काठमाडौँ, २४ फागुन ।
‘कक्षा कोठामा अङ्ग्रेजी भाषाको विविधता, प्रचलन, समस्या र शिक्षण’ विषयमा केन्द्रित रही नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा)को २१औँ दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ ।
ललितपुरको हात्तीवनस्थित लिटिल एन्जेल्स कलेजमा सम्मेलन उद्घाटन गर्दै कानुन न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले विभिन्न स्वदेशी एवम् विदेशी अङ्ग्रेजी भाषा शिक्षण विज्ञ तथा शिक्षकबीचको छलफलले नेपाली शिक्षा र भाषाका क्षेत्रमा योगदान पु¥याउने बताउनुभयो । सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति डा जयराज अवस्थी, ब्रिटिस काउन्सिलका निमित्त राष्ट्रिय निर्देशक वैशाली प्रधान, नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधिलगायतले सम्मेलन सफलताको कामना गर्नुभएको थियो ।
सम्मेलनमा अमेरिका, बेलायत, चीन, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, टर्की, भियतनाम, कुवेत, फिलिपिन्स, जापान, साउदी अरेबिया, मेक्सिको, डेनमार्क तथा नेपाल गरी २३ मुलुकका करिब एक हजार शिक्षक सहभागी छन् ।
सम्मेलनमा हङ्गेरीका पूर्वशिक्षामन्त्री तथा प्राध्यापक पिटर मजाइज, अङ्ग्रेजी एवम् विदेशी भाषा विश्वविद्यालय हैदरावाद, भारतका उपकुलपति प्रा सुनैना सिंह, बारी विश्वविद्यालय अमेरिकाका सहप्राध्यापक रुथ बानलगायतले प्रमुख प्रस्तोताको हैसियतले कार्यपत्र प्रस्तुत गनुहुनेछ । सम्मेलनमा १६१ समानान्तर सत्र चल्ने नेल्टाका अध्यक्ष मीरा श्रेष्ठले जानकारी दिनुभयो ।