ओराली गर्दै यात्रा अगाडि बढाउने क्रममा दार्चुला सदरमुदामबाट केहि अगाडि बढ्दै जाँदा अपिनाम्पा संरक्षण क्षेत्र प्रवेश गरिन्छ । सरकारले पश्चिम नेपालको जैविक विविधता बोकेको अपिनाम्पा क्षेत्रलाई वि.स. २०६७ असार २८ गते अर्थात् सन् २०१० जुलाइ १२ मा अपि नाम्पा संरक्षण क्षेत्र भनेर घोषणा गरेको हो ।
दार्चुला जिल्लाको १९०३ वर्ग किलो मिटर अर्थात् २१ वटा गाविसमा फैलिएको यो क्षेत्रभित्र निकै मनमोहक फाटँहरु , ताल र मन लोभ्याउने विशाल हिमालहरु रहेका छन । ५३९ मिटर देखि ७१३२ मिटरको उचाइसम्ममा रहेको यस क्षेत्रको पूर्व तर्फ बझाङ जिल्लाको सिमाना, पश्चिम तर्फ महाकाली नदिको भारतको उत्तराखण्ड जिल्लाको अन्तराष्ट्रिय सिमाना , उत्तर तर्फ चीनको स्वशासित क्षेत्र तिब्वतको अन्तराष्ट्रिय सिमाना र दक्षिण तर्फ लास्कु र नौगाड नदि सम्म फैलिएको छ ।
पश्चिम नेपालमा खप्तड राष्ट्रिय निकुञ्जपछि जैविक विविधता भएको क्षेत्रका रुपमा अपिनाम्पा संरक्षण क्षेत्रलाई लिइन्छ । यस क्षेत्रभित्र भएका प्राकृतिक सम्पदा, बहुमुल्य जडिबुुटि र दुर्लभ जंगली पशुपक्षीको संरक्षण र संवद्र्धनका साथै पर्यापर्यटनको विकास गरी विद्यमान गरीबी र विकासका दृष्टिकोणले पछि परेको दार्चुला जिल्लाको उत्तरी भेगको समुच्च विकासका लागी संरक्षण क्षेत्र स्थापना भएको हो ।
यस क्षेत्र भित्र हिउँ चितुवा, घोरल, हिमाली कालो भालु, डाँफे, मुनाल, हिँउ मयुर जस्ता दुर्लभ वन्यजन्तु रहेका छन । जटामसी, यार्सागुम्बा, पाचँऔले, कुड्की, सुगन्धबाल, तालिसपत्र, लौठसल्लो, पाखनवेद, दाल चिनी, रिठ्ठा जस्ता बहुमुल्य जडिबुटी पाइन्छन ।
त्यसै गरी यस क्षेत्रमा अपि ९७१३२ मिटर, व्यास ९६६७० मिटर, गुरास ९६६४४ मिटर , लिपुलेक ९५०० मिटर र नाम्पा ९६७५७ मिटर उचाईमा हिमाल अवस्थित छन । यहाँ भोटे, कामी, दमाइ, सार्की, ब्राह्मण, र क्षेत्री जातीहरुको बाहुल्यता छ । अपिनाम्पा संरक्षण क्षेत्रमा घनाघोर हरियाली जङ्गलको बीचमा हिड्दा कहिलेकाहीँ जङ्गली जनावरसँग जम्काभेट हुने अवसरपनि जुर्छ ,त्यसैभित्रका केहि क्षेत्र ब्रह्मदह, रानीकोट, थाइसैनमा मनमोहक फाँटहरु छन । नजिकै ठूला ठूला तालहरु पनि छन ।
उकालो हिड्दै जाँदाको पसिना, भन्ज्याङमा चलिरहेको हावा र तालहरुको चिसोपनले छिनभरमै सुकाइदिन्छ र चिसो अनुभूति दिलाउँछ । सुस्तरी हिड्दा करिब ५ घण्टामा ब्रह्मदह क्षेत्रका फाटहरुमा पुग्न सकिन्छ । अपिनाम्पा संरक्षण क्षेत्रमा रहेको ब्रह्मदह रानीकोट क्षेत्र धेरै गन्तव्यहरु मध्ये एक गन्तव्य हो । धेरै प्रचार प्रसारमा नआएपनि यहाँ पुग्ने मानिसहरु धेरै छन् । आन्तरिक पर्यटनका लागि प्रख्यात रहेपनि वाह्य पर्यटकहरु भने थोरै मात्रामा आएका छन् ।
फाँटहरु सम्म पुग्नका लागी त्यत्ति गाह्रो छैन । दार्चुला सदरमुखामबाट केही समयको अन्तरालमा पैदल यात्रा गर्नु पर्छ । करीब ४ घण्टामा हिडेर पुगिने ठाउमा यातायात पुगेको छैन । बाटो त्यति अप्ठ्यारो छैन । यात्रा सहज छ । सरकारले सडकको व्यवस्था गरी दियो भने त्यहाँ जानेहरुका लागी यात्रा छोट्टिने थियो । अपिनाम्पा संरक्षण क्षेत्रमा गत सालको भन्दा केही मात्रामा भएपनि यो वर्ष विदेशी पर्यटकको संख्या बढेको छ ।
यो बर्ष १० जना विदेशी पर्यटकले अपिनाम्पा संरक्षण क्षेत्रमा भ्रमण गरेका छन् । अपिनाम्पा संरक्षण क्षेत्र प्राकृतिक विविधताले भरिएको क्षेत्र भएकाले यसमा आन्तरिक तथा बाह्यपर्यटक भित्र्याउन सकिन्छ । यो क्षेत्रमा पर्यटकको संख्या बढाउन यातायातको पहुँच,प्रचारप्रसार लगायतका कुरा ध्यान दिनुपर्ने सहायक संरक्षण अधिकृत राजु घिमिरेले बताए ।
अपिनाम्पा संरक्षण क्षेत्रमा घुम्न आउने पर्यटकलाई सहजै रुपमा खान बस्न र यातायातको सुविधामात्र बनाउन सके त्यो संख्या बढ्ने कुरामा दुईमत छैन् । होटेल व्यवसायीहरुलाई पर्यटकहरुको लागि कसरी स्वागत गर्ने, बसोबासको कस्तो व्यवस्था मिलाउने लगायतका बिषयमा तालिमको आवश्यकता रहेको दार्चुला बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख धाना धामीले बताईन ।
त्यस्तै आन्तरिक तथा बाह्य पर्यटकलाई संरक्षण क्षेत्र भित्र आकर्षित गर्नका लागि भौतिक संरचनामै सुधार ल्याउनुपर्ने कतिपयको बुझाई छ । संरक्षण क्षेत्रसम्म सडकको पहुँच, सहयोगीको व्यवस्था, बास तथा आवासको व्यवस्था गर्नुपर्ने दार्चुलाका एक स्थानिय त्रिलोक कुँवरको भनाई छ । मन लोभ्याउने विशाल सुन्दर हिमाल भएको ठाउँ, शान्त वातावरण ,विभिन्न ठाउँको दृष्य सजिलै देख्न सकिने, दुर्लभ पशुपंक्षी, बहुमुल्य जडिबुटी भएको यो क्षेत्र सबैका लागी पुग्नै पर्ने एक गन्तव्य हो ।
यहाँका सुन्दर हरीयाली फाटँहरुमा रंगी विरंगी फुलहरु सदावहार फुली रहेका हुन्छन । यति मात्रै नभएर देवी देउताका मन्दिरहरु पनि यँहा अवस्थित छन । यँहा कोहि घुम्ने उदेश्यले आउन्छन त कोहि पुजापाठका लागी । त्यसैले यो संरक्षण क्षेत्र मनलाइ आनन्द दिन क्षेत्रका रुपमा उत्तम मानिन्छ । अपिनाम्पा संरक्षण क्षेत्र जैविक विविधताले भरिपूर्ण क्षेत्र हो । यस क्षेत्रमा पाइने जडीबुटी, लोपोन्मूख वन्यजन्तु, प्राकृतिक सम्पदाहरु यसका मुख्य आकर्षण हुन् ।
दार्चुलाबाट नजिक पर्ने चिनको कैलाश मानसरोवर यात्रा तत्काल खोल्दा धेरै पक्षबाट व्यवसायीहरु, सरकार र नागरिकलाई समेत फाईदा हुनेछ । प्राकृतिक जैविक विविधताको खानी सो संरक्षण क्षेत्रको सरकारले राष्ट्रिय मिडियाका माध्यमबाट प्रचार प्रसार गर्र्न सके अझै पर्यटक भित्र्याउन सकिने देखिएको छ । यसका साथै यातायातको सहज पहुँच स्थापित हुन सकेमा पनि सो संरक्षण क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याउन सकिने छ ।