खजुरा, १५ चैत ।
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले क्यान्सर रोगीका लागि स्वास्थ्य उपचारको सेवा प्रवाह गर्न प्रादेशिक क्षेत्रअनुसार अस्पतालको स्थापना गर्ने योजना रहेको बताउनुभएको छ ।
बाँकेको खजुरास्थित नेपाल क्यान्सर अस्पतालको निरीक्षण तथा अनुगमनपछि आज आयोजित एक समारोहलाई सम्बोधन गर्दै मन्त्री राईले नेपाल सरकारको सहयोगमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको प्राविधिक तथा विशेषज्ञ सेवाको सहयोग र क्यान्सर अस्पताल खजुराको व्यवस्थापन तथा सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।
उहाँले स्थानीय नागरिकको पहलमा सञ्चालनमा ल्याइएको क्यान्सर अस्पताल पश्चिम नेपालकै उत्कृष्ट बन्ने विश्वास व्यक्त गर्दै देशका सम्पूर्ण क्यान्सर अस्पतालको एउटा छुट्टै नीतिनिर्माण गरी सेवाको प्रभावकारिता बढ्नेमा जोड दिइनेछ भन्नुभयो ।
सो अवसरमा अस्पतालका अध्यक्ष किस्मतकुमार कक्षपतिले अस्पतालको सेवा तथा वस्तुस्थितिको बारेमा जानकारी गराउनु भएको थियो ।
चार विगाह क्षेत्रफलमा निमार्णाधीन प्रखर परोपकार मिसन नेपालद्धारा सञ्चालित सो अस्पतालको ९० प्रतिशत काम पूरा भएकाले यही वैशाखदेखि बहरिङ्ग सेवा सुरु गर्ने योजना रहेको अस्पतालका सचिव कमलराज रेग्मीले बताउनुभयो ।