर तुलसीलाल समुहले पनि आफ्नो नाम मात्रको अस्तित्व कायम राखेको थियो । यसैप्रक्रियामा नेकपा (माक्र्सवादी) समुह पनि बनेको थियो । यसरी विभाजन भएपछि २०३१ सालयता सशक्त समुहका रूपमा नेकपा सयुक्त (चौम) र नेकपा (माले) नै रहेका थिए ।
९ सेप्टेम्बर १९७६ मा चीनमा माओत्सेतुङको निधन भयो । त्यसपश्चात् अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अध्ययन गर्ने र संशोधनवादको पहिचान गर्ने बारेमा नेकपा संयुक्त चौम र नेकपा (माले) बिच गम्भीर मतभेद रहन गयो । नेकपा संयुक्त चौमले २०२८ सालमा भारतको अयोध्यामा प्लेनम गरी चीनमा पुँजीवाद पुनःस्थापना भएको ठहर ग¥यो र महान्् सर्वहारा सांस्कृतिक क्रान्तिप्रति प्रतिबद्धता जनायो तर नेकपा (माले) यो मान्यताको विरोधमा उत्रियो ।
२०४० सालपछि सुरुमा नेकपा चौथो महाधिवेशन अन्तर्गतका नेकपा (मशाल), नेकपा (मसाल) र नेकपा (चौम) गरी तीन समुहमा विभाजित हुन पुगे । २०४० सालमा सम्पन्न राष्ट्रिय सम्मेलनमा निर्मल लामा सहितका केही नेताहरू पार्टीबाट निष्काशित भए । यो सम्मेलनबाट पार्टीको नाम नेकपा (मशाल) राखियो र चित्रबहादुर केसीलाई जनरल सेक्रेटरीमा निर्वाचित गरियो । निष्काशित पक्षबाट नेकपा (चौम) समुह बनाइयो र निर्मल लामालाई महासचिव बनाइयो । २०४१ सालमा नेकपा (मशाल) को पाँचाँै महाधिवेशन सम्पन्न भयो । यसले क. मोहन बैद्य ‘किरण’ लाई महामन्त्री निर्वाचित ग¥यो । त्यसपश्चात् पार्टीभित्र अन्तर्सङ्घर्ष तीव्र बन्दै गयो र २०४२ सालमा पार्टी पुनः विभाजित भयो । अल्पमत पक्षले नेकपा (मसाल) समुह बनायो र त्यसको महामन्त्रीमा मोहनविक्रम सिंहलाई चयन ग¥यो ।
२०१७ पुस १ गतेदेखि २०४६ सम्मको अवधि राजाको निरङ्कुशतन्त्रमा आधारित पञ्चायती शासनको कालरात्रिको अवधि थियो । यो अवधिमा सुरुमा नेपाली काङ्ग्रेसले निरङ्कुशताका विरुद्ध बन्दुक उठायो । नेकपा (माले) ले पनि (२०२८–२०३७) एक दसकसम्म सशस्त्र सङ्घर्ष चलायो । यो अवधिमा पुष्पलाल समुहद्वारा अर्घाखाँचीको हर्रेबर्रे सहित रुकुम, प्यूठान, गुल्मी लगायत देशका कतिपय भागमा किसान सङ्घर्ष चलायो । नेपालका सुस्ता, महेशपुर क्षेत्रमा भएका भारतीय विस्तारवादी अतिक्रमण र उत्पीडनका विरुद्ध पनि सङ्घर्ष चले । २०३५÷२०३६ सालको विद्यार्थी आन्दोलनको पनि महत्वपूर्ण रह्यो । त्यसले जनमत सङ्ग्रहमा पु¥यायो तर राजतन्त्रले षड्यन्त्रमुलक ढङ्गले पञ्चायतलाई जितायो । २०४२ सालको शिक्षक आन्दोलन र रामराजाप्रसाद सिंहद्वारा घटाइएको बमकाण्ड पनि उल्लेखनीय रहेका छन् । अन्ततः २०४६ को राजतन्त्र विरुद्धको ऐतिहासिक जनआन्दोलन भयो ।
सुरुमा काङ्ग्रेसले पञ्चायती व्यवस्थाको विरोधमा बन्दुक उठाए पनि त्यो प्रभावकारी रहेन । त्यो बेला नेकपा मालेले पनि बन्दुक उठायो । पछि त्यो संशोधनवादमा पतन हुन पुग्यो । २०४६ को संयुक्त जनआन्दोलनमा एकातिर काङ्ग्रेस, माले, माक्र्सवादी सहितको वाममोर्चा र अर्कोतिर मशाल, मसाल, नेकपा संयुक्त, शम्भुराम सहितको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको संलग्नता संयुक्त पहलमा सम्पन्न भएको थियो । २०४६ को जनआन्दोलन नेपालमा पञ्चायती शासनको मात्रै अन्त्य नभएर राजतन्त्रको अन्त्य र गणतन्त्रको दिशामा परिलक्षित थियो तर काङ्ग्रेस र माले सहितको सहमतिमा धोकापूर्ण सम्झौताद्वारा २६ चैत २०४६ टुङ्गोमा पु¥याइयो र नेपाली जनतालाई ठुलो धोका दिइयो । निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य भएर नाम मात्रको बहुदलीय व्यवस्थाको स्थापना हुन पुग्यो ।
घ. पार्टी एकीकरणको मोड : २०४७–२०५१
२०४६ को ऐतिहासिक जनआन्दोलन पश्चात् नेपाली कम्युनिस्ट आन्दोलनभित्र पार्टी एकीकरणको प्रक्रिया सुरु भयो । २०४७ मा मशाल, विद्रोही मसाल, चौम र सर्वहारा श्रमीक सङ्गठन मिली पार्टी एकता संयोजन समिति बन्यो र नेकपा एकताकेन्द्र बन्यो । २०४८ मङ्सिरमा एकता महाधिवेशन सम्पन्न भयो । त्यो महाधिवेशनबाट माक्र्सवाद–लेनिनवाद–माओवाद, नयाँ जनवाद, दीर्घकालीन जनयुद्ध सहितको विचारधारात्मक राजनीतिक फौजी कार्यदिशा पारित भयो । यसले संसदीय चुनावमा भाग लियो र मुलुकको तेस्रो दलको रूपमा स्थापित भयो । अर्कोतिर सशस्त्र सङ्घर्षको तयारीमा पनि लाग्यो । त्यो महाधिवेशनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित ग¥यो ।
अर्कोतिर २०४७ पुस २२ गते नेकपा माले र माक्र्सवादी बिच एकता भएर नेकपा एमाले बनाइयो । यसले २०४९ माघमा पाँचौँ महाधिवेशन ग¥यो र सो महाधिवेशनद्वारा जनताको बहुदलीय जनवाद नामक संशोधनवादी कार्यक्रम पारित गराइयो । त्यो मशाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष र महासचिवमा मदन भण्डारीलाई निर्वाचित ग¥यो । पछि तुलसीलाल समुह पनि एमालेभित्रै समाविष्ट भयो । एमालेले माओविचारधारा, नयाँ जनवाद, सशस्त्र सङ्घर्ष जस्ता मालेमावादी सिद्धान्तलाई परित्याग गरी बहुदलीय जनवादको पुँजीवादी सिद्धान्त, कार्यक्रम र नीति अँगालेर दक्षिणपन्थी संशोधनवादमा पतन हुन पुग्यो ।
ङ. क्रान्तिकारी छलाङको मोड : २०५१–२०६२
२०४६ सालको बहुदलीय व्यवस्थाको पुनःस्थापनायता पनि राष्ट्रियताको रक्षा, जनतन्त्रको स्थापना र जनजीविकाका आधारभूत समस्याहरूको समाधान हुन सकेन । ती समस्याहरू झनै जटिल बन्दै गए । सरकारमा पुगेको नेपाली काङ्ग्रेस पुरानै तरिकाले चल्न थाल्यो र राष्ट्रव्यापी रूपमा काङ्ग्रेसले सर्वसत्तावाद चलाउन थाल्यो । तत्कालीन सरकारले शान्तिपूर्ण जनआन्दोलनमाथि दमन गर्दै लग्यो र काठमाण्डौमा समेत जनतालाई गोलीले भुट्न थाल्यो । रोल्पामा भीषण दमन चलाउँदै रोमियो, अप्रेसन समेत चलाएर निहत्या जनतालाई गोलीले भुट्न थाल्यो । देशमा दमन, उन्पीडन र क्रान्तिकारीहरूलाई मास्ने प्रक्रिया पराकाष्ठामा पु¥याउन थाल्यो र देशमा श्वेतआतङ्क भित्रियो ।
यी घटनाक्रमहरूले क्रान्तिकारीहरूलाई नयाँ ढङ्गले अगाडि बढ्नैपर्ने र सोच्नैपर्ने आवश्यकता पैदा भयो तर सशस्त्र जनयुद्ध गर्ने विषयमा भने नेकपा (एकताकेन्द्र) भित्र मतभेद भयो र २०५१ जेठमा सम्पन्न नेकपा (एकताकेन्द्र) को राष्ट्रिय पार्टीभित्र विभाजन पैदा भयो र पार्टीभित्रका संशोधनवादी बाहिरिए र यता क्रान्तिकारी सशस्त्र जनयुद्धको विचार राख्नेहरूले नेकपा (माओवादी) को गठन गर्न पुगे भने पार्टीबाट अलग्गिएकाहरू नेकपा (एकताकेन्द्र) नै बनाए र संसदीय राजनीतिमा सामेल भए ।
२०५१ चैतमा सम्पन्न नेकपा (एकताकेन्द्र) को तेस्रो विस्तारित बैठकमा एकताकेन्द्र हटाई माओवादी राखियो र नेकपा (माओवादी) को निर्माण भयो । त्यो विस्तारित बैठकले महामन्त्री प्रचण्डद्वारा प्रस्तुत महान्् दस्ताबेज पारित भयो । तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा २०५२ साल फागुन १ गते रोल्पाको होलेरी प्रहरी चौकी, रुकुमको राडीज्यूला प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी र गोरखामा कृषि विकास बैङ्कमाथि एकैसाथ सशस्त्र फौजी आक्रमण गरी प्रतिक्रियावाद र संशोधनवादका विरुद्ध महान्् जनयुद्धको थालनी भयो । त्यो महान्् जनयुद्धको उद्देश्य नेपालमा सर्वहारावर्गको नेतृत्वमा जनवादी गणतन्त्रको स्थापना गरी समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्नु रहेको थियो ।
दस वर्षसम्म सञ्चालित त्यो महान्् जनयुद्धले सिङ्गो देश र विश्वलाई झकझकाएको थियो । त्यो जनयुद्धको प्रक्रियामा छापामार दस्ता, जनमिलिसिया हुँदै २०५८ साल मङ्सिर ८ गते चीनमा माओत्सेतुङको निधनपछि विश्वकम्युनिस्ट आन्दोलनमै सबैभन्दा विशाल जनमुक्ति सेनाको निर्माण गरेको थियो । जनयुद्धकै प्रक्रियामा देशका समस्त ग्रामीण क्षेत्रमा नयाँ जनसत्ता र जनअदालतको निर्माण र परिचालन भएका थिए । जनसरकारहरू समेत निर्माण गरेर समानान्तर सरकार समेत सञ्चालन गरिएको थियो । त्यो प्रक्रियामा नेपाली जनता र जनमुक्ति सेनाले त्याग, बलिदानका अपूर्व कीर्तिमान प्रस्तुत गरेका थिए । जनयुद्धकै क्रममा माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासका बिचबाट प्रचण्डपथको जन्म समेत भएको थियो तर आज त्यो प्रचण्डपथ भ्रष्टपथमा पुगेर पतन हुन पुगेको छ ।
च. विचलनको यात्रा : २०६२ यता
माओवादीको नेतृत्वमा २०६२ को असोज–कात्तिकमा सम्पन्न चुनवाङ बैठकदेखि नै मुल नेतृत्वमा सैद्धान्तिक रूपमा विचलन आएको थियो भन्ने कुरा व्यावहारिक रूपमा पुष्टि हुन आएको छ । १२ बुँदे समझदारीमा निरङ्कुश राजतन्त्रको अन्त्यका लागि मात्र सहमति गर्नु तत्कालीन प्रचण्ड–बाबुरामको मिसन के थियो भन्ने आज प्रस्ट भएको छ । २०६३ कात्तिक २२ गते प्रचण्डहरूले तत्कालीन सात दलसँग जनयुद्धको समाप्तिको घोषणासँगै महान्् जनयुद्धका क्रममा प्राप्त जनसत्ता, जनअदालत, जनकम्युन विनाविकल्प विघटन गर्नु विचलनको यथेष्ट प्रमाण थियो ।
राजतन्त्रको अन्त्यलगत्तै परिवर्तित राजनीतिक शक्ति सन्तुलनका आधारमा तत्कालीन कार्यनीति निक्र्यौल गर्न नसक्नु, पार्टी ठुलो बनाउने नाममा अवसरवादी, भ्रष्ट मानसिकता बोकेकाहरूलाई पार्टीमा हुल्नु जस्ता घटनाक्रमले पनि मुल नेतृत्वको ठुलो वैचारिक विचलन देखा पर्छ । यसै सेरोफेरमा २०६५ मङ्सिरमा सम्पन्न राष्ट्रिय भेलाबाट पारित सामन्तवाद र साम्राज्यवादी विरोधी सारतत्व भएको जनताको सङ्घीय गणतन्त्रात्मक कार्यदिशा कार्यान्वयनको लागि पहलकदमी नलिनु, २०६७ मङ्सिरमा सम्पन्न पालुङटार प्लेनमलगत्तै बसेको केन्द्रीय समिति बैठकबाट पारित विद्रोहको कार्यदिशालाई लत्याएर हिँड्नु जस्ता घटनाक्रम मुख्य नेतृत्वमा देखिएका विचलनका ताजा रूप हुन् ।
पार्टी निर्णय विपरीत सरकारमा जान राष्ट्रघाती ४ बुँदे सम्झौता गर्नु, भारतीय विस्तारवादी शासकहरूसँग राष्ट्रघाती बिप्पा सम्झौता गर्नु, सम्मानजनक सेना समायोजनको विपरीत जनसेनालाई खुलेआम विघटन गर्नु पनि मुल नेतृत्वका आत्मसमर्पणवाद र विचलनका अरू प्रस्ट रूप थिए ।
यस्तो बेला पार्टीभित्र मौलाउँदै आएको विचलन र दक्षिणपन्थी अवसरवादका विरुद्ध पार्टीभित्रैबाट वरिष्ठ उपाध्यक्ष क. किरण र महासचिव बादलद्वारा क्रान्तिकारी विचारको रक्षा गरिरहे । क. किरण र बादलद्वारा यो प्रकारको विचारधारात्मक र वैचारिक सङ्घर्ष नचलाइएको भए एमाओवादी उहिल्यै एमाले बनिसक्ने थियो । अहिले एमाओवादीभित्र क्रान्तिकारी माक्र्सवाद र दक्षिणपन्थी संशोधनवाद बिच भीषण दुईलाइन सङ्घर्ष सञ्चालन चलिरहेको छ ।
इतिहासले सिकाएका पाठहरू
नेपाली कम्युनिस्ट आन्दोलनको लामो इतिहासले नेपालका क्रान्तिकारीहरूलाई केही महत्वपूर्ण पाठहरू सिकाएको छ :
(क) क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्तको आवश्यकता पर्दछ । माओवादीको मार्गदर्शक सिद्धान्त मालेमावाद हो । फेरि सिद्धान्त भएर मात्र पुग्दैन त्यसको रक्षा, प्रयोग र विकास गर्न पनि आवश्यक हुन्छ । यो शिक्षालाई क्रान्तिकारीहरूले हरदम आत्मसात् गरिरहनुपर्दछ ।
(ख) कम्युनिस्ट पार्टीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी अनिवार्य रूपमा आवश्यक हुन्छ । यस्तो पार्टी निर्माण दुईलाइन सङ्घर्षको बिचबाट हुने गर्दछ भन्ने शिक्षा सिङ्गो नेपाली कम्युनस्टि आन्दोलनको सवक हो । ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त अनुसार एकता, सङ्घर्ष, रूपान्तरण, फुटसम्म र पुनः नयाँ आधारमा नयाँ एकताको बिचबाट अगाडि बढ्दै गएको इतिहास छ ।
(ग) क्रान्तिका लागि विचारधारात्मक राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबैथोकको निर्धारण गर्दछ भन्ने मान्यता आम कम्युनिस्टहरूको लागि अपरिहार्य सवाल हुन् । नेपाली कम्युनिस्ट आन्दोलन विभाजन पछाडिको मुल कारण विचारधारात्मक एवम् राजनीतिक कार्यदिशा बिच भिन्न सोचहरू आउनु पनि हो । तेस्रो महाधिवेशन पश्चात् पार्टी विभाजन त्यसैको परिणति थियो । त्यसैले क्रान्तिकारीहरूले सही कार्यदिशा समात्नेतिर लाग्नुपर्दछ ।
(घ) पार्टी विभाजन आउनुका कारण कतिपय अवस्थामा केही जिम्मेवार नेताहरूमा विद्यमान व्यक्तिगत अहम् सङ्कीर्णतावादी चिन्तन, गुटगत स्वार्थ जस्ता कारणले पनि काम गरेका छन् । खासगरी कम्युनिस्ट पार्टीभित्र सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको प्रत्यक्ष वा परोक्ष घुसपैठ हुनुु पनि फुटको एउटा महत्वपूर्ण कारण बन्ने गरेको छ । भविष्यमा पनि यस्ता प्रवृत्तिबाट हामीले पाठ सिक्न जरुरी छ ।
निष्कर्ष
नेपाली कम्युनिस्ट आन्दोलनका ६६ वर्षको लामो इतिहासबाट प्राप्त शिक्षाका आधारमा के निष्कर्षमा पुग्न सकिन्छ भने पार्टीले क्रान्तिका लागि सही क्रान्तिकारी विचारधारात्मक र राजनीतिक तथा फौजी कार्यदिशा सही ढङ्गले निक्र्यौल गर्न सकेन भने पार्टीभित्र दुईलाइन सङ्घर्ष पैदा हुन्छ र यसलाई सही ढङ्गबाट हल गर्न सकिएन भने पार्टी विभाजितसम्म हुन पुग्छ ।
पार्टीभित्र देखा पर्ने अवसरवादी एवम् संशोधनवादीहरूलाई विचारधारात्मक दुईलाइन सङ्घर्षको बिचबाट निस्तेज गरेर क्रान्तिकारी पार्टी निर्माण गरेर क्रान्तिलाई अघि बढाउन सहास त्यो पार्टीभित्रका क्रान्तिकारीहरूको दायित्व हो भन्ने निष्कर्षमा पुग्न सकिन्छ । दुईलाइन सङ्घर्षको बिचबाट मात्र नयाँ ढङ्गको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्न सकिन्छ र क्रान्तिकारीहरूले संशोधनवादी अवसरवादीहरूसँग सम्झौताहीन वैचारिक सङ्घर्ष गरेर मात्र क्रान्तिकारी पार्टी निर्माण गर्न सकिन्छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।
एक कालखण्डमा जनताका बिचमा लोकप्रिय बन्न र स्थापित हुनका लागि अत्यन्तै क्रान्तिकारी बन्ने तर स्थापित भइसकेपछि त्यही नेतृत्वले देश, जनता र क्रान्तिप्रति गद्दारी गर्दै प्रतिक्रान्तिको बाटो पकड्ने प्रवृत्ति हावी हुँदै आएको छ । यसको पछाडिको मुल कारण निम्न पुँजीवादी चिन्तन र अधैर्यताले गर्दा हो ।
नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास जस्तो गहन विषयलाई विस्तृत रूपमा प्रस्तुत गर्ने, यसको समीक्षा र सिंहावलोकन काम ज्यादै जटिल विषय हो यद्यपि यसलाई गम्भीरतापूर्वक लिन सकेमा यसले निश्चित रूपमा नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास तथा समीक्षा गर्न केही जिज्ञासा जागृत गर्नेछ ।
-लेखक क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हुनुहुन्छ ।