भक्तपुर, १७ चैत ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षालाई शान्तिपूर्ण र मर्या्दित बनाउन विद्यार्थी, अभिभावक, शिक्षक र राजनीतिक दलका प्रतिनिधि एवम् सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ ।
यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षा देशभर भोलि बिहान ८ बजेबाट सुरु हुदै छ । परीक्षा २९ गतेसम्म सञ्चालन हुन एसएलसिको पहिलो दिन भोली अग्रेजी बिषयको परिक्षा हुनेछ ।
परीक्षामा कुल छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुने भएका छन् । जसमा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र ‘एक्ज्याम्टेड’तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक काप्रीले जानकारी दिनभयो ।
यसैगरी प्राविधिकतर्फ तीन हजार २५५ जना परीक्षार्थी सहभागी हुने छन् । सबैभन्दा बढी काठमाडौँमा ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिने छन् । परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
भोली १८ गते अग्रेजी , चैत १९ गते नेपाली, चैत २१ गते गणित, चैत २२ गते विज्ञान, चैत २३ गते सामाजिक, चैत २४ गते स्वास्थ्य तथा जनसङ्ख्या, चैत २५ गते ऐच्छिक प्रथम, चैत २६ गते ऐच्छिक द्वितीय, चैत २७, २८ र २९ गतेसम्म भने प्राविधिक विषयको बाँकी विषयको परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक काप्रीले बताउनुभयो ।
कार्यालयले यस वर्षदेखि एसएलसी परीक्षा दिने परीक्षार्थीलाई परीक्षा सकिएकै दिन उनीहरुको परिचयपत्र वितरण गर्ने भएको छ । एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्दा विद्यार्थीको नामथर, जन्ममिति, ठेगाना, अङ्ग्रेजी हिज्जे र परीक्षा दिएको विषय गल्ती कम गर्न परीक्षार्थीलाई परीक्षा सकिएको दिन परिचयपत्र वितरण गर्ने भएको हो ।
यसरी परिचयपत्र वितरण गर्दा त्यसमा भएको विवरण र प्रवेश पत्रमा भएको विवरण फरक परेमा विद्यार्थीले गल्ती भएको विवरण सच्याउन १५ दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनसक्ने काप्रीको भनाइ थियो ।
गत वर्ष चैत ५ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको परीक्षा यस वर्ष भने तराई आन्दोलनका कारण १३ दिन ढिलो सुरु हुने भएको हो ।
यस वर्षको एसएलसी परीक्षाको नतिजा ‘लेटर ग्रेडिङ’मा सार्वजनिक गरिने भए पनि परीक्षा सञ्चालनको विधि भने विगतका वर्षमा जस्तै हुने परीक्षा नियन्त्रक काप्रीले जानकारी दिनुभयो ।
परीक्षामा अमर्या्दित कार्य गर्ने व्यक्ति र नक्कली परीक्षार्थीलाई रु एक लाख जरिवाना वा छ महिना कैद वा दुवै सजाय गर्ने व्यवस्था गरेको छ ।
‘होमसेन्टर’ भएका विद्यालयमा सोही विद्यालयमा कार्यरत व्यक्तिलाई परीक्षामा खटाउन नपाइने र परीक्षार्थीले कुनै पनि किसिमको अनियमितता एवम् अनुशासनहिन काम गरेमा, अर्को व्यक्तिलाई परीक्षा दिन लगाएको पाइएमा परीक्षा रद्द गरी अर्को एक वर्षसम्म परीक्षा दिन नपाउने गरी कारबाही गर्ने भएको छ ।