सरकारको अनुदान टाठोबाठोलाई मात्र

सरकारको अनुदान टाठोबाठोलाई मात्र

  • बिहिबार, फाल्गुन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

भक्तपुर, २७ फागुन ।

भक्तपुर जिल्लाका किसानले कृषिमा सरकारले दिने अनुदान टाठोबाठोले मात्र प्राप्त गर्ने गरेको गुनासो गरेका छन् ।

सरकारी निकायको लामो र झन्झटिलो कागजी प्रक्रियाका कारण वास्तविक किसानले भन्दा व्यावसायिक फार्मका नाममा सिमित टाठोबाठोले सरकारी अनुदान पाउने गरेको उनीहरुले बताएका छन् । बुधबार जिल्लामा आयोजना गरेको कृषक अन्तरक्रियामा सहभागी किसानले सरकारी अनुदानको रकम कागजी प्रक्रियाका भरमा नभई वास्तविक किसान र पीडितलाई दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

युवा स्वरोजगारको नीति बने पनि अझै युवालाई कृषिमा आकर्षित बनाउन नसकेको सहभागीको गुनासो थियो । कार्यक्रममा बागेश्वरी–२ मा व्यावसायिक गोलभेँडा खेती गर्दै आउनुभएका लक्ष्मण कुँवरले सरकारी निकायबाट अनुगमन र निरीक्षण नभएको गुनासो गर्दै सरकारी निकायले समय समयमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन माग गर्नुभयो ।

“किसानलाई सरकारी अनुदान प्राप्त गर्न कागजी प्रक्रिया झन्झटिलो रहेको छ” उहाँले भन्नुभयो । नगरकोट नगरपालिका–३ ताथलीमा व्यावसायिक गाइपालन गर्दै आउनुभएका रुद्रबहादुर खड्काले उत्पादनको बजारीकरणमा समस्या भएको बताउँदै विचौलियाले मूल्यमा गर्ने चलखेलले उत्पादन गर्ने किसानको बदनाम हुने गरेको बताउनुभयो । समान मूल्य निर्धारणका लागि जिल्लामा सङ्कलन केन्द्रको आवश्यकता रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा सहभागी चित्तपोलका कृष्णबहादुर कार्कीले जिल्लामा भण्डारणको समस्या भएको बताउनुभयो । “भण्डारणको अभावले किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्, कुहिएर फाल्नुपर्ने अवस्था छ” उहाँले भन्नुभयो ।

कार्यक्रममा उठेका जिज्ञासा र गुनासोको जवाफ दिँदै जिल्ला कृषि कार्यालयका प्रमुख पूर्णा ढुङ्गानाले कार्यालयबाट समय समयमा किसानका व्यवसायको अनुगमन हुने आश्वासन दिनुभयो । अनुदानका लागि ऐनले व्यवस्था गरेको परिधि नाँघ्न नसक्ने बताउँदै उहाँले अनुदान व्यावसायिक खेती लक्षित भएको बताउनुभयो । कार्यक्रममा जिल्लाका विभिन्न ठाउँका करिब २०० किसानको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी