मेरा बाजेको पालामा मेरा बुढा बराजुले
रोपेका हुन् चौबाटोमा पिपल
निकै दुक्ख गरेर
चिनेका हुन्
आस्थाको यो सुन्दर चौतारा ।
मेरा बराजुले रोपेका थिए रे
त्यसै ताका मेरा बाजेका आशा
बाजेले पन्छाएर औलो
हुर्काएका थिए रे मेरा बुबालाई
बुबाले सँगालेर लाखौँ सपना
जन्माएका थिए रे मलाई
मसँगै जन्मिएका थिए रे
मेरा बुढा बराजुका आदिम सङ्कल्पहरू ।
पिपल रोप्दा भनेका थिए रे
बाजेलाई बुढा बराजुले–
“काइला, हरेक पुस्तामा
कहिल्यै छोड्न नदिनू
यो आस्थाको सुन्दर चौतारा
सुक्न नदिनू
यो रुख
मर्न नदिनू
मेरा चिर सपनाहरू ।”
यति बेला म उभिएको छु
त्यही बुढा बराजुले रोपेको पिपलसामु
उभिएको छु युगीन सङ्कल्प लिएर
त्यही आस्थाको सुन्दर चौतारा नजिक
मेरा बाजेका पुरा नभएका आशा
मेरा बुबाका राता सपना
मसँगै उभिएका छन् ।
मलाई मेरै पुस्तामा
कोर्नु छ
आस्थाको सुन्दर चौताराको नयाँ नक्सा
दिनु छ
यसलाई नयाँ आयाम
यसकै छहारीमा
ल्याउनु छ
बाटा बिराएकाहरू
यो झाङ्गिएको पिपलको रुखलाई
चिटिक्क सजाई
उस्तै सशक्त बनाउँदै
पुरा गर्नु छ
बुढा बराजुुले देखेका सपनाहरू ।