के हो आईएस ? किन त्रसित बनाउदै छ संसारलाई ?

के हो आईएस ? किन त्रसित बनाउदै छ संसारलाई ?

  • मङ्लबार, चैत्र ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 19.4K
    SHARES

“अल्लाह बाहेक संसारमा कुनै भगवान छैन ” भन्ने नारा लेखेर अतिवादी शक्तिको रुपमा उदाईरहेको आईएस संसारमा ठूलो चर्चा र चिन्ताको विषय बनेको छ ।
मार्च २२ मा बेल्जियमको ब्रसेल्समा अन्तराष्ट्रिय विमानस्थल र मेट्रो स्टेसनमा भएको शक्तिशाली बम विष्फोटको जिम्मा आईएसले लियो ।
गत नोभमेम्बर १३, २०१५ मा फ्रान्सको पेरिसमा १ सय २६ जना भन्दा बढीको ज्यान जाने गरी भएको हमलामा पनि स्पष्ट आईएसको हात रहेको थियो र त्यसका प्रमुख योजनाकार बेल्जियममा बसेका अब्देस्लमलाई समातिएको चार दिन पछि यो घटना भयो । पेरिस हमलाका बेला संसारभर विरोध भएको थियो ।
यही घटनाको ४ महिना पछि ब्रसेल्सको यो घटनाले सिंगो यूरोप त्रसित भएको छ भने अमेरीकाका राष्ट्रपतिका उम्मेद्धार डोनाल्ड ट्रम्पको मुसलमानलाई अमेरीका प्रवेशमा प्रतिवन्ध लगाउने र देशलाई पर्खालले घेर्ने कुरा पनि निकै गंभीर चिन्ताको संकेत हो ।
सिरीयामा आईएसका नाममा रुस, अमेरीका, टर्की जस्ता मुलुकका विवादास्पद कार्बाहीहरुले पनि यसको त्रासदीको स्पष्ट संकेत गर्दछ । त्यसै गरी भारत सहितका मुलुकमा आएको चेतावनीहरुले सिंगो संसारभर आईएस आतंक भयाबह रुपमा बढ्दै गएको छ ।

 “अल्लाह बाहेक संसारमा कुनै भगवान छैन ” भन्ने अतिवादी दृष्टिकोण आईएसको छ ।
 विश्वको ९० भन्दा बढी देशका २० हजार लडाकु संलग्न ।
 पश्चिमा सहित अब एशियाको भारतलाई पनि निशाना बनाउने चेतावनी ।
 अमेरीकाले जेलमा राखेर छाडेको बगदादीले आईएस पुनर्जीवीत गरेका हुन् ।

   अमेरीकाका कारण आईएस बढेको चीनीया विज्ञहरुको तर्क 

 विश्वका ४० देशबाट आईएसले आर्थिक सहयोग लिईरहेको पुटिनको दावी ।

के हो आईएस ? 

यसको पूरा नाम आईएसआईएस अर्थात ईस्लामिक स्टेट अफ् ईराक एण्ड सिरीया हो । ईस्लामिक स्टेट अलकायदाबाट अलग्गिएर बनेको यो एउटा सुन्नी आतंकवादी संगठन हो । मुख्य गरी सिरीयादेखि ईराकका ठूलो भूभागमा यसले कब्जा जमाएको छ ।
शरिया कानुन लागू हुनु पर्ने र संसारभर मुस्लिम शासन बनाउन चाहने यो समुह ईराक र सिरीया सरकारको कमजोर शक्तिको फाईदा उठाउदै आफ्नो प्रभाव विस्तार गर्न सफल भएको छ ।
आईएसले खास गरी पश्चिना शक्तिहरु अमेरीका सहितलाई निशाना बनाउने र त्यसको समर्थन गर्ने मुसलमान देशलाई पनि विरोधीको रुपमा हेर्दै आएको छ । आफ्नो खतरनाक पहिचान देखाउन उसले सयौं मानिसहरुलाई सार्वजनिक ठॉउमा टाउको काट्ने र त्यसको भिडियो प्रचार गर्ने गरेको छ ।

अरु समर्थक समुह को छ ?
नाईजेरियाको शसस्त्र समुह बोको हरामले आईएसलाई समर्थन गरेको छ । अलकायदाले आफूबाट अलग्गिएको भन्दै विरोध गरे पनि हिशामा उत्रिएका अन्य साना मुस्लिम संगठनले आईएसलाई समर्थन गर्ने गरेका छन् । हाल सम्मको रेकर्ड अनुसार आईएसले विभिन्न देशमा २४ हजार मानिसलाई मारिसकेको छ । त्यसै गरी बोको हरामले १३ हजारको ज्यान लिएको छ ।

अमेरीकी देखि भारतीय सम्म आईएसका लडाकु ?
किन अमेरीकी नागरिक समेत आईएसमा गईरहेका छन् ? किन भारतीय नागरिक त्याहा पुगेका छन् ? किन रुसी र युरोपेली नागरिकहरु आईएसका लडाकु बनेका होलान् ? प्रश्न गंभीर छ । तर आईएसका २० हजार लडाकुहरु मध्य ४ हजार लडाकुहरु पश्चिम यूरोप र उत्तर अमेरीकाबाट मात्र सहभागी भएको आईएसएसआरको रिपोर्टले उल्लेख गरेको छ । हाल सम्म विश्वका ९० भन्दा बढी देशका नागरिकहरु आईएसमा सामेल हुनुले पनि खतरा संसारभर फैलिएको देखिन्छ । २०११ यता यो संगठन अस्थित्वमा आए पनि २९ जुन १४ मा उसले ईस्लामिक स्टेटको नाममा युद्ध थालेको थियो ।

आईएस विरोधी कार्बाही किन सफल भएको छैन ?
सन् २०१४ अगष्ट यता अमेरीकाले मात्रै सिरीयामा करीब ३ हजार पटक हवाई आक्रमण गर्यो आईएस विरुद्ध त्यसै गरी ईराकमा ५ हजार पटक जति आक्रमण गर्यो । तर आईएस कमजोर हुन सकेको छैन । उसले अब युरोप र अमेरीकालाई नै तर्साउन थालेको छ ।
त्यस पछि ५ महिना अघि रुसले पनि सिरीयामा आईएस विरुद्ध तीव्र हवाई कार्बाही गरेर फर्किएको छ । तर पनि आईएसले आफ्नो गतिविधि जारी राखेको छ । यसले पूर्ण हवाई हमलाले मात्रै नभएर आईएस वृद्धि भईरहेको क्षेत्रका आदिवासी तथा मुस्लिम समुदायलाई शिक्षा ,विकास तथा चेतना अभिवृद्धि गरेर अघि बढे मात्रै उनीहरुको प्रभाव कम गर्न सकिने विज्ञहरुको सुझाव छ ।
पैसा र प्रविधि कसरी जुटाएको छ आईएसले ?
मानिसको गर्दन छिनाउने , रेट्ने , जिउदै जलाउने जस्ता अति अमानवीय हर्कत गरीरहेको आईएसले पैसा र प्रविधिको प्रयोग ठूलो स्केलमा गरीरहेको छ । सामाजिक सञ्जालको ठूलो प्रयोग गरीरहेको आईएसले आणविक हतियार सम्म तयार पार्ने योजना बनाईरहेको खबर यस अघि पनि सार्वजनिक भएकोले उसको प्रविधिको पहुच निकै छ भन्ने स्पष्ट छ ।
अर्कोतिर आईएससग‘ यति धेरै पैसा छ भनिन्छ कि कुनै पनि कुनामा आतकवादी क्रियाकलापका लागि उसले पर्याप्त पैसा खर्च गरीरहेको हुन्छ । चन्दा , जबरजस्ती असुली विभिन्न व्यापारीक कम्पनीहरुमाथि दवाव, बन्धक बनाएर असुली गर्नु , फिरौती लिनु जस्ता तरीकाबाट उसले रकम असुली गरीरहेको छ ।
अर्कोतिर सिरीयाको महत्वपूर्ण ऐतिहासिक र पुरातात्विक महत्वको सामाग्री ध्वंश गरेर पनि त्यसलाई तस्करी मार्फत बेचेर आईएसले ठूलो रकम हात पारेको दावी पनि अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका थिए ।
के आईएस वृद्धि हुनुमा अमेरीका जिम्मेवार ?
निश्चय नै सन् १९९० को शीत युद्धको समाप्ति पछि विश्वको महाशक्ति राष्ट्र बनेको अमेरीकाको विदेश नीति तथा कार्बाही र युद्धहरुको ठूलो मात्रामा आलोचना हुदै आएको छ ।
पछिल्लो समय बढेको आईएस र त्यस अघिको तालेवान तथा अलकायदाको जन्म तथा विस्तारमा अमेरीका कारक हो भन्ने तर्कहरु यस अघि पनि नआएका हैनन् ।
तर पछिल्लो समय चीन , रुस सहित विभिन्न देशका विद्धानहरुले रिसर्च समेत गरेर यसमा अमेरीकाको भूमिकाको चर्चा गरेका छन् ।
चाईनिज एकेडेमिज अफ् सोसल साईन्सका निर्देशक लिउ हेनियानले मार्च १४ मा बेईजिङमा पत्रकार सम्मेलन गरी अमेरीकाको नस्लभेद जस्ता समस्याले आईएस बढेको टिप्पणी सार्वजनिक गरेका थिए । सोही रिपोर्ट अनुसार अमेरीकी प्रहरीले एक वर्षमा एक हजार जति मानिस मार्दा धेरै जसो काला मानिसहरु रहेका थिए ।
२०१५ नोभमेम्बरमा भएको जी २० सम्मेलनमा रुसका राष्ट्रपति भ्लादीमीर पुटिनले विश्वका ४० देशबाट आईएसले पैसा लिईरहेको दावी गरेका थिए । टर्कीमा भएको सो सम्मेलनमा पुटिनले गुप्तचरबाट प्राप्त जानकारी भनेर चर्चा गरे पछि अमेरीका सहितका देशका प्रतिनिधिहरुले हंगामा मच्चाएका थिए ।
पुटिनले अमेरीका, बेलायत, फ्रान्स कतिपय अरबियन देशहरुबाट आईएस र यसको नेता बगदादीका लागि पैसा पुगिरहेको बताएका थिए । आईएसले गैरकानुनी तरीकाले तेलको व्यापार गरेको र त्यसमा टर्कीको हात रहेको पुटिनको तर्क थियो । 

कतिपय थिंक ट्याङकहरुले पूरै युरोपसग‘ जोडिने सिरीया र ईराकको सिमा मार्ग अन्तराष्ट्रिय सुरक्षाको दृष्टिले महत्वपूर्ण ठानेकाले अमेरीकाले त्यसमाथि नियन्त्रण चाहेकाले पछिल्लो अवस्था आएको तर्क गरेका छन् । यसले पनि आईएसको अस्थित्वमा विश्व शक्तिहरुको व्यवहार या क्रियाकलाप कति सम्म जिम्मेवार हुन सक्ने भनेर सोच्नु पर्ने हुन्छ ।
अमेरीकाले ईराकबाट अफ्नो सेना सन् २०११ मा फिर्ता गर्ने घोषणा गरे पछि आईएसको उदय भएको देखिन्छ । शुरुमा ईराकको शिया सरकार विरुद्ध लडिरहेकाले अमेरीकाको अघोषित सहानुभूति पाएका बगदादी आईएसका कमाण्डर भए । सन् २००३ मा ईराकमा हमला गरे पछि अमेरीका र आईएसको सम्पर्क बढेको थियो ।
 सन् २००६ मा अमेरीकाले ईराकमा आईएस समाप्त पारेको घोषणा गरेको थियो । तात्कालीन आईएसका प्रमुख अबु मुस्राव अल जरकाबी मारिएका थिए भने पछिल्ला कमाण्डर बगदादीलाई जेलमा हालिएको थियो । तर फेरी ४ वर्ष पछि २००९ मा अमेरीकाले बगदादीलाई जेलबाट निकाल्यो । पछि उनैले आईएसलाई पुनर्जीवीत गरेर आजको स्थितिमा पुर्याए ।
ईराकमा हवाई आक्मणमा बगदादी मारिए भनिएको छ तर स्वतन्त्र पुष्टी भएको छैन ।
पछिल्लो समय पश्चिम एशियामा जारी अमेरीकी बमबारी, त्यसको त्रासले भागीरहेका शरणार्थीहरुलाई यूरोप जान परीरहेको कठिनाईले मानिस बाध्य भएर आईएसको फन्दामा पर्ने गरेको देखिएको छ । यसका लागि मुस्लिम समुदायमाथिको सम्मानजनक व्यवहारमा पश्चिमाहरु उभिनु पर्ने देखिन्छ ।
सानो घटना मात्रै हेर्ने हो भने सेप्टेम्बर ३० २००५ मा डेनमार्कको एउटा अखबार जाईलांड्सले १२ वटा कार्टुन छापेको मध्य एउटामा मुस्लिम गुरु पैगम्बर मोहम्मदको टाउकोमा फेटाको साटो बम राखेको देखाईए पछि संसारभर हिंशात्मक प्रदर्शन भएको थियो । यसैको निरन्तरताको रुपमा फ्रान्सको चार्ली हेब्दोमा आईएसले आक्रमण गरेको थियो ।

is head

       अन्त्यमा के भन्न सकिन्छ भने विश्वव्यापी रुपमा विभेदहरुका कारण, अन्तरदेशीय स्वार्थ र आर्थिक स्वार्थहरुका कारण द्धन्दहरु भईरहेका छन् तर आईएस मुस्लिम समुदायमाथिको विभेदका कारण पनि अलि बढेको हो कि भन्न सकिन्छ । त्यसैले आईएसलाई नियन्त्रणमा लिने हो भने मुसलमान समुदाय नै अगाडी बढ्नु पर्छ अमेरीका र रुसको क्षेप्यास्त्रले धेरै निर्दोष मानिसको ज्यान जाने छ तर आईएस समाप्त हुन सक्दैन शायद ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी