गौशाला, १५ चैत ।
सिँचाइमन्त्री उमेश यादवले महोत्तरी जिल्लाको पूर्वी क्षेत्रमा रहेको विग्ही नदी नियन्त्रणका लागि सरकारले यथेष्ट बजेट दिने बताउनुभएको छ ।
विग्ही नदीद्वारा बर्से्नि कटान एवम् डुबानमा पर्ने गरेको महोत्तरीको मटिहानी, धीरापुर, पिगौना, सिमरदही गाविसलगायतका क्षेत्रको आज स्थलगत निरीक्षण गर्नुहुँदै मन्त्री यादवले अब विग्ही नदीबाट यस क्षेत्रका जनता पीडित हुनु नपर्ने प्र्र्तिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले नदीको नियन्त्रणका लागि गुरुयोजनामार्फत जान सरकारलाई सुझाउने तथा सरकारसँग यस नदीबाट प्र्रभावित क्षेत्रका जनताको सुरक्षाका लागि आफूले महत्वपूर्ण भूमिका निभाउने प्रतिबद्धता जाहेर गर्नुभयो ।
मन्त्री यादवले जल उत्पन्न प्रकोप कार्यालय धनुषा, जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय–२ महोत्तरी र सिँचाइ डिभिजन कार्यालयद्वारा विग्ही नदी नियन्त्रणका लागि गरिएको तटबन्ध निर्माण, पुल, पुलेसा, नहर र कल्भर्ट निर्माणको स्थलगत निरीक्षण गर्नुभएको थियो ।
वर्षौंदेखि यस नदीमा धनुषाको महेन्द्रनगरस्थित एभरेस्ट पेपर मिलको दूषित रसायनयुक्त कालो पानी आउने गरेकोप्रति मन्त्री यादवले सरकारद्वारा सो पेपरमिलमाथि दबाब दिने र आवश्यक कारबाही गर्न सिफारिस गर्ने पनि बताउनुभयो ।