तिमि नभए पनि
म त हुन्थेँ होला
तर आज जे छु, जस्तो छु,
के त्यस्तै हुन्थेँ होला ?
मायाको यो शीतल सरोवर
सायद मसँग हुने थिएन ।
तिमीले मलाई हाँस्न सिकायौ
बाँच्न सिकायौ
मनसँग मनको,
कोमल र भावनात्मक,
न्यानो सम्बन्ध गाँस्न सिकायौ
तिमीले मलाई माया सिकायौ ।
बिहानी घामको कलिलो झुल्का
हिमालमा ठोक्किंदा,
रोमान्च र सौन्दर्यको,
जुन मोहकता प्रतिबिम्बित हुन्छ
तिम्रो मुस्कानमा उदाएको घामले
मलाई त्यो हिमालको घाम भन्दा,
असीम रोमान्च र सौन्दर्यको
अनुभूति दिन्छ ।
सायद,
माया भनेकै यही होला
तिमी हाँस्दा,
मेरो मन हाँस्छ
तिमी उदास हुँदा,
मेरो मन ओइलाउँछ ।
तिमीसंग भेट नभएको भए
तिम्रो मुस्कानमा झुल्कने,
तिम्रो उदासीमा अस्ताउने,
मेरो भावनाको त्यो सूर्य
सायद मसंग हुने थिएन ।
मायाको भाषा
मायाको रङ्ग
सायद मेरो मनले बुझ्ने थिएन ।
त्यसैले प्रिय,
तिमीले सिकाएको मायाले,
तिमीलाई नै बुझ्ने भएको छु
तिमीले नै बुझाएको मायाले,
मायाको भाषा र रङ्ग चिन्ने भएको छु ।