माओवाद भित्र विकासवाद ?

माओवाद भित्र विकासवाद ?

  • बुधबार, बैशाख १, २०७३
  • मिर्मिरे अनलाइन

  • 18.6K
    SHARES

 हामी राजनैतिक रुपमा संक्रिण र पुरातन सोचबाट पीडित छौँ त्यसैले राम्रो कुरालाई नराम्रो र नराम्रो कुरालाई राम्रो भनेर लिँडेढिपी गर्न पछि पर्देनौँ । विचार आर्दश र सत्यतालाई गौढमा राखेर चरम व्यक्तिवाद र अहंकारवादबाट हाम्रो राजनैतिक यात्रा तय हुन्छ । गल्ती यहाँ व्यक्तिको होइन यहाँ विधि नै त्यसरी स्थापित भइसकेको छ । हामी आफुलाई हेर्देनौ, आफ्नो हैसियत हेर्देनौ तर गर्वका साथ हामीमा दुनिया बुझेको बुझ्क्कडपन सवार हुन्छ । गल्ती हजार पटक सहि छ भनेर तिमी जिद्धि गर या दुश्प्रचार, सत्यमाथि असत्यको विजय हुँदैन । समाज कल्याणका लागि व्यक्ति पारिवारीक सोचबाट माथि उठ्नुपर्छ, देश विकासका लागि समाज, क्षेत्रीयता, जातियताबाट माथि उठ्नुपर्छ । यहाँ नाम प्रतिष्ठा, सम्पती आर्जनका लागि दिनहुँ नयाँनयाँ विचार जन्मन्छन्, नयाँ नयाँ पार्टी जन्मन्छन् । सबैको उदेश्य व्यक्तिगत लाभ र उन्नतीका लागि केन्द्रीत छ । जनताका छोराछोरीलार्ई राजनीतिको भूत सवार गराएर आफ्ना छोराछोरीलाई उन्नती र प्रगतीका लागि विदेश अध्ययन गराउने र अन्ततः पुन नेपाली राजनीतिको सम्वाहक र आफ्नो पार्टीको उत्तराधिकारी बनाउने संक्रिण चिन्तन त्याग्न सक्नु सबैभन्दा ठूलो कुरा हो ।
इतिहासलाई हामी आफ्नो आफ्नै प्रकारबाट व्याख्या विश्लेषण गर्ने गर्दछौँ तर इतिहासले बोकेको सत्यतालाई विर्सन सक्ने शाहस हामी कोही कसैसँग छैन । समाजको विकासक्रमलाई देङ सियाओ पिङले नबुझेको भए विश्वको सर्वशक्तिमान राष्ट्रको रुपमा पहिचान चीनले बनाउन सक्दैनथ्यो होला । “दिमागलाई स्वतन्त्र छोडिदेउ, वास्तविकता र प्रयोगबाट सत्यताको खोज नै सत्यताको एकमात्र आधार हो” भन्ने नाराका साथ .आर्थिक विकासलाई नै एकमात्र ध्येयका रुपमा ग्रहण गरेका पिङको आदर्श र व्यवहार आजका परिवर्तनकारीका लागि ग्रहणयोग्य छ । फेयरम्यान र गोल्डम्यानका अनुसार माओ नेतृत्वको चीनीया क्रान्तिमा धेरै विनाशकारी दृश्यहरु छन् । सन् १९४९ मा २० लाख जमिनदारहरुको ज्यान गएको छ, सन् १९५७÷०५८ मा ५ लाख वौद्धिक मानिसहरुलाई समाजबाट अलग र वहिस्किृत गरिएको अवस्था थियो । लाखौँ कृषकहरु अनिकाल अकाल र कुपोषणका कारणबाट मर्न पुगेको तथ्याङ्क छ । चीनीया सांस्कृतिक क्रान्तिमा पाँच लाख मानिसहरु मारिए करोडौँ मानिसलाई हैरानी दिग्दारी र पिडाबोध गराइयो । सन् १९८९ जुनको क्रान्ति (पिङ)का बेला पुनः ८०० देखि १३०० मानिसले आफ्नो ज्यान गुमाउन पुगे । माओले सुरु गरेको क्रान्ति कहिले नसकिने वर्गसङ्घर्षमा आधारित र विनाशकारी थियो भनेर फेयरम्यान र गोल्डम्यानले नयाँ इतिहास माओपछिको परिवर्तन भन्ने अनुसन्धानमूलक(आलेख) लेखमा उल्लेख गरेका छन् ।

माओको अवशान पश्चात् ( सेप्टेम्बर १९७६) चीन खुला र उदार बजारनीति, स्थायित्वसहित आधुनिकीकरण र विकसित राष्ट्रको रुपमा अगाडि बढेको इतिहास र पिङको अतुलनीय र महत्वपूर्ण योगदानको उपज नै आजको आधुनिक चीन हो । आर्थिक विकासलाई नै आफ्नो एकमात्र ध्येय मानेका पिङका कारण संयुक्त राज्य अमेरिकाले पचास वर्षमा गरेको आर्थिक विकास चीनले एकदशकमै गर्न सफल रह्यो ।

माओकै विचारधार अगालेको नेपालको माओवादी वुलेट त्याग्दै व्यालेटबाटै राज्यसत्ता जित्न सफल रह्यो । स्पष्ट कार्यदिशा र वैचारिक मतभेदका कारणबाट पार्टी गुट, फुट र टुटको अवस्था झेल्दै अगाडि बढ्यो । नेपालको राजनीतिलाई विकासवादी राजनीतिको रुपमा स्थान्तरण गर्न सक्नु र राजनीतिक कौशलता र नविनतम् शैलि उद्घाटन गर्न सक्नु आजको नेतृत्वको आवश्यकता हो । पिङले पार्टीको आदर्शमाथि जित हाँसिल गर्दे कृषि व्यापार बजार, उद्योगलाई विस्तार गर्दै पूर्वी एशियन छिमेकी राष्ट्रसँग विस्तार गरे जुन समय आधुनिक चीनको समयमा सबैभन्दा स्वतन्त्रताको क्षण हो भनेर उल्लेख गर्ने गरेको पाइन्छ । आर्थिक विकासका लागि विचारलाई प्राथमिक केन्द्रविन्दूमा नराखेकै कारण विकासले गति लिएको हो भन्ने इतिहास छ ।
यतिखेर नेपाल राजनैतिक अस्थिरता अर्कमण्यता र दिशाहिनताको अवस्थाबाट गुज्रिरहेको छ । कम्युनिष्ट पार्टीहरु वादबाट माथि उठ्दै राष्ट्रिय निकास र विकासका लागि पार्टी र आफुलाई गौणमा राखेर राष्ट्रिय हितलाई जोड दिनुपर्ने समयको विकास भएको छ । नेपाललाई लामो गृहसंकटबाट परिवर्तन र विकासको यात्रामा अगाडि बढाउने नेतृत्वको दृढ इच्छाशक्ति आज अपरिहार्यता छ । अन्यथा देश असफल राष्ट्रको रुपमा चिनीने र परिभाषित हुनेछ । असफलताको छाया परिवर्तनका सम्वाहकहरुमा नदेखियोस् विकास र निर्माणमा दत्तचित्त भएर माओवादी नेतृत्व लाग्नु ऐतिहासिक सफलताको सूचक हुनेछ ।
आजको सन्दर्भमा नेपाली क्रान्तिको सहि व्यवस्थापन हुनु जरुरी छ । चोटले भरिएको घाउहरुमा मलमपट्टी लगाउन जरुरी छ । समुन्नत नेपाल समृद्ध नेपाल र विकसित नेपाल वनाउन माओवादभित्र विकासबादको ऐजेण्डा गाभिनु जरुरी छ । माओवाद भित्रको सकारात्मक कुरालाई जोड दिँदै नकारात्मक कुरालाई सच्याउँदै नेपालको आफ्नै मौलिकता सामाजिकतासँग मेल खाने सैदान्तिक पक्षहरुको निर्माण हुन जरुरी छ । हिजो रुसमा के भएको थियो हिजो चीनमा के भएको थिये , हिजो जर्मनीमा के भएको थियो त्यसैलाई आधार मानेर कार्यदिशा बनाउन खोजियो भने हामी रुढीवाद अगाल्न पुग्दछौँ । माओवादीहरु सामुहिकता र सामाजिक पुनसंरचनामा केन्द्रीत हुन जरुरी छ । चीनीया कम्युनिष्ट  पार्टीको दस्तावेजअनुसार “पार्टीका प्रत्येक सदस्यले आम जनतासँग छलफल गर्नैपर्छ, जनताको सुझाव र दृष्टिकोणलाई सुन्नैपर्छ, जनताको दुःख पीरमर्का र पिडाहरुको बारेमा सचेत हुनैपर्छ ।”
पार्टी भनेको वैचारिक अभियानलाई अगाडि बढाउन सहयोगी संरचना र संस्थामात्र हो आजको २१ औँ शताब्दीमा हिजो कार्लमाक्स बाट प्रतिपादित सबै सिद्धान्तहरु मेल नखान सक्छन् । नेपालकै सन्दर्भमा यहाँको मध्यम वर्ग सबैभन्दा शक्तिशाली वर्ग भएको २००७ देखि २०६२/६३ सम्मको आन्दोलनवाट हामी प्रष्ट हुन सक्छौँ । निम्न वर्गहरुलाई समेट्ने वहानामा कयौँ अमूर्त र लोकप्रिय नाराहरुको उठान हुन्छ जसको कारण विजयलाई जित्दै हारलाई आत्मासाथ गर्न वाध्य बनाएको छ ।
हामी आलोचनाबाट डराउँछौ किनकी हामीमा जडसूत्रवाद र अन्धभक्तवाद हावी छ र हामी पुरातन संस्कार स्खलित मानसिकताबाट कम्युनिष्ट आन्दोलनको निर्माण गर्देछौँ । सहअस्तित्व स्वीकार्न नसक्ने, फरक मत र फरक विचारलाई स्वीकार्न नसक्ने हामीमा जंगली चिन्तन हावी छ । कुरै नबुझि छिः छि दुरदुर गर्ने हामीमा सकारात्मकतालाई स्वीकार्न सक्ने धैर्यता र वुद्धिमता कायम गर्न कम्युनिष्ट विचारधारा असफल छ । किनकी हामी २० औँ शताब्दीका क्रान्तिका इतिहासबाट २१ औँ शताब्दीको क्रान्तिको निर्माण गर्न चाहन्छौँ, जो प्रायः असम्भव छ । आजको सन्दर्भमा वर्ग अनिवार्य आवश्यकता हो समाज रहेसम्म वर्ग रहिरहन्छ, वर्ग व्यक्तिको मेहनत इमान्दारीता र परिश्रमबाट आर्जने कुरा हो । वर्गको विकास हुन्छ यो कुनै जातियता जस्तो होइन, जातियताजस्तो जन्मजात समाजले गुथ्ने पहरी होइन ।
आजको आवश्यकता लोककल्याणकारी राज्यको निर्माण हो जसले वर्गहरुमा रहेका असमनता र तिक्ततालाई हटाउँदै स्थिर राज्यको निर्माणमा सहयोगी भूमिका खेल्दछ । समाजमा असमनताहरु छन् जस्तै आम्दानी, सामाजिक, कानुन, भौगोलिक, राजनैतिक, शैक्षिक, लैङ्गिक, विकास र निर्माणमा असमनता आदी । यीनै असमनतालाई आदारशीला बनाएर पहुँच स्थापनाका लागि राजनीति गर्ने विवेकशील पार्टीहरु सत्ता र कुर्सीमा पुगेपछि विवेकशुन्य र विवेकहिन वन्न पुग्दछन् ।
माओवादभित्र विकासवादको एजेण्डाले ग्रहण गर्न जरुरी छ । आजको हाम्रो समाज विश्वव्यापीकरण र आधुनिकीकरणलाई पछ्याउँदै गरेको विकशिल समाज हो । यहि समाजको सत्यता र वास्तविकतालाई पहिचान गर्दे नेपालकै मौलिक सिद्धान्तहरुको विकास गर्दे नयाँ राजनैतिक यात्रा सुरु गर्न जरुरी छ । इतिहासको मुल्याङ्कन र समाजको पुनःनिर्माणमा जोड दिनसके माओवाद आधुनिकीकरणको दिशामा अगाडि बढ्नेछ । माओवाद अव विकासवादको रुपमा विकसित होस् यहि शुभकामना ।
          लेखक : समाजशास्त्र तथा कानुनका विद्यार्थी हुनुहुन्छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी