काठमाडौं, चैत्र ३
फार्मेसी काउन्सिलले आर्थिक वर्ष २०७१/०७२ मा लिएको दर्ता परीक्षामा डिप्लोमा इन फार्मेसी पढेका ७६ प्रतिशत विद्यार्थी फेल हुने गरेका छन् । ब्याचलर इन फार्मेसीमा पनि ५१ प्रतिशत विद्यार्थी फेल भएका छन् ।
काउन्सिलले आर्थिक वर्ष २०७१/०७२ मा चार पटक दर्ता परीक्षा लिएको थियो । सो वर्ष पहिलो पटकको दर्ता परीक्षामा डिप्लोमा इन फार्मेसी पढेका ६८ दशमलव ६, दोश्रो परीक्षामा ९१ दशमलव ६, तेश्रो परीक्षामा ३७ दशमलव ८ र चौथो परीक्षामा २४ दशमलव ३ प्रतिशत विद्यार्थी मात्र पास भएका छन् ।
यसैगरी, काउन्सिलले आर्थिक वर्ष २०७१/०७२मा लिएको ब्याचलर इन फार्मेसीको पहिलो दर्ता परीक्षामा शत प्रतिशत विद्यार्थी पास भएका थिए । दोश्रो परीक्षामा ८५ दशमलव ९, तेश्रो परीक्षामा ६५ दशमलव ३ चौंथो परीक्षामा ५१ दशमलव २ प्रतिशत विद्यार्थी पास भएका छन् ।
काउन्सिलका अध्यक्ष बाबुराम हुमागाइँकाअनुसार पढाईको गुणस्तर कमजोर भएका कारण फेल हुने संख्या बढेको हो । ‘कलेजको गुणस्तर कमजोर पाएपछि काउन्सिलले नयाँ निर्देशिका तयार पारेको छ’ उनले भने, ‘फ्याकल्टी नपुगेका कलेजका भर्ना रोकिएको छ ।’
नेपालमा हरेक वर्ष ब्याचलर इन फार्मेसीमा एक हजार एक सय ६० र डिप्लोमा इन फार्मेसीमा सात सय विद्यार्थीको कोटा रहेको छ । यसैगरी, लोकसेवामा पनि फार्मेसीमा अधिकृत स्तरमा पास हुने संख्या पनि न्यून रहेको छ । केही समयअघि लोकसेवाले सात जनाको दरबन्दी खोलेकोमा चार जना मात्रै उत्तीर्ण भएका थिए ।
यसैबीच, फार्मेसी काउन्सिलले मापदण्ड पूरा नगरी ब्याचलर इन फार्मेसी कक्षा सञ्चालन गरेको दुई मेडिकल कलेजमा विद्यार्थी भर्ना गर्न रोकसमेत लगाएको छ । काउन्सिलले शैक्षिक सत्र २०७२/०७३ का लागि चितवन मेडिकल कलेज र गण्डकी मेडिकल कलेजलाई विद्यार्थी भर्नामा रोक लगाएको हो । ती मेडिकल कलेजले फ्याकल्टी पूरा नगरेको काउन्सिलको अनुगमनमा पाइएको थियो । ती दुबै मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले ब्याचलर इन फार्मेसी कक्षा सञ्चालनको अनुमति दिएको थियो ।