— आवरण समय ओढन तत्पर हो या हामी ओढाउँन लालायित ?
— कतै नयाँ गर्ने उत्साहमा या परिवर्तनको चाहनामा समयलाई नयाँ आवरण ओढाउँन उद्दत भएका त हैनौं ?
— शब्दले बेरे पनि, परिभाषामा बाँधे पनि गतिशील समय कहिले बाँधिएको छ र !
— बाँधिएका त हामी छौँ, मृगतृष्णामा ! जो गतिशील समयलाई नयाँ जामा पहिर्याएर नयाँ बनाउँछौं र आफै प्रफुल्ल बन्दछौं ।
— प्रफुल्ल हुन्छौं, लाखौँ लाख हिंडेका धुलौटे गोरेटोमा आफूलाई डोर्याएर ।
— हो, धुलौटे गोरेटो जहाँ लाखौँ पदचिन्हहरु छापिए, मेटिए, छापिए मेटिए अन्ततः बाटो भनेर कहलाईयो ।
— बाटो मतलब …लक्ष निश्चित… आयाम सङ्कुचित… परिणाम पूर्व कल्पित..
— बाटो याने कि … सजिलो सुविधा…. सजिलो सफलता … पुरानो वर्णन …
— बाटो यही मात्र हो त !
— यदि हो भने परिवर्तन किन चाहियो ? नयाँ जामा किन सिलाउनु पर्यो ?
— बाटो यो मात्र हैन भने खै त प्रयत्न नयाँ बाटो बनाउँने !
— पुरानो बाटो जो बुङबुङ्ती धुलो उडाउँछ,
— ती उडेको धुलोमा कयौँ अस्तित्व मिलेका छन् …
— बिना यत्नका अस्तित्व जसले कहिल्यै फर्किएर आफ्ना पदछाप हेरेनन्, हेर्न पाएनन् …
— छाप छोड्न या हेर्न नपाउनुको पछाडिको बाक्लो संकिर्णतामा कहिले आरी चलाउँने ?
— किन नबनाउँने नयाँ बाटो र नहेर्ने नयाँ बाटोमा बनेका आफ्ना पदछापहरु…..!
— पदछापहरु जस्लाई लाखौँले अवश्य पछ्याउनेछन् ……
— विजय पराजय त समयको धुरीमा घुमिरहन्छन् ।
— समयको धुरी चेतन मस्तिष्कले देख्छ र प्रयत्नशील हातहरुले रोक्छ…
— र टिप्दछ, मनले चाहेको फल
— आवश्यकता छ केवल एक दृढसंकल्पको ।
— छरिएर रहेका आत्मबललाई केन्दिकृत गर्नु कुनै ठूलो कार्य होइन ।
— हरेक समय शुभ समय हो ।
— ता पनि हाम्रो खुसीको लागि
— यसै समयलाई शुभ समय मानौं र सुरुवात गरौँ हिँडन…
— नयाँ बाटो ।
नयाँ वर्ष २०७३ को मङ्गलमय शुभ-कामना