कथा – चैत्र २७

कथा – चैत्र २७

  • सोमवार, चैत्र २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

ऊ मेरो एकदम मिल्ने साथी थियो । बी.ए. परीक्षा दिएपछिको फुर्सदिलो एकदिन ऊ मकहाँ आयो । जुत्ता नै नफुकाली सरासर कोठाभित्र पसेर उमङ्गका साथ भन्न थाल्यो, “ए हिँड् झम्सिखेलसम्म जाऊ, जरुरी काम छ ।”
“किन के भो र ?”
“मलाई एउटा केटीले साइड दिएकी छे, यसो हेर्न जाऔँ न ।”
“भो पर्दैन, म बेकारमा जुत्ता खियाउन चाहन्नँ । फेरि, तेरो चक्कर त हरेक महिना कोही न कोहीसँग चलि नै रहन्छ, कुन नयाँ कुरा हो र ।”
“यसपालि कुरा मिले यो फाइनल हो यार ।”
“अनि अस्तिको थापाथलीवाली नि ?”
“त्यो तेस्तै भो, छोड् न पुराना कुरा, यसपालिको चाहिँ फाइनल हो भनिहालेँ नि ।”
“तेरो तर्फबाट मात्र हो कि उनको तर्फबाट पनि ?”
“त्यही त पक्का गर्न जान लागेको नि बेवकुफ, हिँड् अब ।”

त्यस दिनदेखि कोपुन्डोल घरबाट झम्सिखेलको बाटो लख्रकलख्रक गर्न सुरु भयो । के साँझ, के बिहान, के मध्यान्ह, हरेक दिन मेरो जुत्ता खिइन थाल्यो । केटीको घर अगाडिको बाटो सयौँ पटक ओहोरदोहोर गर्नु दिनचर्या नै भैसकेको थियो । बडो मुस्किलले एकाध पटक झ्यालमा दर्शन पाइन्थ्यो, म मुन्टो बटार्थें, ऊ मख्ख पथ्र्यो, कल्पनाको हवाईजहाजले बेग हान्दै थियो । न इसारा, न बोलचाल, न पत्र, न भेटघाट, न केटीको नामको अत्तोपत्तो, तैपनि उसको प्रेम चुलिँदै थियो ।

लगभग डेढ महिनाको कसरतपछि आजित भएर मैले एकदिन सोधेँ, “हैन, यसरी कति दिन चल्छ, पक्कापक्की कहिले हुने हो तेरो ?”
“हो यार, धेरै भो चक्कर, अब कन्फर्म गर्नुपर्छ । उनको घरअगाडि एउटा पसल छ । त्यहाँ जाऊ र कुनै माध्यमबाट भेट्ने कोशिश गरौँ ।”
“नाम थाहा छ तँलाई उनको ?”
“त्यो त छैन ।”
“अनि कसरी हुन्छ त ?”
“जाउँ न हिँड्, केही न केही त होला नि ।”

फेरि सुरु भयो उनको घर अगाडिको पसलमा घन्टौँ कुर्ने काम । म कोक पिउँदै पसल बाहिरको बेन्चमा बस्थेँ, ऊ बिजुलीको खम्बा बनेर सडक पारि उनको घरतिर सोझिएको हुन्थ्यो । ऊ आक्कलझुक्कलको दर्शनमा नै मस्त थियो ।

पन्ध्र दिनजति पछि उसको सहनशीलताले जवाफ दिएछ, कोठामा आएर भन्न लाग्यो, “यार, अब भएन, मैले उनको घरमै जाने निधो गरेको छु ।”
“कसरी ?” मैले प्रश्न तेर्स्याएँ ।
“सुन्, उनको घरमा एक बजेतिर उनीबाहेक अरू कोही हुँदैन, यसो मौका मिलाएर केही बहाना पारेर छिर्नुपर्यो ।”
यक्ष प्रश्न खडियो, “के बहानामा ?”
धेरैबेर मथिंगल मथेपछि उसले भन्यो, “सुन्, चैत्रको महिना छ, उनको घरअगाडि तँ गर्मी भएर ढली बेहोस भएजस्तो गर्नु अनि म मद्दत माग्न उनको घरभित्र जान्छु ।”
“म यो नाटक गर्न जान्दिन ।”
“यार, मेरो जिन्दगीको सवाल छ केही त गर् ।”
“म त्यसो गर्न सक्दिनँ, बरु तँ नै बेहोस हुनु, म केही गरुँला ।”

चैत्र २७ गते १ बजेर २५ मिनेट, गर्मी आफ्नो पूर्ण जवानीमा भएको बेला त्यसै गरियो । त्यसदिन संयोगले पसल पनि बन्द थियो । ऊ बेहोस भएर ढलेको जस्तो गर्यो। मैले गएर उनको ढोका ढक्ढकाएँ र मद्दतको लागि अनुरोध गरेँ । उनले छिमेकको काम गर्ने दाजुलाई बोलाइन् । हामीले बोकेर उसलाई कोठाभित्र लग्यौँ र सोफामा सुतायौँ ।
उनले सोधिन्, “के भएको ?”
“सायद गर्मीले होला, चिसोमा एकछिन् आराम गरेपछि होस् आउला । चिसो पानी भए पाऊ न, छर्किनु पर्यो, म पनि पिउँछु ।”
उनले पानी ल्याइदिइन्, मैले पानी लगेर छर्किदिएँ, एकछिनको नाटकपछि ऊ होसमा आयो । उनले चिसो–तातोको बारेमा सोधिन् । उसले चिसो पिउने इच्छा गर्यो, मैले चिया पिउने । उनले भित्रबाट चिसो लेराएर उसलाई दिइन्, ऊ ढल्केर नै चिसो प्युँन थाल्यो । उनी हामीलाई बस्ने अनुरोध गर्दै चिया बनाउन भान्सातिर लागिन् ।

उनी एकछिनपछि बाहिर आइन् र मतिर हेर्दै भनिन्, “सुन्नुस् न, मैले र्याकमाथिको कप झिक्न नै भ्याइनँ, प्लीज…।” म उनीसँगै भान्सामा गएँ, र्याकबाट कप झिकिदिएँ ।
उनले सोधिन्, “तपाईँ विनम्रको दाइ हैन ? मैले तपाईँलाई धेरै पटक मेरो घरको बाटोमा ओहोरदोहोर गरेको देखेकी छु ।”
म अचम्ममा परेँ !
उनले चियाको कप मेरो हातमा थमाउँदै मुसुक्क हाँसेर भनिन्, “मलाई भेट्न साथीलाई त्यस्तो दुःख दिन हुन्छ ?”

(कास्कोल कथासङ्ग्रहबाट)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी