काठमाण्डौ ,१८ चैत ।
यसवर्षको एसएलसी परीक्षाको पहिलोदिन आज अग्रेजी बिषयको परीक्षा भएको छ । यसबर्ष परीक्षामा कुल ६ लाख १५ हजार ५ सय ५३ जना परीक्षार्थी सहभागी रहेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।
जसमध्ये नियमित तर्फ चार लाख ५२ हजार आठ सय ८१ तथा आंशिकतर्फ एक लाख ५९ हजार चार सय १७ जना रहेका छन् । जसमा दुई लाख २५ हजार तीन सय ४६ छात्र र दुई लाख २७ हजार पाँच सय ३५ छात्रा छन् । यो वर्ष छात्रभन्दा दुई हजार एक सय ८९ जना छात्रा बढी छन् । यस्तै प्राविधिक तर्फ तीन हजार दुई सयजना परीक्षार्थी परीक्षामा सहभागी भएका छन् ।
परीक्षामा सबैभन्दा धेरै काठमाडौंबाट ३५ हजार ७ सय २९ जना र सबभन्दा थोरै मनाङबाट ६३ परीक्षार्थी रहेका छन् । परीक्षा सञ्चालनका लागि मुलुकभर एक हजार ९ सय ४३ वटा केन्द्र निर्धारण गरिएको छ । जसमध्ये उपत्यकामा ९३ वटा परीक्षा केन्द्र तोकिएका छन् ।
आगामी चैत्र २९ गतेसम्म सन्चालन हुने परीक्षालाई मर्यादित र निष्पक्ष बनाउन केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी सहित जम्मा ७२ हजार ८ सय ९६ जना जनशक्ति खटिएको परीक्षा नियन्त्रक विष्णुप्रसाद काप्रीले जानकारी दिनुभयो ।
यो वर्षदेखि एसएलसी परीक्षामा ग्रेडिङ प्रणाली लागु गरिएको छ । जसअनुसार विद्यार्थीले प्राप्त गर्ने एसएलसी ‘ग्रेडसिट’मा ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डि प्लस, डी र ई उल्लेख हुनेछ ।
परीक्षार्थीले परीक्षाको अन्तिम दिन आफ्नो नाम, सिम्बोल नम्बर लगायतका विवरण सही छ या छैन भनी जाँच गर्न सकिने व्यवस्था गरिएको कार्यलयले जनाएको छ ।
यसै गरी उत्कृष्ट परीक्षा केन्द्रहरुलाई प्रोत्साहन कार्यक्रम समेत राखिएको छ ।
यसैबीच ,एसएलसी परीक्षामा अमर्यादित काम गरेको भन्दै रौतहटमा चार जना निरीक्षक निलम्बनमा परेका छन् ।
उच्च मावि सिमरा भवानीपुर परीक्षा केन्द्रमा गार्ड बसेका चोचा प्राविका शिक्षक ईन्द्र चौधरी र जमुनिया विद्यालयका राम दयाल साहलाई परीक्षा अवधिभर गार्ड बस्न नपाउने गरी निलम्बन गरिएको परीक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नरहरी बरालले जानकारी दिनुभयो ।
यसैगरी नेमधारी बासुदेव उच्च मावि मुडवलवाबाट पनि २ जना निरीक्षकहरुलाई निलम्बन गरिएको छ । रौतहटका अन्य परीक्षा केन्द्रहरुमा यस वर्ष एसएलसी मर्या्दित देखिएको छ । विगत वर्षहरुमा भन्दा यस वर्ष तोकिएका प्राय परीक्षा केन्द्रहरु पहिलो दिन व्यवस्थित देखिएका छन् ।
यस वर्ष कुल २६ परीक्षा केन्द्रबाट दश हजार एक सय ५४ विद्यार्थीले प्रवेशिका परीक्षा दिँदै छन् । नियमित तर्फ ६ हजार ७५४ परिक्षार्थी रहेका छन् भने ३ हजार ४०० एक्जाम्टेड परीक्षार्थी सहभागी भएको जिल्ला शिक्षा कार्यालय रौतहटले जनाएको छ ।
यस पटकको प्रवेशिकामा सहभागिमध्ये छात्रहरुको संख्या ५ हजार २८६ छ भने छात्राहरु ४ हजार ८६८ जना छन् ।
यस्तै एसएलसी परीक्षामा चेक गरेको भन्दै जाजरकोटको पैंक परीक्षा केन्द्रमा स्थानीय बासिन्दाले ढुंगा हान्दा एक प्रहरी घाइते भएका छन् ।
अंगे्रजी विषयको परीक्षामा जनता उच्च मावि पैंक केन्द्रमा प्रवेश गर्दा विद्यार्थीलाई चेकजाँच गरेर चिट खोसेको भन्दै स्थानीय बासिन्दाको ढुंगा प्रहारबाट प्रहरी जवान अमर नेपालीको दाँत भाचिएको जिल्ला प्रहरी प्रमुख दानवहादुर मल्लले बताउनुभयो । नेपालीको पैंक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरेर थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।
यस वर्ष ६१ वर्षे ज्वाला विष्टले समेत एसएलसी परीक्षा दिएकी छन् । अछाम कालीकास्थानकी उनी ६३ सालदेखि कक्षा १ मा भर्ना भएर अध्ययन गर्दै आएकी छन् । उनका श्रीमान् काग्रेसका नेता हुन् भने छोरा बुहारी चिकित्सक तथा एक छोरा नेपाली सेनामा कार्यरत रहेका छन् ।
त्यस्तै दुई परीक्षार्थीले आज सुरु भएको प्रवेशिका परीक्षा प्रहरीको हिरासतबाटै दिन सुरु गरेका छन् ।
बुधबार ताप्लेजुङ नगरपालिका– १ का प्रकाश भुजेल र लोकनाथ गुरागाईं किनमेल गर्ने क्रममा ५०० रुपैयाँको नक्कली नोटसहित पक्राउ परेका थिए । अनुसन्धानका क्रममा रहेका परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतबाटै परीक्षा लेख्ने व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।