चीनसँगको पारवहन सम्झौता तेस्रो विश्वका लागि नयाँ सन्देश

चीनसँगको पारवहन सम्झौता तेस्रो विश्वका लागि नयाँ सन्देश

  • मङ्लबार, चैत्र ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

नेपाल र छिमेकी चीनबीच पहिलोपटक भएको यातायात तथा पारवहनलगायतका सम्झौता राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चाको विषय बनेको छ । ती सम्झौताले दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय थपेको छ । भू–परिवेष्ठित नेपालको आर्थिक विकासमा सो सम्झौताले दूरगामी महत्वको प्रभाव पार्ने कूटनीतिक मामिलाका जानकार तथा विज्ञको धारणा छ । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी लि खछ्याङको उपस्थितिमा सोमबार बेइजिङमा पारवहनलगायत १० बुँदे सहमति भएको थियो ।

नेपालमा संविधान जारीपछि भारतले अघोषित नाकाबन्दी गरी पेट्रोलियम पदार्थको आपूर्तिमा असहजता उत्पन्न भएको स्थितिमा चीनसँगको सो सम्झौताको दीर्घकालीन महत्व हुन सक्नेछ । भारतलाई देखाउनका लागिमात्र सो सम्झौता गरिएको भन्ने प्रकारले लिन नहुने र सो सम्झौता हुँदैमा भारतसँग सम्बन्ध बिग्रन्छ कि भनेर चिन्ता लिनुपर्ने अवस्था पनि नरहेको विज्ञको भनाइ छ ।

नेपालमा चीन वा भारत कुनै पक्ष हाबी नहुने र दुवै देशको सहयोग लिएर यहाँको आर्थिक विकास गर्नु वर्तमानको आवश्यकता भन्दै विज्ञहरुले त्रिपक्षीय साझेदारीका विषयमा नेपालले पहल गर्नुपर्नेमा जोड दिनुभयो । सो सम्झौताको कार्यान्वयन र नेपालले लाभ लिनका लागि चीनसँग जोडिएका नाका सञ्चालन हुनुका साथै सडक मार्गलाई अन्तर्राष्ट्रिय कार्गाे आउन सक्ने गरी स्तरोन्नति र रेलमार्गको विस्तारमा प्राथमिकता दिन उहाँहरुको सुझाव छ ।

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ भन्नुहुन्छ– “भू–परिवेष्ठित नेपालका लागि चीनसँग भएको पारवहन सम्झौताको दुरगामी महत्व छ । एउटा देशको निगाहमा बस्नुपर्ने स्थितिको अन्त्य भएको छ । वास्तवमा यो नयाँ अध्याय सुरु भएको छ । हामीले अब चिनियाँ बन्दरगाहको प्रयोग गर्न पाउछौँ । तेस्रो मुलुकसँग व्यापार आदानप्रदान र समुद्रसँग जाने आउने गर्न सक्छाँै ।”

श्रेष्ठले रासससँग कुरा गर्दै तेस्रो मुलुकसँगको पारवहनका लागि चीनसँग भएको सम्झौताले मध्यएसिया, पाकिस्तानको सिमाना, म्यानमारबाट पनि ढुवानीका लागि बाटो खोलेको टिप्पणी गर्नुभयो ।

पछिल्ला समयमा भारत र चीनको सम्बन्ध सुध्रिरहेको छ । चीन भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा स्मार्ट सिटी बनाउन चीनको महत्वपूर्ण सहयोग छ । भारतले पनि काठमाडौँसम्म रेल ल्याउने प्रस्ताव गरेको छ भने चीनले सिगात्से हुँदै रेलमार्ग जोड्दैछ । नेपालको बाटो भएर पनि ती देशबीच व्यापार बढाउन दुवै देश तयार भएका सन्दर्भमा चीनसँगको पारवहन सम्झौता नेपाल, भारत र चीनका लागि दूरगामी महत्वको भएको उहाँको तर्क छ ।
परराष्ट्र मामिलाका जानकार तथा नेकपा (एमाले) का सांसद डा राजन भट्टराई प्रधानमन्त्री ओलीको चीन भ्रमण अत्यन्त सफल भएको जनाउँदै यसले कूटनीतिक सम्बन्ध स्थापना भएयताको दुई देशको आर्थिक र पूर्वाधार विकासमा सकारात्मक रहेको बताउनुहुन्छ ।
उहाँले इन्धन आयात, सीमापार नाकाबारे संयुक्त वक्तव्यमा उल्लेख हुने बताउँदै डा भट्टराईले भन्नुभयो– “इन्धन भनेको राष्ट्रिय सुरक्षासँग पनि जोडिएको विषय हो । हामीले विगत छ महिनाअघि जे भोग्याँै, त्यस्तो समस्या नहोस् भनेर विकल्प पनि खोज्नु अन्यथा होइन । यो कुनै अर्काे मुलुकका विरुद्ध गरिएको सम्झौता होइन ।”
परराष्ट्रविद् डा दिनेश भट्टराई पारवहन सम्झौता मुलुकको दीर्घकालीन हितमा रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो– “सडक मार्गको लामो दूरीका कारण तुरुन्त फाइदा उठाउन भने सक्दैनौँ । त्यस अर्थमा हामीले व्यापार गर्दा तुलनात्मक लाभका आधारमा नाफा हेर्नुपर्छ ।’’ भारतसँगको इन्धन आयातमा केही समस्या परेको तोडमा चीनसँग पारवहन सम्झौता भएको भन्ने देखाउनु नहुने बताउँदै उहाँ भन्नुहुन्छ, ‘‘यसलाई सामान्य र नियमित रुपमा हुनुपर्ने गरी लिनुपर्ने हुन्छ ।’’ प्रधानमन्त्री ओलीको भारत र चीन भ्रमणका सन्दर्भमा यथार्थभन्दा बढी प्रचारबाजी गर्न खोजियो भट्टराईले भन्नुभयो, ‘‘संयुक्त विज्ञप्ति नआई अहिले सबै प्रतिक्रिया दिनु उपर्युक्त हुँदैन । हामी सिम्बोलिक भयौँ, सब्स्ट्यान्सिफ हुन सक्नुपर्छ ।”
एमाओवादीका विदेश विभाग सदस्य युवराज चौलागार्इंले चीनसँगको सहमतिले नेपालको परराष्ट्र सम्बन्ध र आर्थिक विकासमा नीतिगत रुपान्तरण भएको बताउनुभयो । उहाँको प्रतिक्रिया छ– “इन्धन सम्झौता र रेशम मार्गबारे थप विषय उठाउन सकिएको भए भ्रमण अझ सफल हुने थियो ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी