‘..सबैभन्दा खतरनाक हुन्छ
मुर्दा शान्तिले भरिनु
कुनै छटपटी नुहुनु
सबै सहनु
घरबाट काममा निक्लनु
र कामबाट खुरुखुरु घर फर्कनु
सबैभन्दा खतरनाक हुन्छ
हाम्रा सपनाहरुको मृत्यु हुनु !’
माथिका यी पक्तिहरु भारतीय चर्चित कवि अबतारसिंह पाशका हुन् । कविता लेख्नु वा क्रान्तिकारी सपना देख्नु शासकहरुका लागि सधैं खतरा हुँदोरहेछ । यही नियति कवि पाशले आफ्नो जीवनमा भोग्नुप¥यो,जसरी नेपालमा भोगेका थिए कवि कृष्णसेन ‘इच्छुक’ ले । नेपालमा ठूलो राजनीतिक उथलपुथलपछि अहिले ‘शान्ति–सम्झौता’ का नाममा शासक वर्गले जनताका ति स्वर्णीम सपनाहरुमाथि यसरी नै प्रतिक्रान्तिको निर्मम बुलडोजर लगाइरहेका छन् र कवि पाशले भनेजस्तै क्रान्तिकारी जनता, कवि/लेखकहरु पनि भन्न बाध्य भइरहेछन्–‘सबैभन्दा खतरनाक हुन्छ, हाम्रा सपनाहरुको मृत्यु हुनु !’
मार्च २३ कवि पाशको स्मृति दिवस हो । ३८ बर्षको जाग्दो उमेरमै उनको हत्या नभएको भए उनी अहिले ६६ बर्षको उमेरमा हिड्दै हुन्थे । उनको खास नाम अबतारसिंह सन्धु हो । साहित्यमा उनी पाश नामले नै प्रसिद्ध छन् । उनी भाषा र भूगोलको दृष्टिकोणले भारतीय भएपनि उनका शक्तिशाली सिर्जनाहरु खास भाषा र भूगोलका पर्खालहरुभित्र मात्रै सीमित छैनन् । उनी १९५० सेप्टेम्बर ९ मा जालन्धर जिल्लाको तलवंडी सलेम गाउँमा जन्मेका थिए, जतिबेला भारतको पञ्जाबमा जमिन्दार, सामन्त उद्योगपतिहरु विरुद्ध नक्सलवादी आन्दोलन उत्कर्षमा चर्किरहेको थियो । भारतीय सीमा सुरक्षा बलमा जागिरे कवि पाश तीन महिना नपुग्दै त्यहाँबाट बिद्रोह गरेर १९६९ नक्सलवादी आन्दोलनसंग जोडिएका थिए ।
कवि पाशले जीवनभर अन्याय, दमन र शोषणविरुद्ध नक्सलवादी आन्दोलनको पक्षमा कविता मात्रै लेखेनन् रगतको बलिदान समेत दिए । श्रमजीविहरु आन्दोलनको पक्षमा कविता लेखेका कवि पाशको १९८८ मार्च २३ गते पञ्जाबको आफ्नै गाउँमा खालीस्तानी पृथकतावादीहरुले निर्ममतापूर्वक हत्या ग¥यो । संयोगले जुन दिन कवि पाशको हत्या भयो, त्यही दिन भारतीय क्रान्तिकारी युवा नेता भगतसिंहको पनि हत्या भएको थियो । दुबै पञ्जाबका क्रान्तिकारी योद्धाहरु थिए । भगतसिंह बेलायती साम्राज्यवाद विरुद्ध क्रान्ति र स्वतन्त्रताका लागि सशक्त आन्दोलनका पक्षधर थिए भने कवि पाश साहित्यिक र बैचारिक लडाईमा समर्पित एक अथक योद्धा थिए । त्यसैले मार्च २३ क्रान्तिकारी कवि पाश र भगतसिंहको संयुक्त स्मृति दिवसको दिन हो । क्रान्तिकारी जनता, कवि एवं लेखकहरुका लागि यो दिन नयाँ संकल्प र प्रतिबद्धताको दिन पनि हो ।
कवि पाशका कविताहरु अहिले संसारभर निकै चर्चित रहेका छन् । त्यसमध्येमा ‘सबसे खतरनाक’ कविता उनको निकै चर्चित कविता हो । उक्त कविता भारतमा ११ कक्षाको पाठ्यक्रममा समेत समावेश भएको बताइएको छ । पञ्जाबी भाषामा लेखिएका उनका कविताहरु हिन्दी, अंग्रेजी, नेपाली, बंगाली लगायतका भाषामा अनुवाद हुदै लाखौं पाठकहरुका हृदयमा बाँचिरहेका छन् र संसारभरका क्रान्तिकारी जनता र कविहरुलाई उर्जा दिइरहेका छन् । पञ्जाबमा उनको स्मृतिमा पाश मेमोरियल अन्तर्राष्ट्रिय ट्रष्ट समेत स्थापना गरिएको छ र हरेकबर्ष मार्च २३ मा भारत र संसारभरिका क्रान्तिकारी कवि साहित्यकारहरुले पाश स्मृति दिवस मनाउदै आएका छन् ।
नक्सलवादी आन्दोलनमा जोडिएपछि कवि पाशको पहिलो कृति सन् १९७० मा ‘लोह कथा’ प्रकाशित भयो । यही बर्ष झुठो ज्यान मुद्धामा उनलाई प्रशासनले पक्रियो र निर्दोष सावित भएपछि सन् १९७१ मा रिहा गरियो । त्यसपछि पनि उनी दुईपटक सम्म गिरफ्तारमा परेका थिए । सन्् १९७२ मा उनले ‘सियाड’ पत्रिका प्रकाशन गर्न थालेपनि एकबर्ष भित्रै पत्रिका बन्द भयो । सन् १९७३ मा दोस्रो कृति ‘उडदे बाजाँ मगर’ प्रकाशित भयो । १९७४–७५ मा उनले ‘हेमज्योति’ पत्रिका सम्पादन गरे । सन् १९७८ मा (जतिबेला उनको २८ बर्षको उमेर छँदा राजविन्द्र कौरसंग विवाह गरे) तेस्रो कविता कृति ‘साडे समियाँ बीच’ प्रकाशित भयो । कवि पाश जीवनको अन्तिम समयसम्म कबिता लेखन र पत्रिका सम्पादन गरे । १९८६ मा क्यालिफोर्निया पुगेका उनले त्यहीबाट ‘एन्टी–४७ फ्रन्ट’ नामको पत्रिका सम्पादन गरेका थिए । कवि पाशको हत्यापछि ‘बीचका रास्ता नहीं होता’ (१९८९), ‘अक्षर अक्षर’ (१९९८), ‘हम लडेंगे साथी’ (१९८८), ‘खिल्लरे होए वर्के’ (१९८९), ‘पाशके आसपास’ (१९८९), ‘लहु है कि तब भी गाता है’ (१९९८), ‘पाशी कविताएँ’ (२००५) आदि कविताका संकलनका सयौं संस्करण प्रकाशित भएका छन् ।
नेपालको प्रगतिवादी साहित्यिक÷सांस्कृतिक आन्दोलनमा कवि पाश निकै चर्चित रहेका छन् । पाशबारे कवि सरिता तिवारी भन्छिन्–‘उनी जीवन्त सपनाका कवि हुन् । त्यो सपना जुन मुर्त छ, मानिसको रोजीरोटी र दैनन्दिनसँग गाँसिएको छ । मान्छेका आँखाबाट सपना निख्रनुलाई सबैभन्दा भयानक ठान्ने उनी कवितालाई उडन्ते गफ बनाउनेहरूका आदर्श होइनन् । कवितामार्फत सामाजिक न्याय र समानताको आन्दोलन गर्नेहरूका नेता कवि हुन् । उनको कवितामा सत्ताको किर्तन,सुन्दरीको कायाचर्चा या प्रकृतिको निरपेक्ष सौन्दर्यगान नभेटिनु नै उनी साझा कवि नहुनुका प्रमाण हुन् । बिचको बाटो हुँदैन भन्ने स्पष्ट दृष्टिकोण भएका पाशको कविता कविताको सांस्कृतिक सत्ताको सबभन्दा सुन्दर अभिब्यक्ति हो ।’
साहित्यकार एवं कवि दिपक विश्वकर्मा भन्छन्–‘भारतको अर्थतन्त्र यिनै दलाल सामन्तहरुको कब्जामा रहँदै आएको छ, जसका विरुद्ध कवि पाशले कविता लेखेका थिए । उनी क्रान्तिकारी कवि हुन् र उनका कविताहरु अझ सान्दर्भिक रहेका छन् ।’ यूवा कवि रामचन्द्र श्रेष्ठ भन्छन्–‘पाश भारतका क्रान्तिकारी कवि मात्रै थिएनन्, नक्सलवादी आन्दोलनका सक्रिय योद्धा समेत हुन् ।’
नेपालमा जनताका आधारभूत समस्याहरु कत्ति पनि बदलिएका छैनन् । क्रान्तिकारी आन्दोलन कमजोर भएको छ । ‘उडायो सपना हुरीले’ भनेजस्तै शान्ति सम्झौताको नाममा प्रतिक्रान्तिका हुरीहरुले उडाएका श्रमजीविहरुको सपनाहरुलाई पुरा गराउन योगदान गर्नु लेखक साहित्यकारहरुको अहिलेको आवश्यकता हो । अझ भन्नुपर्दा कवि पाशलाई सम्झिनुको साँचो अर्थ उत्तरआधुनिकवादले थोपरेका विभ्रमलाई अन्त्य गर्दै उदात्त समाज निर्माणका लागि उनले देखेका सपनाको यात्रा गर्नु हो । स्वप्नील सपना देखिरहेका श्रमजीवि नेपाली जनताहरु यतिखेर सपना मृत्युको नियति भोगिरहेका छन् । त्यसैले कवि पाशले देखेका सपनाहरुको सान्दर्भिकता झनै बढेर गइरहेको छ ।
