तिमी
सर्वहारा किसान, मजदुरको
युगौँदेखिको
एउटामात्रै भरोसा
हुनु छ
वर्ग सापेक्ष
निकै मूल्य छ तिम्रो
बन्नु छ
युगको अभिभारा पुरा गर्ने
युगकै अन्तिम वर्षा ।
किसान, मजदुर मुसुक्क मुस्कुराउनु छ
जमिनदार, मालिक सशङ्कित हुनु छ
झुपडीका चिसा चुलाहरू तात्नु छ
मिठो मसिनो उमाल्नु छ
यहाँ निकै अर्थ लाग्छ
तिम्रो उपस्थितिको
सबैभन्दा ठुलो कुरा
नयाँ इतिहासको प्रारम्भ गर्नु छ ।
यो देश
मजदुर, किसानको देश हो
यो देश
सर्वहाराको देश हो
यो देश
रेगिस्तानलाई मलिलो पारी
हरियाली पार्ने
भव्य महलहरू ठड्याउन
पसिना बहाउने
आफ्नै परिश्रममा विश्वास गर्ने
पौरखीको देश हो
माटोसँगै खेलेर माटोसँगै हुर्केर
माटोसँगै अटुट साइनो गाँस्नेको देश हो ।
अब चनाखो हुनै पर्छ तिमी
जमिनदार, मालिक, शासकका विरुद्ध
लतपतिएर खनिनु छ
कालो पार्नु छ
तिनका सेता कमिज
झार्नु छ
थुप्रिएको बोसो
सबै समान हुन भन्दै
खटाउनु छ
उद्योग, खेत खलियानमा
देश गरि खानेको मात्रै हो भनी
सिकाउनु छ
समानताको गतिलो पाठ ।
शताब्दीको अन्तिम वर्षा
अब तिमी
वर्ग सचेत हुनु छ
तिमीलाई माया गर्ने
तिम्रै भरमा जहान पाल्नेका अनुहारमा
हाँसो उमार्नु छ
अब तिमीले शोषकले झैँ गरिबलाई पीडा दिन
अनावृष्टि, अतिवृष्टिमा पार्नु हुन्न
तिमी पहिलेकाहरू झैँ
विवेकहीन, लाचार,
क्रूर, निठुर,
लालची बन्नु हुन्न ।
शताब्दीकै अन्तिम वर्षा
देखाइ देऊ करामत
परजीवीहरूलाई
तिमी आउँदा रुने र जाँदा हाँस्ने
सुकिला मुकिलाहरूलाई
तिमी सिङ्गै युगको अन्तिम मसिहा बनेर
मुक्त गरि देऊ
माटोसँगै पौँठेजोरी खेल्ने
किसानहरूलाई
बिहान बेलुका छाक टार्न धौ धौ
श्रमिक मजदुरहरूलाई
महसुस गराइ देऊ
तिम्रो स्वअस्तित्व ।