स्वतन्त्रनगरमा महामारी फैलियो । गाउँलेहरू त्रसित भए । “यो गाउँमा यस्तो रोग यसअघि कहिल्यै देखिएको थिएन ।”, गाउँलेहरूले भन्न थाले ।
गणतन्त्र स्थापनापछि देखा परेको यो रोगको नाम निकैपछि विशेषज्ञहरूले अन्वेषण र अनुसन्धान गर्दा ‘मस्तिष्क गायब फोबिया’ भएको किटान गरे ।
यो रोग लागेको रोगीमा अनौठो प्रकृतिको लक्षण देखिन्थ्यो । पहिलो चरणमा यस रोगबाट ग्रसित रोगीको स्वविवेक नष्ट हुँदै जान्थ्यो भने दोस्रो चरणमा स्वनिर्णय दिन नसक्ने, परनिर्भर बन्ने लक्षण देखा पर्थ्यो । यस किसिमको रोगबाट सारा देश नै सङ्क्रमित होला भन्ने भय जताततै व्याप्त हुन थाल्यो ।
रोगले आफ्नो सङ्क्रमित क्षेत्र बढाउँदै लगेको हुनाले तत्काल रोकथामका लागि उच्च स्तरीय ‘मस्तिष्क गायब फोबिया छानबिन आयोग’ को गठन गरियो । उक्त आयोगमा विशिष्ट मनोवैज्ञानिक डाक्टर, राजनीतिक दलका नेता, पत्रकार, लेखक, कर्मचारी, शिक्षक, प्राध्यापक आदि नियुक्त गरियो ।
रोगको सङ्क्रमण झन्झन् बढ्दै गयो । रोगीको सङ्ख्यामा अप्रत्याशित वृद्धि हुँदै जानाले गाउँभरि नै सनसनी मच्चिन थाल्यो । प्रश्न उठ्न थाल्यो, “यतिका समय बिति सक्यो, तैपनि रोग रोकथाम भएकै छैन । आखिर ‘मस्तिष्क गायब फोबिया छानबिन आयोग’ ले के गर्दै छ ?”
चारैतिरबाट प्रश्न बर्सिन थालेपछि सरकारले तत्काल ‘मस्तिष्क गायब फोबिया छानबिन आयोग’ माथि नै छानबिन सुरु गर्यो । छानबिन गर्दा पत्ता लाग्यो कि उही आयोगका टोली पङ्क्ति नै उक्त रोगबाट सिकार भएछन् ।
अलिक बढी रोग प्रतिरोधात्मक क्षमता भएका गाउँलेहरू तिन छक परे । बिस्तारै उक्त रोगले राष्ट्रिय महामारीको रूप लियो । रोगले किसान, मजदुर त सामान्य कुरा विशिष्ट मनोवैज्ञानिक डाक्टर, राजनीतिक दलका नेता, पत्रकार, लेखक, कर्मचारी, शिक्षक, प्राध्यापकलाई पनि छाडेन ।
सुनेको छु रोगीमध्ये केही भारत, केही चिन, केही बेलायत, केही रुस, केही अमेरिका, केही अस्ट्रेलिया उपचार गर्न गए । केही– रोगको सङक्रमणपछि गगन चुम्बी भवन बनाउन, राष्ट्रमा अस्थिरता ल्याउन व्यस्त भए । त्यसपछि रोगीहरू बाटामा अराजक भएर राष्ट्र नै विखण्डन गर्छु भनेर हिँडि रहन्छन् भन्ने हल्ला जताततै फैैलियो ।